ब्रिजवाटर फाउन्डेशनबाट तीन स्रष्टा सम्मानित
काठमाडौं : राजधानीको सिनामंगलस्थित ब्रिजवाटर एजुकेशन फाउण्डेशनले आज राष्ट्रिय नाचघरमा सम्पन्न एक समारोहका बीच नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याउने तीनजना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गरेको छ।
सम्मानित हुनेमा शिक्षातर्फः शिक्षाविद प्रा. डा. मनप्रसाद वाग्ले,पत्रकारितातर्फ वरिष्ठ टेलिभिजन पत्रकार दिलभुषण पाठक एवं बैकिङ एवं वित्ततर्फ राष्ट्रिय वाणिज्य बैंकका मुख्य कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल हुन्।
समारोहका मुख्य अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ब्रिजवाटर एजुकेशन फाउण्डेशनले अभिनन्दनको उत्कृष्ट परम्परा कायम गर्दै अगाडि बढेको भन्दै प्रशंसा र शुभेच्छा प्रकट गरे।
ब्रिजवाटर एजुकेशन फाउण्डेशनका अध्यक्ष सीए दीपक पाण्डेले अभिनन्दित व्यक्तित्वहरू मार्गदर्शक र प्रेरणाको स्रोत रहेको बताए। उनले भने,'अभिनन्दित व्यक्तित्वहरू हाम्रा लागि मार्गदर्शक प्रेरणास्रोत हुनुहुन्छ र वहाँहरूको जीवन र कार्यले हामीलाई सही मार्गतर्फ प्रेरित गरिरहनेछ । '
अभिनन्दित व्यक्तित्वहरूले आफ्नो जीवन अनुभवको सार व्यक्त गर्दै नयाँ पुस्तालाई शिक्षा र कर्मको क्षेत्रमा अगाडि बढ्न प्रेरित गरे। कार्यक्रममा शिक्षक, विद्यार्थीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।