अमेरिकी प्रोमा एआईले अन्नपूर्ण मिडियाका सबै विभागलाई एआईकरण गर्ने
काठमाडौं : प्रोमा एआईले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतका सबै विभागलाई एआईकरण गर्ने सहकार्य भएको छ । अमेरिकन कम्पनी ग्रोथजिल्ला इंकले नेटवर्कको विभागीय कार्यप्रवाहलाई छिटोछरितो,सहज बनाउनका लागि प्रोमा एआईकरण गर्न लागेको हो । एआईकरणपछि अन्नपूर्ण मिडिया एआईकरण हुने पहिलो नेपाली मिडिया कम्पनी बन्नेछ ।
शुक्रबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वार्टरमा आयोजित एक समारोहबीच अन्नपूर्णका सबै विभागहरूलाई प्रोमा एआईकरण गर्ने सम्झौता भएका छ । सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र अमेरिकन कम्पनी ग्रोथजिल्ला इंकका सञ्चालक सीईओ शिशिर बस्यालले हस्ताक्षर गरेका थिए ।
‘एआईकरण गर्न लागि चाहिने सबै स्रोतसाधान हामी उपलब्ध गराउनेछौं,'ग्रोथजिल्ला इंकका सञ्चालक सीईओ शिशिर बस्यालले भने,'अन्नपूर्ण मिडियाले आफ्नो संगठनात्मक कार्यप्रवाहलाई एआई–सक्षम बनाउन प्रोमा एआई प्लेटफर्म अपनाएको छ । यो कदमले संस्थाको डिजिटल रूपान्तरण र एआई अंगीकरण रणनीतिमा एउटा महत्वपूर्ण मोड ल्याउनेछ ।’
प्रोमा एआई एक अत्याधुनिक प्रक्रिया व्यवस्थापन र स्वचालन प्लेटफर्म हो जसले एआई–सक्षम कार्यप्रवाह, स्मार्ट डाटा व्यवस्थापन, र स्वचालित प्रक्रियाहरू प्रदान गर्दछ । यो प्लेटफर्मको कार्यान्वयनले अन्नपूर्णलाई सम्पादकीय कार्यप्रवाह स्वचालन,विज्ञापन अभियान व्यवस्थापन,ग्राहक सम्बन्ध व्यवस्थापन,टिम सहकार्य र परियोजना व्यवस्थापन,सहज एचआर संचालनलगायतका क्षेत्रमा सघाउ पुर्याउनेछ।
‘प्रोमा एआई अपनाउनाले हाम्रो संस्थालाई डिजिटल युगमा अग्रणी स्थानमा राख्न मद्दत गर्नेछ,'अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने, ‘एआई क्षमताहरूले हाम्रो टोलीलाई अझ प्रभावकारी र दक्ष बन्न सक्षम बनाउनेछ ।’
एक वर्षभरिमा सबै विभागहरू एआईकरण गरिसकिनेछ ।