भक्तपुर महोत्सव सुरू
भक्तपुर : पाँच दिने भक्तपुर महोत्सव सुरू भएको छ। आइतबार भक्तपुर दरबार स्क्वायरमा महोत्सवको औपचारिक उद्घाटन भएको हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेंले मोत्सवको उद्घाटन गरेका हुन्।
बिजुक्छेंले भक्तपुर नगरपालिकाले महोत्सव आयोजना गरी पालिका स्तरबाटै कला, संस्कृति र सम्पदा संरक्षण गरेको प्रयासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक, संघ संस्थाहरू र देशवासीहरूलाई अध्ययन भ्रमण गराएको बताए।
उनले भक्तपुर नगरपालिकाका स्थानीयहरूले सम्पदा, कला र संस्कृति संरक्षणलाई आफ्नै कर्तव्य ठानी सम्पदा, कला र संस्कृति संरक्षणमा लागि परेको बताउँदै स्थानीयसँग एकजुट भएर आफ्नो सेवालाई दायित्व सम्झेर सेवा बिस्तार गर्नसके विकास निर्माण कार्यहरूमा उपलब्धि हासिल गर्ने विश्वास ब्यक्त गरे।
समारोहमा प्रतिनिधि सभा सदस्य तथा संघीय सांसद माननीय प्रेम सुवालले सदनमा आफूहरूले नेपाल सरकारको नवौं पञ्च वर्ष योजना कार्यान्वयन हुन लाग्दादेखि भक्तपुरलाई सांस्कृतिक नगरी घोषणा गर्न माग गरे पनि सरकारले १५औं पञ्च वर्षे योजना चालू गर्दैगर्दासम्म पनि भक्तपुर नगर सांस्कृतिक नगरीको रूपमा घोषणा नभएको बताए। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ