ऐतिहासिक सन्धिस्थल संरक्षण सुरु
नुवाकोट : नुवाकोटमा रहेको ऐतिहासिक बेत्रावती सन्धिस्थलको संरक्षण सुरु गरिएको छ। विदुर नगरपालिकाले सो योजना सञ्चालन गरेको हो। विदुर-१० स्थित त्रिशूली नदी तथा पासाङल्हामु मार्गको त्रिशूली-धुन्चे सडकखण्डको वीचमा रहेको ‘बेत्रावती सन्धि’ भएको स्थानको संरक्षण सुरु गरिएको हो।
नेपाल-तिब्बत युद्धका क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणका लागि विदुर नपा कार्यालयले सक्रियता देखाएको हो। ऐतिहासिक तथा पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर-१० स्थित बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरूपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको साालिक स्थापना गरिने योजना रहेको छ। जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरोकारवालाले स्थलगत रूपमा अवलोकन गरेका छन्।
वेत्रावति सन्धिस्थलमा युद्धका सामग्रीसहितको स्मारक स्थापनाको लक्ष्यसहित उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न सुरु गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठले जानकारी दिए। त्यसका लागि चालु आर्थिक वर्षमा कुल १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकाले नगरबाट कार्य सुरु गरिएको मेयर श्रेष्ठको भनाइ छ।
'विनियोजित बजेटको काम सुरू गर्न प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवं निरीक्षण भइसकेको छ,' मेयर श्रेष्ठले अगाडि भने, 'ऐतिहासिक दुई ढुङ्गा रहेको ठाउँ र आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को निर्माण नगरपालिकामार्फत भइरहेको छ।'
नेपाली सेनाबाट युद्ध संरचना स्थापनाको अध्ययन भइरहेको छ । विदुर नपाले आन्तरिक स्रोतबाट तयार गरिने डिपिआरले मार्गनिर्देश गरेअनुसार विनियोजित बजेटबाट सेनासँगको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाएको छ। १८४९ सालमा भएको सन्धिपश्चात् उक्त स्थान हाल अलपत्र र जीर्ण रहेको विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाइ छ।
सन्धिस्थल संरक्षणका लागि विदुर नपा र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्लो निकाय (पुरातत्व विभाग तथा बागमती प्रदेश र सङ्घीय सरकार) बाट आर्थिक र प्राविधिक सहयोग प्राप्त हुने प्रतिबद्धता रहेको पनि मेयर श्रेष्ठको भनाइ छ। गत १८४९ सालमा भएको नेपाल-भोट युद्धमा नेपाली पक्ष विजयी भएसँगै नुवाकोटको बेत्रावतीमा सन्धि भएको थियो।