७३ वर्षमा कविरामले पाए नागरिकता
दैलेख : नागरिकता ऐनअनुसार, १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाइन्छ । तर दैलेखको डुंगेश्वर गाउँपालिका–४ का कविराम विकले ७३ वर्षमा बल्ल नागरिकता पाए । अर्थात्, ५७ वर्षसम्म नागरिकताविहीन भएर भारतका विभिन्न गल्ली चहारे । हालै गाउँ फर्केपछि उनको नागरिकता बन्यो । २००८ मंसिर ३ गते जन्मिएका कविरामले वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय दैलेखबाट नागरिकताको प्रमाणपत्र पाएका हुन ।
नागरिकता ऐन, २०६३ को दफा ३ मा बाबु–आमा नेपाली रहेको भन्ने पुष्टि भएमा वंशजको आधारमा नागरिकता दिइने कानुनी व्यवस्था छ । प्रहरी प्रतिवेदन र अन्य स्रोतबाट थप जाँचबुझ गरेर नागरिकता दिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । ‘एकाघरका कोही हुनुहुँदो रहेनछ, प्रहरी प्रतिवेदन र अरू स्रोतहरूबाट जाँचबुझ गर्दा अवलपराजुलकै व्यक्ति हुनुहुन्छ भन्ने पुष्टि भएकाले उनलाई सहजै नेपाली नागरिकता दियौं,’ कोइरालाले भने ।
२०१२ साल ताका औलो लागेर कविरामका बुवाको निधन भयो । त्यसबेला उनी चार वर्षको मात्रै थिए । २० वर्ष पुगेपछि २०२८ भदौतिर मुग्लान पसे । ५३ वर्षपछि हालै घर फर्किएर नागरिकता बनाए । कविरामका दुई दाजु छन् । जेठो डिलबहादुर २००३ र माइलो चंखे २००५ मा जन्मिएका थिए । बुवा बितेपछि एकल आमा धर्मी कडारोले जेनतेन मजदुरी गरेर तीन छोराको पालनपोषण गरेकी थिइन् । २०२८ सालको भोकमरीका कारण फरक–फरक समयमा कविरामका दाजुभाइले घर छोडेका थिए ।
कविरामले २०२८ सालदेखि करिब १० वर्ष देहरादुनमा मजदुरी गरे । त्यसपछि गढवालका विभिन्न ठाउँहरूमा ५३ वर्ष बिताए । गाउँमा रहेका आफन्त भेट्न र जन्मेकै माटोमा मर्न पाइयोस् भनेर ७३ वर्षको उमेरमा तीन साताअघि मात्र पुख्र्यौंली घर खोज्दै डुंगेश्वर गाउँपालिका–४ अवलपराजुल पुगेका थिए । गाउँ पुगेपछि उनका आफन्तको पहलमा वडा कार्यालयले नागरिकताको सिफारिस गरेको थियो ।
‘गाउँमा आइसकेपछि कसैले चिन्दैनन् कि ? बास पाइन्न कि ? भन्ने चिन्ता थियो, कविरामले भने, ‘बुढापाकाहरूले मेरा कुरा सुनेपछि माया गरे, बास पनि पाएँ, नागरिकता बनाउनुपर्छ, सामाजिक सुरक्षा भत्ता पाइन्छ भनेपछि नागरिकता पनि बन्यो, अब भत्ता पनि पाइएला । ’ कविरामका भाइ नाता पर्ने कर्णबहादुर सुनारले उनलाई संरक्षण दिएका छन् । कर्णबहादुरले भने, ‘उहाँको नजिकको भनेको म नै हो, बास र संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’ एकाघरका कोही नभएको कारण नागरिकता दिलाउन वडाको सिफारिसदेखि सनाखत बस्न डुंगेश्वर गाउँपालिका–४ का वडाध्यक्ष नगेन्द्रबहादुर बुढाले सहयोग गरेका थिए । वडाध्यक्ष बुढा भन्छन्, ‘उहाँ जस्तै असहाय र कमजोरहरूका लागि हामी जनप्रतिनिधिले काम गर्ने हो, सामाजिक सुरक्षा भत्ता पनि तुरुन्तै दिलाउँछौं ।’