अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा भट्टराईले ठूलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
उनले संविधान सहमतिको दस्तावेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए। संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ छ।
भट्टराईले मुलुकको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे। उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने बताए। लडेर बनाएको जनताको संविधान बचाउनका लागि सबै एक हुनुपर्ने उनले बताए।