राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिको विकासमा व्यापक भिन्नता आएको छ : प्रधानमन्त्री
सुनसरी : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन्। इटहरीमा आयोजित एक कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका हुन् ।
उनले भने,‘हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालिनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन ।’,
मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने उनको भनाई छ। उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्द भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ ।’
विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सँधै अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे।