दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : १२४ जनाको मृत्यु
आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा हालसम्म विमानमा १२४ जनाको मृत्यु भएको बीबीसीमा जनाइएको छ। २ जनाको भने जीवितै उद्धार गरिएको छ।
विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु गरी जम्मा १८१ जना सवार थिए।
विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो। जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो।
विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बारमा ठोक्किएपछि दुर्घटना भएको थियो।
दुर्घटना स्थानीय समयअनुसार ९:०७ मा भएको थियो। समाचार अनुसार विमानस्थलमा हुने सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएको छ।
पहिलो पटकमा विमान अवतरण हुन सकेन
दुर्घटना भएको जेजु एयरलाइन्सको विमान अमेरिकी कम्पनी बोइङको ७३७–८०० नम्बरको विमान हो। विमानले दुई पटक विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो। पहिलो प्रयासमा पनि ल्यान्डिङ गियर नखुलेपछि विमान अवतरण हुन सकेको थिएन। त्यसपछि विमानले विमानस्थलको परिक्रमा गरेको थियो।
दोस्रो पटक पाइलटले ल्यान्डिङ गियर बिना नै विमान अवतरण गरेका थिए। कतिपय मिडिया रिपोर्टहरुमा चरा विमानको पखेटामा ठोकिएको दाबी गरिएको छ।
मुआन एयरपोर्टका फायर अफिसरले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै विमानमा लागेको आगो नियन्त्रणमा आएको बताएका छन्। विमानमा लागेको आगो निभाउन ४३ मिनेट लागेको जनाइएको छ।
अहिले दुर्घटनास्थलमा उद्धार कार्य जारी छ। अधिकांश यात्रु विमानको पछाडिको भागमा थिए, उनीहरुलाई त्यहाँबाट निकाल्ने प्रयास भइरहेको छ। विमानमा सवार यात्रुमध्ये १ सय ७३ दक्षिण कोरियाली र २ थाई नागरिक थिए।