रुस-युक्रेन युद्धमा एक भारतीयको मृत्यु

रुस-युक्रेन युद्धमा एक भारतीयको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयले रुसमा एक भारतीय नागरिकको मृत्युको सम्बन्धमा विज्ञप्ति जारी गरेर पुष्टि गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार विज्ञप्तिमा भने, 'हामीलाई एक भारतीय नागरिकको दुर्भाग्यपूर्ण मृत्युको बारेमा जानकारी भएको छ। उनी केरलाका बासिन्दा हुन्। उनलाई सम्भवतः रूसी सेनामा सेवा गर्न भर्ती गरिएको हुन सक्छ। केरलाका अर्का एक व्यक्तिलाई पनि त्यस्तै गरी भर्ना गरिएको थियो। उनी घाइते छन् र मस्कोको अस्पतालमा उपचार भइरहेको छ।'
रुसी सेनामा लडिरहेका भारतीय नागरिकहरूको बारेमा थप भनिएको छ, 'हामीले रुसी अधिकारीहरूसँग बैठक गरेका छौं र रुसी सेनामा काम गर्ने भारतीयहरूलाई सकेसम्म चाँडो रिहा गरिनुपर्छ भनी माग गरेका छौं।'
उनको शव भारत ल्याउने प्रयास भइरहेको बताएको छ।
मन्त्रालयले भन्यो, 'मस्कोस्थित हाम्रो दूतावास उनीहरूको परिवारसँग सम्पर्कमा छ र सबै सम्भावित सहयोग प्रदान गरिएको छ। हामी रुसी अधिकारीहरूसँग मिलेर पार्थिव शरीरलाई चाँडोभन्दा चाँडो भारत ल्याउन काम गरिरहेका छौं। हामीले घाइते व्यक्तिलाई पठाउने प्रयास पनि सुरु गरेका छौं।'
विदेश मन्त्रालयले यो विषयलाई मस्कोस्थित रूसी अधिकारीहरू र नयाँ दिल्लीस्थित रूसी दूतावाससमक्ष जोडदार रूपमा उठाएको जनाएको छ।
रणधीर जयसवालले आफूहरुले बाँकी रहेका भारतीय नागरिकहरूलाई चाँडै भारत फिर्ता पठाउने आफ्नो माग पनि दोहोर्याएका जनाएका छन्। बीबीसी
प्रतिक्रिया दिनुहोस !
