क्यालिफोर्नियाको डढेलो, विश्वलाई पाठ

क्यालिफोर्नियाको डढेलो, विश्वलाई पाठ

नयाँ वर्ष २०२५ सँगै दक्षिणी क्यालिफोर्नियाको जंगलमा डढेलो देखा पर्‍यो। अत्यधिक सुक्खा र प्रज्ज्वलनशील पदार्थ भएको ठाउँमा आगलागी सामान्य कुरा हो। यद्यपि यस वर्ष खडेरीसँगै एक सय माइल र प्रतिघण्टाको गतिमा आएको सान्टा आना नामको आँधीले गर्दा डढेलो नियन्त्रणबाहिर गयो र ठूलै भयावह सिर्जना गर्‍यो। दक्षिणी क्यालिफोर्नियाका २३ भन्दा बढी स्थानमा लागेको आगोले हजारौं एकड जंगल जलेको छ। जनवरी १४ सम्मको आँकडाअनुसार यसले कम्तीमा २५ जनाको ज्यान लिएको छ। दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने झन्डै १५ हजार संरचनाहरू ध्वस्त भएका छन्।

धनजन र पर्यावरणीय क्षतिको यकिन आकलन हुन त बाँकी नै छ। प्रकोपको पूर्वतयारी र व्यवस्थापनमा अमेरिका सामान्यत: तुलनात्मक रूपमा मजबुद देखिन्थ्यो तर यस पटकको डढेलोसँग लड्ने संयन्त्र भने उसको उति प्रभावकारी देखिएन भन्ने जनगुनासो प्रशस्त आइरहेको छ। आगोका लप्कासँगै डढेलोको धुवाँ त क्यालिफोर्नियाको आकाशमा मडारिएको छ। यसले ल्याएको तरंग भने विश्वभर झन् गतिवान् भएर फैलिएको छ। यसले भविष्यमा जहाँ पनि आइलाग्न सक्ने डढेलोको प्रकोपबाट कसरी जोगिने भन्ने बहसको ढोका खोलेको छ। दक्षिणी क्यालिफोर्नियाको यो डढेलोपछिको सिकाइ के हो ? डढेलो नियन्त्रणमा कहाँ के कमजोरी भयो ? पूर्वतयारी कस्तो हुनुपर्थ्यो ? 

सरकारको दायित्व के हुनुपर्छ ? भोलि यस्तै डढेलो अन्यत्र पनि लाग्यो भने कसरी जुध्ने ? आदि अनेक विषयमा तरंगहरू छोडेको छ।

डढेलोको मूल कारण : जलवायु परिवर्तन र कमजोर व्यवस्थापन

क्यालिफोर्निया डढेलोको हिसाबले जोखिमयुक्त स्थान नै मनिन्छ। यहाँसम्म कि क्यालिफोर्नियामा निश्चित क्षेत्रतिर त वर्षैभरि ‘आगलागीको मौसम’ भनेर सजग रहनु आवश्यक छ। यद्यपि यति विनाशक डढेलोको कारण चाहिँ के होला भन्ने विषयमा मतैक्यता भेटिँदैन। धेरैजसो विज्ञहरूको विश्लेषणमा जलवायु परिवर्तन र अवैज्ञानिक भू–उपयोग प्रणाली र स्रोतको कमजोर व्यवस्थापन नै क्यालिफोर्नियाको यो डढेलोको मूल कारण हो भन्ने छ। तापक्रमको वृद्धि, लामो खडेरी, हराउँदै गएको वर्षाका कारणले क्यालिफोर्नियाका जंगलहरू डढेलोको बढ्दो जोखिममा छन्। जसै तापक्रम बढ्छ, वनस्पतिहरू सुक्दै जान्छन् र ती आगोका लागि प्रज्ज्वलनशील ऊर्जा बन्छन्। जब जब खडेरी लम्बिँदै जान्छ, तब तब आगोको जोखिम बढ्दै जान्छ। यो कुरा क्यालिफोर्नियाले भोग्दै आएको छ।

न्युयोर्क टाइम्सले क्यालिफोर्नियाको डढेलो व्यवस्थापनसम्बन्धी तथ्य सार्वजनिक गरेको छ। त्यहाँ डढेलो दबाउने जुन रणनीति लिइयो, त्यसले जंगलमा उल्टै ढलेपडेका, सुकेका, प्रज्वलनशील वनस्पति बढाइदियो। नियन्त्रित अग्नि व्यवस्थापन (कन्ट्रोल फायर) र अन्य वन व्यवस्थानका तरिका अवलम्बन गरी तिनलाई हटाएको भए डढेलोको जोखिम धेरै हदसम्म कम गर्न सकिने थियो। यसो नहुँदा सुकेका अव्यवस्थित वनस्पति नै डढेलोका लागि ‘टाइम बम’ सरह बन्न पुगे। वन डढेलोको जोखिम नहोस् भनेर वन व्यवस्थापकहरूले सुक्खा रुखपातहरू र अन्य अत्यधिक सजिलै सल्किने ठुटा, मुढा, घसेटाहरू जम्मा गरी जानाजानी लगाएका निर्धारित आगोहरू लगाउने (कन्ट्रोल फायर) प्रविधि रहेको छ।

डढेलोको उच्च जोखिम भएको क्षेत्रमा सहरको विस्तार गरिनुलाई पनि वर्तमान संकटको एक मुख्य कारकको रूपमा हेरिएको छ। दक्षिणी क्यालिफोर्नियाका बस्तीहरूमा जहाँ जहाँ यस पटकको डढेलोले क्षति पुर्‍यायो, ती ठाउँहरू मानव बसोबासका लागि के साँच्चै उपयुक्त थिए त ? गम्भीर प्रश्न उब्जेको छ। यसपटक त्यहाँको डढेलोमा घनाजंगल मात्र जलेनन्, जंगलसँगै जोडिएका महँगा बस्तीहरू पनि क्षणभरमै खरानी भए। अहिले मात्र होइन, अध्ययनहरूले देखाएअनुसार क्यालिफोर्नियाका ९५–९७ प्रतिशत डढेलो जंगल नजिकको सहरहरूमा बसोबास गर्ने मानिसका क्रियाकलापले गर्दा हुने गरेका छन्। क्यालिफोर्नियामा सन् १९९० देखि २०२१ का बीचमा मात्र पनि १० लाखभन्दा बढी घरहरू जंगल नजिक सहर विस्तार गर्ने क्रममा बने। ती सबै डढेलोको जोखिममा छन्। यसरी जंगलसँगै मानव बस्ती विस्तार गर्दै जाँदा आगोको जोखिम झन्झन् बढेको छ। तथ्यांकका अनुसार २० विध्वंशात्मक डढेलोमध्ये १५ वटा जति त पछिल्ला पाँच सात वर्षमा भोग्नु परेको छ। जोखिमको पूर्वानुमान नगरी या बल मिच्याइँ गरी मानवबस्ती विस्तार गर्नु र महँगा संरचना निर्माण गर्नुलाई पनि यो जोखिम र क्षतिको कारणको रूपमा हेरिएको छ।

क्यालिफोर्निया डढेलोको असर

क्यलिफोर्नियाको यो डढेलो इतिहासमा आइलागेको एउटा भयानक विपद् हो। यसबाट हजारौं एकड जंगल जलेको छ। बस्तीमा आगो पसेपछि हजारौं घर र संरचना खरानी भएका छन्। अकल्पनीय किसिमले मानवीय क्षति भएको छ। २५ जनाको मृत्यु भइसकेको मात्र छैन दर्जनौं मानिस सम्पर्कविहीन भएको सूचना बाहिरिएको छ। लाखौं मानिस विस्थापित भएका छन्। एक प्रकारले हाहाकार मच्चिएको छ। गाँस, बासको संकट, घाइतेहरूको उपचारको अभाव, मानिसहरूमा दीर्घकालीन मनोसामाजिक असर टड्कारो रूपमा देखिएको छ। खानेपानी, यातायात, स्कुल आदि संरचनाहरू ध्वस्त भएका छन्। द गार्जियनको हालसालैको टिप्पणीअनुसार २०० बिलियनभन्दा बढीको आर्थिक क्षति आंकलन गरिएको छ।

आर्थिक रूपमा विपन्न, अमेरिकी मूलप्रवाहबाहेक अन्य वर्णका समुदाय, वृद्ध, महिला र केटाकेटीहरू त्यसमा पनि तुलनात्मक रूपमा बढी जोखिममा परेका छन्। धुवाँका कारण सिर्जित वायु प्रदूषण र त्यसको असर त ठूलै समस्याको रूपमा छँदैछ। जनजीवन ठप्प हुनु र असीमित आर्थिक क्षति पुग्नु त्यसबाट उठ्न र पुनर्निर्माणको व्ययभार पनि कम छैन। डढेलोमा घर र व्यवसाय गुमाएकाहरू अब यही महँगो र आगोको जोखिम भएको ठाउँमा बस्न सकिएला या नसकिएलाको मनस्थितिमा पुगेका छन्। जैविक विविधताको ह्रास र परिस्थितीय सन्तुलनमा पुगेको असर डढेलोले पुर्‍याएको क्षतिको अर्को पाटो हो जुन आकलन हुनै बाँकी छ।

अबको बाटो र विश्वलाई पाठ 

डढेलोलाई सकेसम्म नियन्त्रणमा लिनु, उद्धारमा लागि पर्नु, थप मानवीय क्षति हुन नदिनु र पुनस्र्थापनामा जुट्नु तत्कालका लागि स्थानीय हिसाबले दक्षिणी क्यालिफोर्नियाको प्राथमिकता हो। अमेरिकाको क्यालिफोर्नियामा परेको संकटमा मानवीय र भाइचाराको हिसाबले ऐक्यबद्धता जनाउनु र सकेको सहयोग गर्नु विश्व समुदायको कर्तव्य हो। यसका अतिरिक्त क्यालिफोर्नियाको डढेलो विश्वका लागि अझ भनौं नेपालजस्तो जलवायु परिवर्तन र मौसमी प्रकोपका असर बारम्बार भोगिरहेका र पूर्वतयारीमा ध्यान पुर्‍याउन नसकेका राष्ट्रहरूका लागि महत्त्वपूर्ण शिक्षा हो।

यस पटकको क्यालिफोर्नियाको डढेलोबाट सिक्न पर्ने महत्त्वपूर्ण सिकाइहरू यस प्रकार छन् :–

जलवायु परिवर्तन र अनुकूलन रणनीति : क्यालिफोर्नियाको डढेलो जलवायु परिवर्तनको बढ्दो असरको एक ज्वलन्त उदाहरण हो। नेपाल यसै पनि बदलिँदो मौसमी प्रक्रिया, बढ्दो तापमान र बारम्बार आइरहने प्राकृतिक प्रकोपबाट प्रभावित छँदैछ। विषम खालको मौसम, पग्लिँदै गएका हिमनदीहरू, मनसुनको घनघोर वर्षाको प्रकृति हेर्दा नेपालमा बाढी र आगलागीको जोखिम बढ्न थालेको महसुस हुन्छ। जलवायु परिवर्तनका असरबाट जोगिन नेपालले दिगो कृषि, वन व्यवस्थापन, पानी व्यवस्थापन, भौगोलिक र भौगर्भिक अवस्था सुहाउँदो विकास निर्माण अवलम्बन गर्न जरुरी छ। भोलि पछुताउनुभन्दा अनुकूलनको रणनीति भोलि होइन, आजै सुरु गर्न जरुरी छ।

वन व्यवस्थापन साझा दायित्व : क्यालिफोर्नियामा डढेलोको संकट आउनुको एउटा मुख्य कारण वनजंगलको व्यवस्थापनमा भएको कमजोरी हो भनेर कुरा उठाइएको छ। वनको समुचित र वैज्ञानिक व्यवस्थापन डढेलो नियन्त्रणका लागि पनि महत्त्वपूर्ण मानिन्छ। नेपालमा वन व्यवस्थापनको लामो इतिहास छ। विश्वमै समुदायमा आधारित वन व्यवस्थानको अग्रणी नमुना नेपालको सामुदायिक वनलाई मानिन्छ। समुदायको यो ऊर्जालाई वन जोगाउनमात्र होइन, आवश्यक व्यवस्थापन र संवद्र्धन गर्नमा पनि लगाउन सकियो भने वनबाट फाइदा पनि लिन सकिन्छ, डढेलोको जोखिमबाट बचाउने पनि सकिन्छ।

वन काँटछाँट, ढलापडा व्यवस्थापन, अग्नि रेखा निर्माण, व्यवस्थापनको रूपमा प्रयोग गरिने नियन्त्रित आगलागी, समुदायमा आधारित वन अनुगमन आदिबाट डढेलो नियन्त्रणमा मद्दत पुग्छ। यसका अतिरिक्त अवैध फडानी र चोरी निकासी नियन्त्रण, वन प्राविधिकहरूलाई उपयुक्त तालिम, सीप र सामग्रीको पहुँच र उच्च मनोबल पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीले वन व्यवस्थापनलाई गम्भीर रूपमा लिनुपर्छ। यस पटकको डढेलोबाट सिक्नुपर्ने पाठ यही हो कि अमेरिकाजस्ता साधन सम्पन्न देशहरू पनि धौ धौमा परेका छन् भने सीमित स्रोत भएका देशहरूले पूर्वतयारीले नै केही सामना गर्न सक्छन्। नत्र वन आगलागीबाट पराजित हुनु पर्ने यथार्थ हो, यो गम्भीर कुरा हो।

सहरीकरण र भू–उपयोग योजना : क्यालिफोर्नियाको डढेलोमा जंगल मात्रै जलेन, जंगलको आसपासमा रहेका सहर, बस्ती र मानव निर्मित संरचनाहरू पनि ध्वस्त भए। नेपालजस्ता मुलुकका लागि यो महत्त्वपूर्ण पाठ हो। नेपालका धेरैजसो विकास निर्माण र संरचनाहरू बाढी, पहिरो, डढेलोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम भएका ठाउँमा रहने गरेका छन्। फलत: बर्सेनि प्राकृतिक प्रकोपबाट धनजनको क्षति व्यहोर्नु परेको स्थिति छ। बढ्दो सहरीकरणसँगै यो जोखिम झन् बढेको छ। सरकारले भू–उपयोग योजना बनाई प्रकोपको उच्च जोखिम भएका स्थानमा सहरीकरण गर्न नदिने नीति ल्याउनु जरुरी छ। यसका अलावा सहरी विकास योजनामा प्रकोप जोखिम हेरी ती जोखिम घटाउने खालका संरचना निर्माण गर्नु, परिआउँदा उद्धारलाई सजिलो हुने मापदण्डअनुसार पूर्वाधार तयार पार्नु पनि आवश्यक छ।

समुदायमा आधारित प्रकोपको पूर्वतयारी तथा व्यवस्थापन : क्यालिफोर्नियाको डढेलोबाट समुदायलाई उद्धार गर्ने र बचाउने क्रममा महसुस गरिएको एउटा पक्ष समुदायमा आधारित प्रकोपको पूर्वतयारी र व्यवस्थापन पनि हो। खासगरी जहाँ गरिब र अश्वेतहरूको बाहुल्य भएका र उच्च जोखिममा परेका ठाउँहरूमा उद्धार र पुनस्र्थापना उति सजिलो भएन भन्ने खबरहरू आए। नेपालको सन्दर्भमा पनि बढी, पहिरो र आगलागीपछि यो समस्या टड्कारो देखिन्छ। यसबाट विपन्न र सीमान्तकृत समुदाय बढी प्रभावित हुने गर्छन्। यसर्थ समुदायमा आधारित पूर्वतयारी, जनस्तरमा जनचेतना र तालिम, पूर्वसूचना प्रणाली र प्रकोपपछि पनि यथाशीघ्र व्यवस्थापन र पुनस्र्थापनामा पहुँच हुनु जरुरी हुन्छ।

अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्य : जलवायु परिवर्तन र यसबाट सिर्जित समस्यासँग जुध्न एक्लै काफी नहुन सक्छ। शक्ति राष्ट्र अमेरिकाको क्यालिफोर्नियाको अहिलेको डढेलोको संकटसँग जुध्न छिमेकी मित्रराष्ट्रहरूले आआफ्नो विज्ञता र क्षमताअनुसार सघाएका छन्। यो घटनाको सामना गर्न क्यालिफोर्निया एक्लै छैन। नेपालको सन्दर्भमा कुरा गर्दा पनि जलवायुजन्य प्रकोपबाट नेपाल बढी प्रभावित त होला तर यो नेपालको मात्र स्थानीय समस्या होइन र नेपाल एक्लैले जुधेर पनि सक्दैन। जसमा अन्तर्राष्ट्रिय सहमति, सहकार्य र ऐक्यबद्धताको जरुरी पर्छ।

क्यालिफोर्नियाको डढेलो जलवायु परिवर्तन र कमजोर भू–व्यवस्थापनका कारण सिर्जित प्रलयकारी प्रकोप हो। यसबाट धनजनको क्षति त भयो नै। जसले भोग्यो उसका लागि त यो विपद् महँगो सावित भयो नै। तर विश्व समुदायलाई भने एक महत्त्वपूर्ण शिक्षा भयो। खासगरी नेपालजस्ता जलवायु परिवर्तनको असरबाट प्रभावित, भू–उपयोगका दृष्टिले वैज्ञानिक नीतिको अभाव भएका र जोखिमको पूर्वतयारीमा खासै ध्यान नपुगेका मुलुकहरूका लागि त एक प्रकारको ‘बेकअप कल’ नै हो। क्यालिफोर्नियाको त्रुटिबाट सिकेर स्रोत व्यवस्थापन, सहरीकरण र विकास निर्माणमा वातावरणमैत्री नीति, कार्यक्रम र अभ्यासहरू गर्न सके प्रकोपबाट जोगिँदै दिगो र सुनिश्चित भविष्य निर्माण गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.