स्टेचरकै कमीले जान सक्छ ज्यान

जयपृथ्वी राजमार्गबाट मात्र आधा घण्टाको दूरीमा रहेको बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिल गाउँकी २१ वर्षीया खिना बोहरालाई आइतबार दिउँसोदेखि सुत्केरी व्यथाले च्याप्न थाल्यो। बिहे गरेको एक वर्षमै उनले छोरालाई जन्म दिइन्। तर समयमा नै उपचार नपाएका कारण आमा र शिशु दुवैको मृत्यु भएको खबर धेरैले पढेको हुनुपर्छ। सुत्केरी भएको एक घण्टासम्म बच्चातिर हेरेकी खिनाको रक्तस्राव भएको र बच्चाको पनि स्वास्थ्य अवस्था ठीक नभएको हुँदा दुवैको ज्यान गएको रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब कमलकुमार मल्लले बताएका थिए।
प्रसवको समयमा रक्तस्राव हुने र मृत्यु हुने नयाँ घटना होइन। तर अहिलेको अवस्थामा पनि २१ वर्षको महिलाले समयमा सुरक्षित प्रसव गराउन नसकेकाले मृत्युवरण हुनु परेको खबर पक्कै दु:खद् हो। प्रसव र रक्तस्रावसँग जोडिएका घटना थुप्रै छन्। ‘ताजमहल’का बारेमा धेरैलाई थाहा होला। भारतको आग्रामा रहेको ताजमहल, तत्कालीन सम्राट् सहजादले उनकी प्रिय श्रीमती मुम्ताजको सम्झनामा बनाएको थाहा नपाएका कमै हौंला। तर मुम्ताजको मृत्यु किन भयो धेरैलाई थाहा नहोला। मुम्ताजको सातौं पटकको प्रसव भएको बेला अत्यधिक रक्तस्राव (पोस्टपार्टम हेमोरेज) का कारण मृत्यु भएको थियो। हाम्रो देशमा पनि प्रसव समयको रक्तस्रावसँग धेरै प्रसँग छन्। श्री ५ इन्द्रराज्य लक्ष्मीको मृत्यु पनि प्रसवका बेला अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको र सोही कारणले उनको र जग्गादाता दयावीरसिंह कंसाकारको परोपकार नामबाट थापाथलीमा प्रसूति गृह निर्माण गरिएको हो।
समय धेरै परिवर्तनशील छ, मातृ स्वास्थ्यमा पनि सुधार आएको छ। गर्भ एवं प्रसवलाई सुरक्षित बनाउन धेरै तयारी भएका छन्। अस्पताल र स्वास्थ्य केन्द्रहरू थपिएका छन्। आकस्मिक सेवाका लागि हेलिउद्धारसमेत हुने गरेका छन्। तर पनि मातृ मृत्युदर रोक्न सकिएको छैन। विश्व स्वास्थ्य संघको २०२४ अप्रिलको प्रतिदिन अनुसार सन् २०२० सम्ममा पनि विश्वमा करिब २ लाख ८७ हजार महिलाहरू गर्भ तथा प्रसवकै कारण मर्ने गरेका छन्। सोको ९५ प्रतिशत संख्या विकासोन्मुख देशहरूबाट हुने गरेको जनाएको छ। यी मृत्युका प्रमुख कारण अत्याधिक रक्तस्राव, उच्च रक्तचाप र यसका जटिलता तथा संक्रमण रहने गरेको तथ्यांकहरूले देखाएका छन्। तर यसका पछाडि धेरै अन्य कारण हुन सक्छन्। कम उमेरमा विवाह गर्नु, कम उमेरमा नै बच्चा पाउनु, समयको दूरी नराखी अर्थात् तुरुन्त–तुरुन्त गर्भवती हुनु, खानपिनमा ध्यान नदिनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्नुलगायत अनगिन्ती कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मातृ मृत्यु भएको पाइन्छ।
मानिसहरूको सचेतना बढ्दै गएको छ, सामाजिक परिवर्तन, स्वास्थ्य सेवाको विस्तार, रगतसमेत दिन सक्ने व्यवस्थाको विस्तार अनि गर्भपतनलाई कानुनी मान्यता आदिले गर्दा मातृ मृत्युदरमा निकै ठूलो सुधार भएको छ। सन् १९९६ मा ५ सय ३९ रहेको नेपालको मातृ मृत्युदर सन् २०२१ (२०७८ साल) मा १ सय ५१ मा सीमित भएको छ। तर कति देशहरूमा मातृ मृत्युदर प्रतिलाख जन्ममा १० भन्दा कम छ। सबैभन्दा कम मातृ मृत्युदर भएका देशहरू फिनल्यान्ड, ग्रिस, आइसल्यान्ड र पोल्यान्ड हुन्। जहाँ प्रत्येक एक लाख जन्ममा मात्र तीन आमाको मृत्यु हुने गरेको छ।
प्रसव अगाडिभन्दा पनि प्रसव पछाडि अत्यधिक रक्तस्राव हुने, जसलाई पोस्टपार्टम हेमोरेज अर्थात् पीपीएच भनिन्छ, जुन मातृ मृत्युदरको प्रमुख कारणको रूपमा छ। प्रसवपछि पाठेघर खुम्चिन नसक्नु, सालनालका टुक्राहरू राम्ररी ननिस्कनु, बच्चा जन्मिने क्रममा घाउ लाग्नु तथा रगत जम्न सक्ने क्षमता कमजोर हुनु जस्ता कारणले प्रसव भएपछि रक्तस्राव हुने सम्भावना रहन्छ। यस्ता समस्याहरू समयमा नै पहिचान गर्न सक्नु अनि सोहीअनुसार प्रभावकारी उपचार पद्धति अपनाउन सकिने र आवश्यक परेको अवस्थामा विमारीलाई रगत पनि दिन सकिने स्वास्थ्य सेवा विस्तार भएका कारणले गर्दा पछिल्लो समयमा पोस्टपार्टम हेमोरेज अर्थात् पीपीएचका कारण हुने मातृमृत्यु दरमा कमी आएको देखिएको हुन सक्छ।
तर प्रसवका लागि पूर्वतयारी नहुने, स्वास्थ्य संस्थासम्म पुर्याउने साधनको व्यवस्था नहुनुले अधिकांश गर्भवतीहरू समयमा स्वास्थ्य संस्थामा पुग्न सक्दैनन्। स्वास्थ्य संस्था पनि तयारी अवस्थामा नरहने भएकाले संस्थामा पुगिसकेका गर्भवतीहरूलाई समेत बचाउन नसकिएको घटना धेरै छन्। मातृमृत्यु हुनुमा ‘तिन ढिलाइ’ महत्त्वपूर्ण मानिएको छ। नेपाल मातृमृत्यु प्रतिवेदन २०२१ ले गर्भावस्था तथा प्रसवका लागि स्वास्थ्य संस्था लैजाने निर्णय गर्न नै ५७ प्रतिशतले ढिलाइ गरेको, ३३ प्रतिशतले स्वास्थ्य संस्था पुग्न ढिलाइ गरेको र ४० प्रतिशतले स्वास्थ्य संस्था पुगेर पनि उपयुक्त उपचारमा ढिलाइ भएका कारण मातृमृत्यु भएको जनाएको छ। प्रसवको महिना पुगे पनि तयारी अवस्थामा नहुनु, आइतबार दिउँसैदेखि व्यथा लागे पनि सोमबार बिहान ४ बजे मात्र स्वास्थ्य संस्थामा पुग्नु, स्वास्थ्य संस्थामा प्रसवको व्यवस्था तथा रक्तस्राव नियन्त्रणका लागि आवश्यक तयारी तथा औषधिहरू नहुनु वा नदिनुले खिना बोहराको घटना घटेको देखिन्छ।
समयमा प्रसवका लागि स्वास्थ्य संस्था जाने निर्णय गरेर तयारी गरेको भए सायद स्टेचर, एम्बुलेन्सको समस्या हँुदैनथियो होला। स्वास्थ्य चौकी पुग्नेबित्तिकै स्कल्डी बर्थ एटेन्डेन्ट (एसबीए) नर्स र प्रसवका लागि चाहिने सामग्री तथा पाठेघर संकुचनमा चाहिने औषधिहरू अक्सिटोनिन्, मिसोप्रोस्टोल आदि भएको भए एक घण्टा बच्चालाई खिनाले हेरेर बिताउनु पर्दैनथियो कि ? त्यसैले समान्य तर अति महत्त्वपूर्ण यस्ता ढिलाइहरू हुन नदिन हरेक गर्भवती तथा परिवारले आफ्नो गर्भ र विशेषत: प्रसवको योजना बनाउनु अत्यन्तै जरुरी छ। हरेक गर्भ जोखिमपूर्ण हुन सक्छ। सचेत अनि व्यवस्थित बनाउन नसके ‘स्टेचरकै कमीले पनि ज्यान जान सक्छ’ भन्ने बुझ्नुपर्छ।
साह, मोरङ सहकारी अस्पताल, विराटनगरमा कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस !
