सिर्जनामा पोखिएको प्रकृतिको अजस्र स्रोत

सूर्यप्रसाद लाकोजू लेखनमा सक्रिय सर्जक हुन्। उनी संस्कृति र सम्पदा विषयक लेखरचना लेख्नुका साथै साहित्यका विविध विधामा पनि उत्तिकै निरन्तर लेखिरहन्छन्। कविता, कथा, मुक्तक, हाइकुजस्ता लेखनमा उनी छन्। यसका साथै बालसाहित्य लेखन र अक्षरमार्ग पत्रिकाको सम्पादनमा पनि उनको अग्रसरता देखिन्छ। विविध विधामा लागे पनि उनको एउटा प्रमुख क्षेत्र भनेको कविता हो।
सरल तथा सहज रूपमा जीवनका विविध अनुभूति र संवेदनालाई आत्मीयताका साथ व्यक्त गर्नु उनको काव्यिक विशेषता हो। कवितामा आफ्नो विशेषतालाई प्रखरता दिन उनले घामलाई विभिन्न सन्दर्भमा रेखांकित गर्न थालेका छन्। घामलाई विम्ब बनाएर कवितामा अभिव्यक्त गर्ने सन्दर्भमा पछिल्लो समय उनको ‘घामको पर्खाल’ कविताकृति प्रकाशित भएको छ।
प्रकृतिजन्य शब्दका माध्यमबाट जीवनका अनेकन सन्दर्भ हेर्न र व्यक्त गर्न सकिन्छ। उनले केही समयदेखि घाममाथि अनुभूति र चिन्तनलाई जोडेर कविता लेख्दै आएका छन्। मेरो घाम, घामको चुम्बन पछिल्लो प्रकाशन घामको पर्खाल आदि शीर्षकबाट उनी घामलाई केन्द्र बनाएर सिर्जनामा लिप्त रहेको देखिन्छ। घामलाई केन्द्रमा राखेर त्यसमार्फत उनले मानवीय सरोकारका विषयलाई अभिव्यक्त गर्ने प्रयास भने गरेका छन्।
कविहरू प्रकृति र समाजिक परिवेशसित सम्बन्धित विषयलाई नै प्रतीक र विम्बको निर्माण गरेर अनुभूति, विचार र संवेदनालाई अभिव्यक्त गर्छन्। अनुभूतिमा स्रष्टाको मात्र अनुभूति वा विचार निहित हुँदैन। ती अनुभूतिसित आफ्ना र अरूका चिन्ता र सरोकार साथै चेतना पनि जोडिएका हुन्छन्। यसले नै साहित्यलाई सार्वजनीन बनाउन सघाउ पुग्छ।
वास्तवमा कविले कवितामा शब्द र शिल्पले भाव सम्प्रेषण गर्ने हो। त्यसमा कविकै अनुभूति मात्र हुन्छ भन्ने छैन। प्राय:ले भोगेको विचारलाई नै स्रष्टाले प्राथमिकता दिने हो। स्रष्टाले केवल शब्द प्रदान गर्ने हो, विम्बको निर्माण गरेर भावलाई प्रभावकारी बनाइदिने हो। चिन्तनका नयाँ नयाँ दैलाहरू देखाइदिने हो। स्रष्टाहरूले भावना अनुभूति व्यक्त गर्न कहिलेकाहीँ कुनै खास शब्द, विम्ब, वस्तु र चित्रको निर्माण र सहारा लिएको हुन्छ।
स्रष्टाहरू आगो, पानी, पहाड, जंगल, आकाश, नदी, समुद्र, चट्टान, हुरी, धुलोजस्ता शब्दमार्फत अनुभूतिलाई नयाँ नयाँ अर्थ दिन्छन्। ईश्वर, मृत्यु पानी, आकाश, समुद्र, पहाड आदि शब्दमार्फत केन्द्रित विषयमा केही स्रष्टाले अनुभूतिका विम्बहरूको निर्माण गरेर सिंगो कृति निकालेका छन्। यहाँ कवि लाकोजूले पनि घामलाई काव्यको विषय बनाएका छन्। अर्थात् घाममार्फत उनले भावना, अनुभूति र चिन्तनलाई गहिरो अर्थ दिन खोजेका हुन्। घामको पर्खालमा मानिसमा एकअर्काप्रति विश्वास र मेल हराउँदै गएको, संवेदना शून्यताको बढ्दो अवस्था, राजनीतिक क्षेत्रमा देखिएको विकृतिले जनजीवन निरीह र कष्टप्रद बनेको जस्ता विषय छन्।
सत्तामा पुगेपछि गाउँसहर र छाप्रोप्रति उपेक्षा गर्ने प्रवृत्ति मौलाएको, मानवीय सम्बन्धमा देखा परेको विघटन, विभेद, उपेक्षा, दूरी, तृष्णा, ईष्र्या बढेको विषय पनि कृतिमा छ। मानवले जे गरे पनि प्रकृतिले भने सबैका लागि समान व्यवहार गरेको विषय कविले राम्ररी उठान गरेका छन्। यथार्थ र वास्तविकतामा भन्दा देखावटी र प्रचारमा ज्यादा मोहित हुने स्थिति देखा परेको आदि सन्दर्भ जो समसामयिक विषय हुन्, लाई पनि उनले कवितामा कोरेका छन्।
कवितामार्फत कविले जीवनमा घामका अनुभूतिहरूलाई प्रत्यक्ष र परोक्ष अर्थहरूबाट बोध गराउन खोजेका छन्। घामको न्यानो जीवनको आवश्यकता हो। जीवनका लागि अत्यावश्यक घामलाई पनि छेक्ने तŒवहरू हुनु भनेको समाजमा गलत तत्वहरू पनि उत्तिकै रहेको देखाउनु हो। घामले दिने न्यानोपन, सुखद अनुभूति र हार्दिकतासित जोडिनु मानवीय जीवनको आपसी सम्बन्ध र व्यवहारको पुष्टि हो। कोर्नु छ नौलो आयाम, जीवनका कथा, विश्वास, तिमीलाई, लुकाउनु छ र थापिरहुँ आदि कवितामा घामको सन्दर्भ छ। तर यहाँ घामको सन्दर्भ प्रत्यक्ष नभए पनि घामले दिने अर्थ र व्यञ्जना अनुभूत हुने भाव भने अन्य कवितामा पनि छन्।
घामले तिमीलाई ताप र राप दिन्छु
उसलाई दिन्न भन्दैन
पानीले तिम्रो प्यास मेट्छु
उसको मेट्दिनँ भन्दैन (कोर्नु छ नौलो आयाम)।
प्रकृति सबैका लागि समान हो। यसलाई दिन्छु र उसलाई दिन्न, यसको मात्र हो उसको होइन भन्ने खालको विभेदको व्यवहार उसबाट हुन्न। सबैसित समान व्यवहार नै प्रकृतिको विशेषता हो। तर प्रकृतिको विशेषता विपरीत मानिसबाट भने अनेकन प्रकारले विभेद गर्ने, असहिष्णु हुने र संवेदनहीन भएर व्यवहार गर्नेजस्ता उदाहरण छन्।
त्यही कारण दमित सत्यमा कविले ओठसम्म सत्य आउन नसकेको विवशतालाई औंल्याएका छन्। लुकाउनु छ कवितामा जिन्दगीको घाउ कसैलाई देखाउनु हुन्न, लुकाउनु पर्छ भन्ने बोधका साथ दु:खमा रुझेका निराशालाई आशाको पारिलो घाममा सुकाउनुपर्छ भन्ने भावनालाई अगाडि सारिएको छ। जीवनको विसंगति कस्तो भने जेलाई हामी मलम ठान्छांैं यथार्थमा त्यो नुन भइदिन्छ।
छलिया, विश्वास, विकास, सरकार, गाउँको सिंहदरबार र म अभिमन्युजस्ता कविता मुख्यत: राजनीतिक विषयमा केन्द्रित छन्। आजको मान्छे चक्रव्यूहमा फँसिरहेको तर चक्रव्यूह तोड्न सिकाउने द्रोणाचार्य नहुनु आजको अर्को सत्य हो। गाउँमा सिंहदरबारसँगै शासन गर्ने राजाहरू पनि आउन थालेबाट समस्या झनै गहिरिएको, समय फेरिए पनि सरकारको प्रवृत्ति नफेरिएको, छल्ने र ढाँट्ने प्रवृत्ति झनै बढेको, विश्वासलाई दाउमा हालेपछि सबथोक गुम्नुको नियति नै आजको यथार्थ हो। यस्ता विकृतिहरूका विरोधमा लेखिएको कविता हो, बेला आएको छ र पत्थर।
विकृति विसंगति, निराशालाई छोडेर आशा, विश्वास र भरोसाको गायन पनि केही कवितामा छन्। यहाँ विरोधको, आक्रोशको ठूलो स्वर छैन। अत्यन्त नरमसित यथार्थको स्वीकारोक्ति र सन्तोषलाई सहजताका साथ लिने प्रवृत्ति देखिन्छ। नेपालीहरूको सन्तोष मान्ने प्रवृत्तिमाथि लेखिएको कविता हो चढ्नु छैन शिखर मलाई। नेपालीहरू सगरमाथा हेरेर बेंसीमै रमाउन सक्छन्। फेदीमै जीवन गुजार्न सक्छन्। गलत, लुकाउनु छ, एक्लो, मेरो अक्षमता, सपना, प्रश्न, बुँख्याचा आदि कवितामा यस्तै चेतनाका अतिरिक्त वैयक्तिक अनुभूति र संवेदनालाई आफ्नै छातीभित्र राखिछोड्ने, सत्यलाई चुपचाप स्वीकार्ने र प्रतिक्रियालाई दमित रूपमा व्यक्त गर्ने भावहरू छन्।
केही कवितामा जीवनको दर्शन र शाश्वत भाव, मानवीय सम्बन्धले निर्धारण गर्ने अनुभूति, प्रेमको हार्दिक पक्ष, शान्तिको कामना, सकारात्मक सोचबाट समाजलाई चलाउनुपर्ने जस्ता विचारहरू आएका छन्। थापिरहूँ, तिमीलाई, स्मृति, तिमी, मुस्कान फाल्नुपर्छ, प्रिय मन, दमित स्पर्श, जीवनका कथा आदि कवितामा यस प्रकारका भावहरू छन्। संग्रहमा भएका विविध भावका कविताहरूमा प्रश्न, म अभिमन्यु, चढ्नु छैन शिखर मलाई, पत्थर, भोक, गलत, सरकार आदि कविता विशेषगरी सहज अभिव्यक्तिका दृष्टिले प्रभावकारी छन्।
विषयको आकारमा भन्दा कवि लाकोजू भावको संक्षेपीकरण र प्रस्तुतिमा विशेष ध्यान दिन्छन्। अत: उनका प्राय: कविताहरू छोटा र अर्थपूर्ण छन्। घामको प्रतीकलाई लिएर केही सन्दर्भबद्ध कविताहरू लेखेका उनले प्रस्तुत कृतिमा पनि घामसित सम्बद्ध विम्बमार्फत अनुभूतिहरू व्यक्त गरेका छन्। तथापि घाममार्फत जीवनका पछिल्ला सन्दर्भ र अनुभूतिलाई व्यक्त गर्न सकिन्छ। यहाँ समसामयिक विसंगति, मानवीय सम्बन्धमा आएको तिक्तता, पारिवारिक विघटन, संवेदनहीनता, प्रविधिका कारण आएको अन्योल, वैश्विक सन्दर्भजस्ता पछिल्ला विषयलाई घामको विम्बमार्फत अभिव्यक्त गर्न नसकिने होइन। त्यो आउन बाँकी नै छ।
घाम प्रकृतिको अजस्र स्रोत हो। कविको चिन्तन र सोचले त्यसमार्फत धेरै सन्दर्भ र नयाँ नयाँ विम्बको निर्माण गर्न सकिन्छ। यहाँ घामको पर्खालले विम्बको एउटा आकार दिए पनि घामसित पर्खालको अर्थमा तादात्म्यता भएन कि भन्ने लाग्छ। घामको पर्खाल भन्नासाथ त्यसले रोक्ने वा छेक्ने कुरा गर्छ। घाम र पर्खालविपरीत अर्थबोघ गर्ने शब्दलाई कविले नयाँ अर्थ दिन खोजेको पनि हुन सक्छ। त्यसमाथि कविता नहुँदा अर्थ प्रक्षेपणमा केही आघात पुगेको छ।
प्रतिक्रिया दिनुहोस !
