सद्भावना

शृंखलाबद्ध किन खस्छन्
र चिथोरेर किन लैजान्छ
म वर्षौंदेखि नियालिरहेछु र देखिरहेछु,
उसको अकर्मण्य आस्थाको पहाड।
विसंगत सपनाको अंकमाल गरेर
धाजा फाटेको महलमा
प्राय: मान्छे निरंकुश पलंगमा सुत्छ
अघोरी सिरक ओढेर सफेद पर्दाभरि
कुटिल आँखा घुमाइरहन्छ।
हो, मौका मौकामा
नबज्रेको होइन, मान्छेमाथि चट्याङ
इतिहास रचेर भूकम्प र बाढीपहिरो
र नसल्केको होइन डढेलो
हो, मौका–मौकामा
पछारेर मान्छेहरूलाई खहरे
गाउँ नछिरेको होइन।
समय एम्बुस थापेर
सिकार खेल्न अभ्यस्त छ
र डामेर मान्छेकै आस्था
आर्तनादको खेती गरिरहेछ
हेर्नुस् पटकपटक गइरहेछ
नीलडाम बोकेर हृदयमा आशंकाको कम्पन
र भत्काउँदै छ मान्छे
भित्र पलाउँदै गरेको विश्वासको पर्खाल।
हेरेर घटनाहरूको शृंखला
मान्छे शोक मनाउँछ
र ग्लानी बोकेर आँखामा
झार्छ वेदनाको आँसु
विडम्बना नसुक्दै आँसुका बुँदहरू
पुन: मान्छे मुटुमा पाल्छ आक्रोश
हुर्काउँछ कुटिलता
र सँगालेर दम्भ
डुग्रिरहन्छ निरंकुशता।
कैले पलाउँछ
मान्छेमा समानताको टुसा
कैले बग्छ नसानसामा
संवेदनाको रगत
आँखाले सबैतिर खै
कहिले देख्छ ममता ?
सद्भावना नफुलेसम्म बस्तीबस्तीमा
मान्छे कहिल्यै हुन सक्दैन मान्छेजस्तो !
प्रतिक्रिया दिनुहोस !
