विदेश मोहको यथार्थ दृश्य

दैनिक झोला–झ्याम्टा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने नेपाली युवाको भीड देखिनु केही वर्षयता सामान्य लाग्न थालेको छ। विमानस्थलको त्यो दृश्यको भोलिपल्ट सामाजिक सञ्जालमा ‘मेरो छोरा, छोरी उच्च शिक्षाका लागि विदेश जाँदै छ। सफल भविष्यको शुभकामना !’ भनेर फोटो र स्टाटस पोस्ट गरिन्छ। तर तिनै फोटो र शुभकामना स्टाटसको पछाडि लुकेको वास्तविकता कति भयावह छ भन्ने भने कमैलाई थाहा होला।
विदेश गएपछि ती युवाले के कस्तो संघर्ष गरिरहेका छन् ? विद्यार्थी भिसामा गएका ती बालबालिकाले पढाइभन्दा बढी काम गर्नुपर्ने बाध्यता छ। परिवारलाई घरबाट पठाएको पैसा कसरी फिर्ता गर्ने भन्ने तनाव छ। यता अभिभावकहरूलाई आफ्नो सन्तान अमेरिका, बेलायत, अष्ट्रेलिया पुगेको सुन्दा गर्व लाग्छ। तर, उनीहरूले छोराछोरी विदेशमा कति पीडा झेलिरहेका छन् भन्ने कुरा भने देखाउन चाहँदैनन्।
मेरो व्यक्तिगत अनुभव : मैले विदेश यात्राका क्रममा धेरै नेपाली विद्यार्थीसँग भेटेको छु। उनीहरू प्राय: पसल, रेष्टुराँ, होटलमा काम गरिरहेका थिए। एकपटक अमेरिकाको एक रेष्टुराँमा भेट भएको एक युवकले भन्यो : ‘सर, नेपालबाट म उच्च शिक्षा लिन आएको हुँ, तर खर्च धान्न गाह्रो भएकाले काम गर्नुपरेको छ।’
त्यस्तै, अष्ट्रेलिया, बेलायतमा मैले देखेँ– विद्यार्थीहरू बिहान कलेज जान्छन्, दिउँसो र राति काम गर्छन्। कतिपय त कामको थकानले कलेज नै जान छोड्छन्।
मेरो छिमेकका केही बालबालिका पनि पढ्नकै लागि भनेर विदेश गएका छन्। उनीहरू विदेश पुगेको बेला उत्सव मनाइएको थियो। तर, अहिले तीमध्ये धेरैजसो होटलको किचन, अगुर स्याउ, स्टेवरी टिप्ने काम गरिरहेका छन्। कलेज जानु त परै जाओस्, आफ्नै खर्च धान्नकै लागि संघर्ष गरिरहेका छन्।
विदेश मोहको कारण के हो ? : नेपालमा अहिले विदेश जाने मोह केवल शिक्षा र रोजगारीको लागि मात्रै नभएर समाजमा देखासिकीको कारणले पनि भएको देखिन्छ। ‘मेरो छोरो अमेरिका गयो’, ‘मेरो छोरी बेलायतमा पढ्दै छ’ भन्न पाउँदा अभिभावकलाई गर्व लाग्छ। तर, ‘मेरो छोरो स्वदेशमै इञ्जिनियरिङ पढ्दै छ’, ‘देशमै बसेर घरपरिवार, समाज र देशकै सेवा गरिरहेको छ’ भनेर गर्वका साथ भन्न चाहँदैनन्। यही सोचाइ परिवर्तन गर्नु जरुरी छ। अबको आवश्यकता भनेको आफ्नै देशमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउनु हो। हामीले यस्तो समय ल्याउनु पर्छ, जहाँ नेपालभित्रकै दुर्गम जिल्लाहरूबाट पनि इञ्जिनियर, डाक्टर, वैज्ञानिक र अनुसन्धानकर्ता उत्पादन होऊन्।
सामाजिक सञ्जाल र देखासिकीको असर : सामाजिक सञ्जालमा एक जनाले विदेश जाँदै गरेको फोटो राखेपछि, अरू अभिभावकले पनि त्यस्तै गर्न चाहन्छन्। यो देखासिकी प्रवृत्तिले अभिभावकलाई मानसिक रूपमा प्रभावित बनाएको छ। तर, ती पोस्टमा विदेश पुगेपछि बालबालिकाले भोगेको दु:ख, संघर्ष र तनाव देखिँदैन। यदि सामाजिक सञ्जालमा यी वास्तविकताहरू पनि पोस्ट गरियो भने समाजले सोच्ने तरिका नै बदलिन सक्छ।
देशमै उच्च शिक्षा र अवसर सिर्जना गरौं : विद्यार्थीहरू विदेश जानुमा समस्या छैन। तर, त्यो शिक्षा पाउन र आफ्नो दक्षता बढाउनका लागि होस्। देशभित्रै अवसरहरू नहुँदा मात्रै विदेश मोह बढेको हो। सरकारले रोल्पा, रुकुम, बाजुरा, कालीकोट, ताप्लेजुङ, संखुवासभाजस्ता दुर्गम जिल्लाहरूमा गुणस्तरीय विश्वविद्यालयहरू स्थापना गर्नुपर्छ। अबको समय यस्तो बनाऔं, जहाँ अभिभावकहरू गर्वसाथ भन्न सकून्, ‘मेरो छोरी धनकुटाबाट इञ्जिनियरिङ पढेर देशमै सेवा गरिरहेकी छन्।’ पश्चिमका नागरिकले यसो भने जसरी पूर्वका बासिन्दाले पनि कर्णालीको फलानो विश्वविद्यालयमा पढेर मेरो छोराले त्यही दुर्गममा बसेर देशको सेवा गरिरहेको छ भनून्। यस्तो समय आएको दिनमात्रै देशको भविष्य सुरक्षित हुनेछ।
विदेश मोहलाई घटाउन आवश्यक छ : अब सामाजिक सञ्जालमा ‘मेरो छोरो अमेरिका गयो’ भन्ने पोस्ट कम होस्। यसको सट्टामा ‘मेरो छोरो नेपालमै डाक्टर भएर गाउँको स्वास्थ्य सुधार गरिरहेको छ’ भन्ने पोस्ट पढ्न पाइयोस्। विदेश मोहलाई घटाउन हामी सबैले मिलेर प्रयास गर्नुपर्छ। विद्यार्थीहरूले देशमै गुणस्तरीय शिक्षा प्राप्त गरुन्। विदेश गएर संघर्ष गर्नुपर्ने बाध्यता हटून्। त्यो दिन समाज र देश दुवै समृद्ध हुनेछ। त्यसका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवारी लिऔं। विदेश मोह कम गरौं, देशभित्रै अवसर सिर्जना गरौं।
प्रतिक्रिया दिनुहोस !
