गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न सरकारसँग माग

वीरगन्ज : नेपाल गोंड समाज उत्थान समितिको केन्द्रीय बैठक शनिबार वीरगन्जमा बसेको छ। जिल्ला समन्वय समिति पर्साको प्रांगणमा बसेको बैठकले तीनबुँदे निर्णय गरेको छ।
समाजका केन्द्रीय उपाध्यक्ष लालजी साह गोंडको अध्यक्षतामा सम्पन्न बैठकले गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृतका लागि पहल थाल्ने निर्णय गरेको हो।
बैठकले राज्यको सेवासुविधाबाट बञ्चित रहेका गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गराइ राज्यको मूलधारमा ल्याउन सरकारसँग माग पनि गरेको छ। त्यसका लागि समाजले संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाउनेसमेत निर्णय गरिएको समाजका पर्सा अध्यक्ष मनोज साह गोंडले जानकारी दिए।
यसैगरी बैठकले रगतको अभावलाई मध्यनजर गरी चाँडै नै वीरगन्जको घण्टाघर चोकमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नेसमेत निर्णय गरेको अध्यक्ष साहले बताए। साथैै सामाजको केन्द्रीय कार्यालय व्यवस्थापनमा जुट्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी गराए। बैठकमा समाजका केन्द्रीय कोषाध्यक्ष प्रल्हाद गुप्ता, सदस्यहरू आशा साह, रामनारायण साह, समाजका युवा नेता बिन्दुभूषण साह, विजय साह, प्रभात साह, ज्ञानेन्द्र साह, नरेश साह, हृदयनारायण साह, रवीन्द्र साह, राकेश साह, सुनील साह लगायतको सहभागिता थियो। बैठकमा सहजीकरण समाजका युवा नेता बिन्दुभूषण साहले गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
