वामदेव गौतमलाई एकीकृत समाजवादीमा नजान दबाब, एमालेमा फर्कने तयारी

काठमाडौं : नेकपा एकीकृत समाजवादीसँग कुरा नमिलेपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम नेकपा एमालेमा फर्कने भएका छन्। नेकपा एमाले र एकीकृत समाजवादीका नेतासँग पटक-पटक छलफल गरेका एमालेका पूर्वउपाध्यक्ष गौतम झण्डे साढे तीन वर्षपछि पार्टीमा फर्किने तयारी गरेका हुन्।
गत पौष १७ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटमा उनीहरूबीच पार्टी एकता गर्ने विषयमा समझदारी बनेको थियो। ‘माधव नेपाल र म एकजुट हुने भइयो नि त।’ भेटपश्चात गौतमले भनेका थिए, ‘दुई पक्षबीचको समझदारीले अन्तिम रूप लिएपछि छिट्टै पार्टी एकता घोषणा हुन्छ।’
तर, गौतमले मागेको पद एकीकृत समाजवादीमा नमिलेपछि पुन: एमालेसँग छलफलमा जुटेका थिए। उनले संगठन विभाग प्रमुखसहित महत्त्वपूर्ण पद मागेको राजनीतिक वृत्तमा चर्चा थियो। गौतमलाई एमालेकै केहि नेताले एकीकृत समाजवादीमा नजान दबाब दिएको स्रोतको भनाई छ। एमाले स्रोतका अनुसार हाल अध्यक्ष ओली र गौतमबीच पदीय हैसियतको विषयमा ठोस कुराकानी भएको छैन। ओलीले एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने बचन दिएका छन्।
गौतमले पटक-पटकको संवादपश्चात एमाले अध्यक्ष केपी शर्मा ओलीले छिट्टै आफू पार्टीमा फर्कने मिति र स्थानको जानकारी गराउने उनी निकटलाई बताएका छन्। पार्टीमा हुने र पार्टी बाहिर हुनेमा धेरै फरक पर्ने भएकाले एमालेले फर्काउन चाहने हो भने आफू तयार रहेको सार्वजनिक मञ्चबाट गौतमले पटक पटक धारणा राख्दै आएका थिए।
२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि गौतमले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै २०७८ भदौ १८ गते पार्टी छाडेका थिए। नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका बेला गौतमले पनि एमाले परित्याग गरेका थिए। तर, उनी माधव नेपाल नेतृत्वको पार्टीमा भने सहभागी भएनन्। उनले नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर राजनीति अगाडि बढाएका थिए।
एकता अभियानका नेताले पार्टी छोडेको घोषणा
गौतमसहित महासचिव डीबी कार्की लगायतको मूल समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने तयारी छ। वामदेवले एमालेसँग वार्ता अगाडि बढाइरहेको समयमा उनी नेतृत्वको पार्टीका केही नेताहरूले भने पार्टीबाट अलग्गिएको घोषणा गरेका छन्।
आइतबार एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज एवम् उपाध्यक्ष महेन्द्र अर्याल, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले भने पार्टी छोडेको घोषणा गरेका हुन्। उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन्।
गौतम सहितका नेताहरुले एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !
