एमालेसँग एकता हुँदैन, व्यवहार मिल्नेसँग गर्छौं : नेपाल

मलंगवा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको कार्यशैलीले देश पीडामा परेको आरोप लगाएका छन्। मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपालले मुलुकको राजनीतिक सही दिशामा नरहेको बताएका हुन्।
‘देशलाई असफल बनाउने दिशामा अहिलेको सरकार अग्रसर छ। जनताको आशा भरोसा अनुसार सरकारले काम गर्न सकेको छैन।’ उनले भने,‘गैर लोकतान्त्रिक आचरण बोकेका पार्टीको हातमा देश गएको छ। वर्तमान सरकार तानाशाहशैलीमा काम गरि राखेको छ।’
अहिलेको सरकारले कानुनलाई मिचेर काम गर्दै रहेको उनको भनाई छ। ‘अहिलेको सरकारको काम लोकतान्त्रिक छैन। कानुनलाई मिचेर काम गर्दैछ। अरु पार्टीलाई फोड्ने, जनतालाई झुक्याउनेबाहेक केही काम गर्न सकेको छैन।’
विचाराधिन रहेका विधेयक पुरा नगरी अध्यादेश ल्याउनु गलत रहेको नेपालले बताए। ‘समृद्ध नेपाल बनाउनुको साटो देशमा आर्थिक संकटमा धकेल्ने काम गरेको छ। एक दलीय शासन लाद्नका लागि वर्तमान सरकार लागि परेको छ। जुन स्वीकार्य हुँदैन। गलत गर्नेलाई दण्डित गर्नुको साटो प्रोत्साहन गर्ने काम गर्दै छ।’ उनले भने, ‘ठूला परियोजनाहरूलाई छोडेर कनिका छरे जस्तै अनावश्यक काममा बजेट छरेर देशलाई डुबाउने काममा सरकार लागेको छ। सरकारमा जान हामीलाई हतार छैन। जनताको मन जितेर सरकारमा जान्छौं।’
नेता नेपालले एमालेसँगको एकता कुनै पनि हालतमा हुन नसक्ने तर व्यवहार मिल्नेसँग एकता हुन सक्ने बताए। ‘माधवकुमार नेपालको नाम सुन्ने बित्तिकै एमालेको सातो जान्छ’ उनले भने।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
