विच्याटमार्फत अवैध भुक्तानी, नेपाललाई आर्थिक क्षति

काठमाडौं : विच्याट–पे, अली–पे, पेवेल जस्ता भुक्तानी प्रणालीमार्फत पटक–पटक लाखौं कारोबार हुन थाल्यो। यसरी गैरकानुनी रूपमा नेपालबाट पैसा बाहिरिन थालेपछि नेपाल राष्ट्र बैंकले यसो नगर्न निर्देशन दिँदै आएको छ। यसबारे २०७६ सालमा नीतिगत व्यवस्था नै गरियो। यसपछि धेरैले नेपालमा दर्ता गरेर त्यसलाई कानुनी मान्यताअनुसार चलाइरहेका छन्। तर, पनि कानुनलाई देखाएर लुकीछिपी यस्ता गैरकानुनी भुक्तानी भइरहेको गुनासो सुनिन्छ।
धेरैपटक यस्तै गैरकानुनी अवैध भुक्तानी गरेका कारोबारीलाई नेपाल प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि क्रमशः २०७५, २०७८ र २०८० सालमा विच्याटबाट अवैध कारोबार गर्नेहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ। जसअनुरूप प्रहरीले २०७५ जेठ तेस्रो सातातिर विच्याटमार्फत अवैध कारोबार गर्ने केही व्यक्तिलाई पक्राउ गर्यो। यस्तो कारोबार गर्नेमा रेष्टुरेन्ट व्यवसायीदेखि बहुराष्ट्रिय कम्पनीका नेपाली बिक्रेता रहेको देखिन्छ।
यस्तै कारोबारमा संलग्न केही नेपाली र चिनियाँ नागरिकलाई फेरि २०७८ साल माघको पहिलो साता प्रहरीले प्रक्राउ गरेको थियो। पक्राउ पर्नेहरूले विच्याट पेकै प्रयोग गरेर चीनको बैंक खातामा करोडौं रकमको कारोबार गरेको खुलासा भएको थियो।
यसैगरी, २०८० असारमा बौद्धमा सञ्चालित एक रेष्टुरेन्टबाट केही नेपाली नागरिकले लाखौं रकम विच्याटबाटै अवैध रूपमा पठाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो। यस्तो घटना भइरहेपछि राजस्व अनुसन्धान विभागले पनि चासो दिएर अनुसन्धान गरेको थियो। करिब ५ वर्षअघि गरेको उक्त अनुसन्धानले आधा विच्याट पेको अवैध कारोबार हुँदा आधा करोड रुपैयाँ बराबरको राजस्व छली भएको समेत निचोड निकालिएको एक कर्मचारीले जनाएका छन्। तर, यो अनुसन्धान अलि अघिको भएकाले हालका महानिर्देशक चण्डिप्रसाद घिमिरे भने यसबारे अनविज्ञ भएको बताउँछन्।
तर, पनि विच्याट पेमार्फत अवैध भुक्तानी गरेर विदेशी विनिमय अपचलनबारे विभागमै करिब ३०–३५ वटा मुद्दा दायर भएको महानिर्देशक घिमिरेले जानकारी दिए। ‘म आउनुभन्दा अगाडि नै अनुसन्धान भएको विषय थाहा भएन। तर, विच्याट पेमार्फत अवैध भुक्तानी गरेर विदेशी विनिमय अपचलनबारे विभागमै करिब ३०–३५ वटा मुद्दा दायर गरिसकेको छ। नेपाल प्रहरीले समाएको र कतिपय हाम्रै अनुसन्धानबाट देखिएका छन्। यस्ता विदेशी विनिमय अपचलन भएका केशको सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिरहेकै छौं,’ विभागका महानिर्देशक घिमिरेले अन्नपूर्णसँग भने।
यसै क्रममा उनले अवैध व्यापार गरेर विच्याट–पे जस्ता भुक्तानीबाट मात्र होइन कुनै माध्यमबाट पनि राजस्व छल्ने काम नगर्न र कानुनी मान्यता अपनाउन अनुरोध गरे। ‘जुनसुकै उद्योगी, व्यवसायी कसैले राजस्व चुहावट गर्नुभएन। विद्यमान कानुनहरू छन्। ती कानुनहरूको परिपालना गर्ने हो भने राजस्व चुहावट नै हुँदैन,’ उनले थपे।
नेपालमा माछापुच्क्कछ्रे बैंक र एनएमबी बैंकमा खाता खोलेर विच्याट पेको क्युआरमार्फत भुक्तानीको वैध कारोबार व्यवस्था हुँदाहँुदै अझै अवैध अर्थात् चिनियाँ बैंककै खाताको विच्याट क्युआरबाट भुक्तानी भएको खुलेको छ।
जसले गर्दा नेपालमा भएको कारोबार रकम भने सिधै चीन जाँदा मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। अवैध रूपमा विच्याटबाट रकम विदेश पठाउने क्रम नरोकिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को पछिल्लो केशले पनि पुष्टि भएको छ। अहिले यस्तै खाले घटना भएकाले सीआईबीले यसबारे अध्ययन गरिरहेको जानकारी दिएको छ। अनुसन्धानको क्रममा रहेकाले यसबारे विस्तृत विवरण अहिले खुलासा गर्न नमिलेको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सुधीर साहीले बताए।
विच्याट पेलाई अनुमति, अझै गैरकानुनी कारोबार
‘केही चाइनिज व्यापारीहरूले चीनकै विच्याट पे चलाउँथे र नेपालमा कारोबार गर्थे तर पैसा चीनमै पठाउँथे। अझै यस्तो क्रियाकलाप हुने गरेको केहीबाट सुनिएको छ’, एक व्यवसायीले भने। तत्कालीन समयमा यस्तो गैरकानुनी क्रियाकलाप फस्टाएपछि विदेशी विनिमय अपचलन हुन थाल्यो। यसले मुलुकमा राजस्व छलीदेखि विदेशी विनिमय अपचलन भएका कारण केन्द्रीय बैंकको ध्यानाकर्षण भयो। जसअनुरूप नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागले पनि २०७६ जेठ ६ गते विच्याट–पे गैरकानुनी हो र यसरी नगर्न निर्देशनसहित सर्कुलर जारी गर्यो।
राष्ट्र बैंकबाट स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य विदेशी भुक्तानी प्रणालीको प्रयोग गैरकानुनी भनेर सार्वजनिक सूचना जारी गरेको थियो। ‘विदेशी भुक्तानी प्रणालीसँग प्रत्यक्ष आबद्ध भएको क्युआर कोड, पस मेसिन वा अन्य भुक्तानी प्रणाली (जस्तै विच्याट पे, अली पे, विदेशी मुलुकबाट जारी भएका पस मेसिन तथा प्रणाली आदि)को प्रयोग राष्ट्र बैंकको स्वीकृति प्राप्त संस्थाबाहेक अन्य संस्थासँग गर्नु गैरकानुनी हुने भएकाले कसैले यसरी कारोबार गरेमा यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले नेपालभित्र कसैले त्यसरी कुनै किसिमले कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कारबाही हुने छ’ उक्त सूचनामा उल्लेख थियो।
यससँगै राष्ट्र बैंकले भुक्तानी तथा फस्र्योट विनियमावलीमार्फत विच्याट पेलाई मान्यता दिने गरी व्यवस्था गर्यो। यसपछि विच्याट पेको आधिकारिक भुक्तानी कारोबार गर्न भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)मा फस्ट पे टेक्नोलोजी प्रालिले २०७६ फागुन १३ गते १० करोड रुपैयाँ चुक्तापुँजीसहित सञ्चालनको अनुमति मागेकाले चलाउन स्वीकृत दियो। जुन एनएमबी बैंक र माछापुच्छ्रे बैंकले सुरु गरे। नेपाल राष्ट्र बैंकले अनुमति दिएको फस्ट पेले चीनको ‘पेनसेन्ट कम्पनी’ सँग सम्झौता गरेर विच्याट पे नेपालमा कानुनी रूपमा सञ्चालनमा ल्यायो। यो बैंकले मात्रै चाइनिज पर्यटक आउने क्षेत्रमा देशभर ६ हजारभन्दा बढी होटल तथा रेष्टुरेन्टलगायत अधिक मर्चेन्ट राखेको छ।
बैंकले विच्याट–पे प्रयोग गर्ने होटल, रेष्टुरेन्ट र ट्राभल एजेन्सीहरूलाई बैंकले मर्चेन्ट बनाएको छ। यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला यस्ताखाले गैरकानुनी भुक्तानीलाई कानुनी दायरामा ल्याउन जरुरी भएको बताउँछन्।
नेपालमा गरेको कारोबार विच्याट पे प्रणालीबाट स्वदेशमै रहने गरी प्राप्त गर्ने प्रणाली भइसकेकाले अहिले गैरकानुनी भुक्तानी नभएकोमा ढुक्क छन्, नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल। उनका अनुसार यसमा विशेष गरेर चिनियाँ पर्यटकलाई नै लक्षित गरेर पारदर्शी कारोबार गर्न भुक्तानी माध्यम खडा गरेको हो।
यसैगरी गैरकानुनी रूपमा चलेको अर्को अली पे पनि अब एनसीएचएलको नेपाल पेमार्फत सबै बैंकहरूबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ।’ नेपालमा आएका विदेशी पाहुनालाई लक्षित गरी दिएको भुक्तानी सुविधाअनुसार उनीहरूको भिसा अवधिसम्म नेपालको बैंक तथा वित्तीय संस्थामा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सक्ने व्यवस्था छ। यस्तो सुविधा भिसा सकिएपछि भने मान्य हुँदैन। हाम्रो कानुनी व्यवस्थाअनुसार विच्याट प्रयोगकर्ताले बैंकमा प्राप्तिका लागि तोकिएको खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था छ। यो व्यवस्थाअनुसार विच्याटमार्फत अरू देशमा पैसा पठाउन पाइँदैन र नेपालमा मात्रै आउने संयन्त्र बनाइएको केन्द्रीय बैंकले बताएको छ।
चिनियाँ ‘पर्यटकको हब’मा गैरकानुन भुक्तानीको सम्भावना अधिक
सामान्यतयाः नेपालमा चिनियाँ ‘पर्यटकको हब’ अर्थात् चिनियाँ पर्यटकहरू आउने भनेको ठमेल, लुम्बिनी, पाटन, झम्सीखेल, बौद्ध, रसुवा लगायतका क्षेत्र हुन्। यसैले, उक्त क्षेत्रमा विच्याट–पेको स्ट्यान्ड ती क्षेत्रका होटल तथा रेष्टुरेन्ट र ट्राभल एजेन्सीमा राखिदिएको माछापुच्छ्रे बैंकका घिमिरेले बताउँछन्।
छोटो समय घुम्न आउनेले भने खासै खाता खोल्दैनन्। यदि नेपालमा चिनियाले व्यवसाय सञ्चालन गरेको छ र त्यहाँ चिनियाँ पर्यटक आएका वा नेपालमा चिनियाँबीच कारोबार भएको छ भने उनीहरूले सेयर गरेर लुकिछिपी चीनकै क्यूआरमा भुक्तानी गर्नसक्ने सम्भावना छ। चीनमा दर्ता भएको कुनै व्यापार छ तर त्यो व्यापारीले नेपालबाट भुक्तानी लगिरहेको छ भने त्यसमा समस्या हुन्छ।
प्रतिक्रिया दिनुहोस !
