रोनाल्डोले कहाँ गर्दैछ रजगज ?

पछिल्लो समय रोनाल्डोलाई ‘जेन्टल’ हात्तीको रूपमा लिने गरिएको छ। अहिले रोनाल्डो शान्त नै छ।
चितवन : हाल मकुना, रोनाल्डो सौराहा लगायतका जंगली हात्ती चितवन राष्ट्रिय निकुञ्जको पूर्वक्षेत्रमा छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार मुख्यतः प्रजननको समयमा जंगली मत्ता हात्तीहरू ज्यादा आक्रामक र हिंस्रक हुने गरेका छन्। यी जंगली हात्तीको त्रास हुँदाहुँदै पनि घरपालुवा हात्तीले र हात्ती प्रजनन् केन्द्र खोरसोरमा रहेका हात्तीसँग संसर्ग गरी बच्चा उत्पादन पनि गर्दै आएका छन्।
रोनाल्डो सबैभन्दा पुरानो र जेठो हात्ती हो। यसका लामा–लामा दारा छन्। पुच्छर भने काटिएको छ। भाले हात्तीहरू एक आपसमा भिँड्दा उसको पुच्छर चुडिएको हो। गाउँबस्ती आउने सबैभन्दा ठूलो हात्ती पनि रोनाल्डो नै हो।
२०६० सालदेखि नै यो सक्रिय छ। पछिल्लो समय रोनाल्डो हात्ती प्रजनन केन्द्रमा नै प्रायः जसो देखा पर्छ। हात्ती प्रजनन केन्द्रमा रोनाल्डोको नै रजगज छ। प्रजनन केन्द्रका पोथी हात्तीसँग संसर्ग गर्न कहिलेकाहीँ त्यहाँ एक-दुई दिनसम्म पनि बस्ने गरेको छ।
उसले प्रजनन केन्द्रमा अरू जंगली हात्तीलाई ढिम्किन पनि दिँदैन। हात्तीमा सबैभन्दा ठूलो र बलियोले नै पोथी हात्तीसँग संसर्ग गर्ने गरेका छन्। त्यसैले रोनाल्डो भएको बेला कुनै जंगली हात्ती प्रजनन केन्द्रमा आउँदैनन् पनि। २०६० को दशकदेखि नै प्रजनन केन्द्रमा रोनाल्डो कै राज छ। रोनाल्डोभन्दा पहिले रोमियोको राज थियो। रोमियोको करेन्ट लागेर मृत्यु भएदेखि रोनाल्डो राज चलेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगर रोनाल्डो खोरसोरमा घुमिरहने गरेको बताउँछन्।
पछिल्लो समय रोनाल्डोलाई ‘जेन्टल’ हात्तीको रूपमा लिने गरिएको छ। अहिले रोनाल्डो शान्त नै छ। हात्ती प्रजनन केन्द्रमा जाने बाह्य र आन्तरिक पर्यटकले रोनाल्डोको नजिकै गएर फोटो र सेल्फी पनि खिच्ने गरेका छन्। तर, उसको विगत भने त्यति सुखद छैन। युवाकालमा उसको आक्रमणबाट डेढ दर्जन मानिस मारिएका थिए ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
