वित्तीय समावेशीकरण प्रवर्द्धन गर्न नयाँ प्रविधि सँगसँगै निओ मनी ट्रान्सफर

काठमाडौं : जुनसुकै काम सुरु गर्न अठोट, धैर्य, मेहनत, अनुसन्धान र लगानी चाहिन्छ— सागर खनालले यही भनाइलाई विश्वास राखेर नयाँ काम सुरु गरे। सन् २०१६ मा भारतबाट चार्टड एकाउन्टेन्ट सकेका सागरले लामो समय अनुसन्धान गरी निओ मनी ट्रान्सफरको स्थापना गरेका हुन्।
मनी ट्रान्सफरमा सात वर्ष बिताउँदा उनले नेपालमा रेमिट्यान्सको अवस्था, डिजिटल रेमिट्यान्स आदिबाट धेरै जानकारीहरू बटुलिसकेका थिए। उनले यही कुरालाई आफ्नो सपना बनाए। सपनालाई पूरा गर्न खुल्ला आँखाले नै सपना देखिरहे, पृथक् खालको मनी ट्रान्सफर बनाउने।
आफ्नो रुचिको व्यवसायले छिट्टै अघि बढाउँछ भन्ने दृष्टान्त हुन् सागर। सागरले खुल्ला आँखाले देखेका सपनालाई २०८० सालमा वास्तविकतामा परिणत गराए।
हुन त उनले चार्टड एकाउन्टेन्टको पढाइ पूरा गरेपछि भारतमा नै काम गर्ने सोच नबनाएका पनि होइनन्। किनकि अवसर र नतिजा उतै राम्रो थियो। उनी चार्टड एकाउन्टको परीक्षामा भारतभर अल इन्डिया र्यांकमा नाम निकाल्न सफल भएका थिए। भारतभरबाट टप २० भित्र नाम निकालेका थिए। तर परिवारले उनको कुरा मानेन्।
बुवाआमाले सागरलाई ‘जे गर्नु मन छ, नेपालमा नै गर्नू’ भनेपछि उनले बुवाआमाका कुरा मानिदिए र जन्मभूमि फर्किए।
भारतबाट फर्किपछि उनले सिटी एक्सप्रेस मनी टान्सफरमा काम गर्न थाले। सिटी एक्सप्रेसमा काम गर्दा उनी ग्रुपको बिजनेस हेर्ने गर्थे। सिटी एक्सप्रेसमा चार वर्षको कामलाई अन्त्य गर्दै उनले ई–सेवामा जनरल म्यानेजरका रूपमा काम सुरु गरे। त्यहाँ पनि उनले दुई वर्षसम्म काम गर्दा उनले धेरै अनुभव बटुलिसकेका थिए। तर त्यो पर्याप्त थिएन। उनले पुनः एक वर्ष नेपाल रेमिट कम्पनीमा काम गरे। जहाँ उनले नेपालमा रेमिट्यान्सको अवस्था, स्थिति, प्रयोग आदिबारे सबै जान्ने मौका पाए।
दुईतीन वटा कम्पनीमा काम गरिसकेका उनलाई आफ्नै केही गर्ने सोच थियो। सात वर्षको कामको अनुभव र पढाइ उनले दुवैलाई सँगालेर लगे। अनि जन्मियो निओ मनी ट्रान्सफर।
निओ मनी ट्रान्सफरको स्थापना
यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिँदा सुरुमा यसको नाम पानस रेमिट थियो। स्थापनासँगै कम्पनीको अवस्था राम्रो थियो। मध्यपूर्वी राष्ट्रहरूमा राम्रो बजार थियो। विश्वभर कोभिडले आतंक मच्चाएपछि त्यो समयमा केही व्यवसायहरू बन्द भए भने धेरैको राम्रो ग्रोथ हुन सकेन। तत्कालीन विकराल अवस्थामा पानस रेमिटले पनि राम्रो व्यापार गर्न सकेन।
‘मैले ७/८ वर्ष विभिन्न कम्पनीमा जागिरेका रूपमा काम गरेँ। बिस्तारै रोजगारी दिन सक्ने तरिकाको काम गर्ने सोच आयो। पछिल्लो समय डिजिटल मार्केटिङले बजार लिइरहेको छ। ऊर्जावान् र प्रविधिमैत्री साथीहरूको समूह मिलेर पानसलाई रिब्रान्ड गरेर अगाडि बढेका हौं। ’ कम्पनीका सीईओ खनाल भन्छन्, ‘७/८ महिना अगाडि राष्ट्र बैंकमा निवेदन दिएर पुँजी वृद्धि गर्यौँ। अहिले निओ मनी ट्रान्सफरको नामबाट बजारमा आएका छौं।’
निओ मनी ट्रान्सफरको अर्थ
निओ आफैंमा पृथक् नाम छ। यसको अर्थ नयाँ भन्ने हुन्छ। रेमिट्यान्समा डिजिटाइजेसनलाई केन्द्रित गरिएको हो। नयाँ प्रविधिलाई सँगै लिएर अगाडि बढौं भन्ने सोच हो। नेपालमा रेमिट्यान्स उद्योग अगाडि बढ्दैछ। हरेक महिना ५०/६० हजार युवाहरू रोजगारीका लागि विभिन्न मुलुकमा जाने गर्छन्। देशको राजनैतिक उतारचढावका कारण केही वर्ष अझै नेपालीहरू विदेशी भूमिमा जानुपर्ने बाध्यता छ। बाहिर जाने चाप सँगै उद्योगधन्दा पनि बढ्दै गइरहेका छन्। प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्ने कम्पनीहरू बजारमा टिक्न सक्छन्। ऊर्जावान्, युवा जोस र जाँगरले भरिएको समूहले निओ मनी नामको उच्चतम उपयोग गर्नेछन्।
निओ मनी ट्रान्सफर स्थापनाको उद्देश्य
‘निकै नै चुनौतीपूर्ण समयमा हामीले निओ मनीको सुरुवात गरेका छौं। यसको उद्देश्य भनेको उपभोक्ताले समयमै भुक्तानी पाउनुपर्छ भन्ने हो। अहिले हामीले बजार युरोप, मध्यपूर्वी देशहरूमा केन्द्रित गरेका छौं। ग्राहकले पठाएको रकम ६० सेकेन्डभित्र सम्बन्धितको खातामा पुगिसक्छ। हरेक महिना सोसल मिडियामा उपभोक्ताले प्राप्त गरेको कारोबारको सही समय प्रकाशित गर्ने गरेका छौं।
अघिल्लो महिनाको ९० प्रतिशत रकम ६० सेकेन्डभित्र भएको प्रमाण हामीसँग छ। मैले नेपालका प्रतिष्ठित ३/४ कम्पनीसँग काम गर्ने क्रममा रेमिट्यान्सको कारोबार गर्दा केके कमजोरी हुन्छ ? के गर्दा भएका कमजोरीलाई सुधार्न सकिन्छ ? भनेर मसिनोगरी अध्ययन गरेको छु,’ खनालले भने। यस्तै कम्पनी सबै कमजोरीलाई व्यवस्थापन गर्ने गरी उपभोक्तालाई कम शुल्कमा सेवा दिने उद्देश्य रहेको उनको भनाइ छ।
उनी भन्छन्, ‘नयाँ सिस्टम बनाउँदा सबै कमजोरीलाई व्यवस्थापन गर्ने गरी गरेका छौं। सेवा द्रुतगतिमा दिन्छौं। हाम्रो ९० प्रतिशतभन्दा बढी कारोबार बैंक खातामा जान्छन् र केही सेकेन्डभित्र सम्पन्न हुन्छन्। उपभोक्तालाई कम शुल्क लागोस् भनेर हामी सचेत छौं। हामीले पाएको छुट रकम ग्राहकलाई सहज होस् र थोरै शुल्क तिर्न परोस् भनेर काम गरिरहेका छौं।
हाल विभिन्न पार्टनरसँग मिलेर काम गर्दै आएका छौं। उनीहरूले ग्राहकबाट शुल्क नलिई काम गरिरहेका छन्। ग्राहकले पाउने शुल्क तथा सुविधा सस्तो र सहज होस् भन्नेमा हामी केन्द्रित छौं। द्रुत सेवासँगै सुरक्षित कारोबार होस् भन्नेमा हाम्रो जोड रहेको छ।’
हाल रेमिट्यान्सको अवस्था
तुलनात्मक रूपमा अघिल्लो र यो वर्षको कारोबार हेर्दा २० देखि २२ प्रतिशतसम्मको रेमिट्यान्समा ग्रोथ छ। यो वर्ष १२ बिलियनको रनरेटमा छौं। रेमिट्यान्सको क्षेत्रमा यो एकदमै सकारात्मक पक्ष हो। मध्यवर्ती देशहरूमा मात्र होइन कि अहिले युरोप, यूके, अस्ट्रेलिया, जापान, कोरियालगायतमा जाने क्रम एकदमै बढेको छ। मध्यपूर्वी देशहरूमा ३५० डलर बचत हुन्छ भने युरोपियन देशहरूमा ७००–८०० डलरसम्म बचत हुन्छ। त्यसकारण पनि पछिल्लो समयमा नेपालमा रेमिट्यान्स धेरै नै भित्रिरहेको छ।
युवाहरूको बाहिर जाने क्रम बढेसँगै रेमिट्यान्सको आकार पनि बढ्दै जान्छ। नियामक निकायले अनौपचारिक रूपमा भित्रिरहेको कारोबारलाई नियन्त्रण गर्नेगरी काम गर्यो भने यसको आकार अझैं बढ्ने देखिन्छ।
कम्पनीको रणनीतिक योजनाहरू
निओ मनी बजारमा ठूलो लगानी गरेर सफल हुन सकिन्छ भन्ने विश्वास गर्दैन। अहिलेको समय भनेको प्रविधिको समय नै हो। नेपालबाट पढ्न र रोजगारीका लागि पुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू भएका ठाउँसम्म पुग्ने यस कम्पनीको उद्देश्य रहेको कम्पनीका प्रोडक्ट हेड अभिनाश कर्ण बताउँछन्। ‘हाल मिडिया र सामाजिक सञ्जालका माध्यमबाट हामी हाम्रो यात्रा तय गरिराखेका छौं। केही समयअगाडि लोकप्रिय गायक प्रकाश सपूतलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेका छौं। प्रकाशजी बिदेसिएका दाजुभाइ तथा दिदीबहिनीसँग एकदमै कनेक्टेड हुनुहुन्छ। उहाँसँगको सहकार्यले लक्षित वर्गसम्म पुग्न सहज हुन्छ भन्ने विश्वास राखेका छौं।
चाँडै नै इन्भेट पनि गर्ने योजनामा छौं। हाम्रो मुख्य रणनीति भनेको डिजिटल मार्केटिङलाई फोकस गर्ने हो। तत्कालको मुनाफाभन्दा पनि दिगो व्यापारमा केन्द्रित छौं। आजको भोलि टप फाइभ कम्पनी बन्ने होइन कि बिस्तारै एउटा राम्रो ब्रान्डका रूपमा बजारमा स्थापित हुने लक्ष्य राखेका छौं।’
कम्पनीको हालको अवस्था
‘सबैभन्दा पहिले बाहिर रेमिट्यान्स गर्ने कम्पनी पत्ता लगाउनुपर्छ। अनि व्यापार सम्झौता हुन्छ। त्यसपछि नेपालको केन्द्रीय बैंकबाट हरेक साझेदारको अनुमति लिनुपर्छ। उताको कम्पनी पनि उस्तै प्रक्रियामा जानुपर्छ। यसबीचमा केही कम्पनीसँग सम्झौता गरेर काम सुरु गर्र्यौं। अन्य केही कम्पनीसँग सम्झौता गरी केन्द्रीय बैंकबाट अनुमति लिएर एपीआई सिस्टम इन्टिग्रेसनको प्रक्रियामा छौं। यो आव हाम्रो लागि सुरुवात नै हो। अबको तीन महिनामा नयाँ कम्पनीहरूसँग सम्झौता गर्ने प्रक्रियामा छौं।
कुबेत, मलेसिया, कतार, युरोपमा काम भइरहेका छन्। नेपालीहरू भएको ठाउँमा हाम्रो पहुँच हुनुपर्छ भनेर लागेका छौं। हामीसँग मिलेर काम गर्ने पार्टनरहरू एकदमै सन्तुष्ट भएको पाएका छौं। २४ सै घण्टा सेवा दिन्छौं। निओ मनी बजारमा बेग्लै ब्रान्डका रूपमा चिनिनेछ भनेर अतिनै आशावादी छौं। नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनी ट्रान्सफरबाट रेमिट्यान्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने र चेतना जगाउने हाम्रो प्रमुख सोच रहेको छ,’ सीईओ खनालले भने।
प्रतिक्रिया दिनुहोस !
