महाराष्ट्रमा रेल दुर्घटना : १३ जनाको मृत्यु, सनाखत भएका ७ मध्ये तीन नेपाली
६ जनाको सनाखत हुनै बाँकी

नयाँ दिल्ली : भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परेर ३ जना नेपालीसहित १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। तीन नेपालीसहित ७ जना मृतकको सनाखत भइसकेको जनाइएको छ। अन्यको भने सनाखत हुन बाँकी रहेको जनाइएको छ।
उक्त दुर्घटनामा नेपालका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको जनाइएको छ। उनीहरु नेपालका कुन ठाउँका हुन् भन्ने जानकारी आएको छैन।
लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलमा आगो लागेको सूचना हल्ला फैलिएपछि जलगाव जिल्लामा भागदौड मच्चिएको र अर्को लिकमा आइरहेको रेलले किचेर उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
'रेलको कुनै डिब्बामा आगो फैलिएको सूचनापछि उक्त रेल रोकिन पुगेको थियो। रोकिएपछि यात्रुहरू भागदौड गर्न थालेका थिए। त्यही बेला अर्को लिकमा आएको कर्नाटक एक्सप्रेसको रेलमा पर्दा उनीहरूको मृत्यु भएको हो,' प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल गइरहेको बताइएको छ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फढणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उद्धार र स्वास्थ्य उपचारका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
चिया बेच्ने मान्छेले हल्ला फैलाएको
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले बिहीबार पुष्पक रेलमा आगलागी भएको हल्ला चिया बेच्ने व्यक्तिले फैलाएको बताएका छन्। उक्त कुरा उक्त रेलमा यात्रा गरिरहेका उदल कुमार र विजय कुमारले सुने। दुवै जना डराएर ज्यान बचाउन रेलबाट हामफाले।
पवारले मिडियालाई बताएअनुसार केही यात्रु आगोबाट बच्न चलिरहेको रेलबाट हाम फालेका थिए। रेल तीव्र गतिमा चलिरहेको थियो। यात्रुमध्ये एकजनाले चेन ताने। रेल रोकिएपछि धेरै मानिसहरू ओर्लिए। अर्को ट्रयाकबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले रेलवे ट्रयाक पार गरिरहेका यात्रुहरूलाई कुल्चँदै अगाडि बढ्यो।
जलगाउँ कलेक्टरेटका अनुसार जनवरी २२ साँझ ४:२७ मा पचोरा स्टेशनमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। यी मध्ये १० जनाको पहिचान भइसकेको ३ जनाको पहिचान हुन सकेको छैन। दुर्घटनामा १० जना यात्रु गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।
त्यहाँका रेलमन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई प्रतिव्यक्ति भारू १.५ लाख, गम्भीर घाइतेलाई प्रतिव्यक्ति ५०,००० र सामान्य घाइतेलाई ५,००० रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएपछि केही मानिसहरू आगो लाग्यो भन्दै चिच्याउँदै दौडिरहेका थिए। महिला र केटाकेटीहरू तल ओर्ले र भाग्न थाले। अगाडिबाट एउटा रेल आयो र मानिसहरूलाई कुल्चँदै गयो।
ब्रेक लगाउँदा रेलको पाङ्ग्राबाट धुवाँ निस्किएको थियो
रेल नम्बर १२६२७ कर्नाटक एक्सप्रेस बेंगलुरुबाट नयाँ दिल्ली जाँदै थियो। पुष्पक एक्सप्रेस (१२५३३) लखनऊबाट मुम्बई जाँदै थियो। एक वरिष्ठ रेलवे अधिकारीले प्रारम्भिक जानकारी अनुसार पुष्पक एक्सप्रेसको कोच भित्र 'तातो एक्सल' वा 'ब्रेक-बाइन्डिङ (जाम)' को कारणले गर्दा झिल्काहरू उत्पन्न भएको थियो र केही यात्रुहरू आत्तिएका थिए। उनीहरूले सिक्री तानेर तल हाम फाले।
प्रतिक्रिया दिनुहोस !
