हिउँको पर्खाइमा मुस्ताङका किसान

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा अनुकूल मौसममा समेत हिउँ नपर्दा मुस्ताङका किसान चिन्तित देखिएका छन्। विगत वर्षहरूमा कात्तिक महिनामै हिउँ पर्ने गरे पनि यसवर्ष माघको पहिलो साता बितिसक्दा पनि मुस्ताङमा हिउँ पर्ने छनक देखिएको छैन।
हिमाली क्षेत्रमा हिउँदयाममा हिउँ पर्नु प्राकृतिक बरदान मानिन्छ, तर अनुकूल समय घर्किन लाग्दासमेत यो सिजन हिउँ नपर्दा मुस्ताङका किसान आश्चर्यमा छन्। स्याउलगायत हिउँदेबाली व्यवस्थापन कार्य अन्तिम चरणमा पुगिसक्दासमेत मुस्ताङमा हिउँ पर्न सकिरहेको छैन। हिउँदयाममा परेको हिउँले शीतोष्ण फलफूल तथा तरकारी बालीलाई फाइदा पुग्ने भएकाले मुस्ताङका किसान हिउँको पर्खाइमा छन्। अनुकूल मौसममा हिउँ नपरी बेमौसममा परेमा स्याउलगायतका अन्नबाली नष्ट हुने र उत्पादन घट्ने चिन्ता मुस्ताङका किसानलाई छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले हिउँदयामको मौसममा परेको हिउँले किसानले लगाएको अन्नबाली सप्रिने बताए। ‘विगतमा कात्तिकमै हिउँ पथ्र्यो, यसवर्ष माघको पहिलो साता बित्यो अझै पर्ने छनक छैन,’ केन्द्र प्रमुख गुरुङले थपे,‘ अनुकूल मौसमको हिउँले जमिनको उर्वराशक्ति वृद्धि गर्ने र अन्नबालीमा लाग्ने रोगकिरा नियन्त्रणमा समेत टेवा पुग्छ, हिउँकै कारण किसानले लगाएको अन्नबाली उत्पादन तथा गुणस्तरमा राम्रो हुने थियो।’ उनले बेमौसममा हिमपात भएमा शीतोष्ण फलफूलहरूको फूल झर्ने र उत्पादन घट्ने बताए।
जोमसोमका किसान अजित थकालीले जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ पर्न छाडेको बताए। ‘१० वर्षअघि र अहिलेको अवस्थामा मौसममा निकै धेरै फेरबदल भइरहेको छ,’ उनले भने, ‘तापक्रम बढ्दो छ, उत्पादन घट्दो छ। यसले दीर्घकालीन रूपमा यहाँको स्याउ खेती प्रचलन तापमान वृद्धिका कारण विस्थापित हुने भय छ।’ उनले माघ महिनामा कम्तीमा तीन, चार पटकसम्म भारी हिमपात हुनुपर्ने थियो, तर यस वर्ष हिउँको अनुभव गर्न पाइएको छैन।
त्यसो त गत पुस महिनामा दुई पटकसम्म मुस्ताङको मुक्तिनाथ क्षेत्र आसपास आंशिक छिटफुटमात्रै हिउँ परेको थियो। त्यसबेला मुक्तिनाथ क्षेत्रमा नगण्य हिउँ परे पनि मुस्ताङका अन्य स्थानमा हिउँ पर्न सकेन। अनुकूल समयमा समेत हिउँ नपरेपछि मुस्ताङका डाँडाकाँडा फुस्रा र नांगा देखिएका छन्। हिउँले सेताम्मे हुने हिमालको सौन्दर्यमा खासै चमक आउन सकेको छैन। विगतमा मुस्ताङको तल्लो क्षेत्र घाँसादेखि उपल्लो मुस्ताङको कोरलानाकासम्मै हिउँदयाममा दुई फिटभन्दा बढी बाक्लो हिउँ पर्ने गथ्र्यो। हिउँले स्थानीय नागरिकको जीवन केही असहज हुने भए पनि हिउँले कृषि र स्नो टुरिजममा भने निकै ठूलो योगदान दिन्थ्यो।
मुस्ताङमा जारी सिजन हिउँ नपर्दा मुस्ताङका डाँडाकाँडा फुस्रो र नांगा छन्। विगतमा यस समयमा मुस्ताङका डाँडाकाँडा हिउँले पूरै सेताम्मे हुन्थे।
प्रतिक्रिया दिनुहोस !
