सडक चौडा पार्ने क्रममा पहिरो खस्दा जेसीबी हुत्तिएर महाकाली किनारमा पुग्यो

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याभीरमा सडक चौडा पार्ने क्रममा पहिरो खस्दा जेसीबी हुत्तिएर महाकाली किनारमा पुगेको छ । महाकाली लोकमार्गअन्तर्गत ठड्याभीरमा सडक चौडा पार्ने काम भइरहेको छ ।
उक्त सडक चौडा पार्ने काम चलिरहेकै बेला सडकमाथिबाट खसेको सुख्खा पहिरोले चालकसहित जेसीबी महाकाली नदी किनारमा हुत्तिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। उनले भने,'शुक्रबार बिहान सवा ५ बजेतिर घटना भएको हो। जेसीबी नदी किनारमा पुगेको छ। जेसीबी चालक २६ वर्षीय रमेश बुढा घाइते छन्। '
प्रवक्ता जोशीका अनुसार चालकको खुट्टामा चोट लागेको छ। उनलाई सुरक्षाकर्मीहरूले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको छ। त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट धनगढी लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
पहिरो कारण जेसबी हुत्तिएर करिब ३० मिटर तल महाकाली नदी किनारमा खसेको प्रहरी निरीक्षक जोशीले बताए ।
पहिरोका कारण अहिले उक्त क्षेत्रमा सडक अवरुद्ध छ । अहिले पनि सुख्खा पहिरो खसिरहेकाले सडक अवरुद्ध रहेको प्रहरी निरीक्षक जोशीले बताए । उक्त सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकामबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस !
