अख्तियारलाई हर्क साङपाङको जवाफ : धरानको खानेपानीको उजुरी गर्ने ‘फटाहा’ को हो ? लेखि पठाउनू !

काठमाडौं : धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साङपाङ)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो पटक जवाफ पठाएका छन्। शुक्रबार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २ गते गरेको सोधपुछको जवाफ दिँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएकाले बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सबै विधि अपनाउन सक्ने जवाफ दिएका छन्।
पत्रमार्फत उनले भनेका छन्, ‘धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो। यसले आफ्नो नगरवासीहरूलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्छ। नगरवासीहरुलाई सुलभ तरिकाले अटुट रुपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य हो।’
उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न गरेका छन्। ‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’, हर्कले अख्तियारलाई भनेका छन्। उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन्।
‘बिहान उठ्ने बित्तिकै टोइलेट जानु पर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला। केही छिन पछि भात पकाउनु पर्यो। भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुठ्नु परो त्यसको लागि नि पानी चाहिन्छ। जुठोभाँडा लडाइराख मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भएन धुनै परो। लुगा धुन नि पनि नभैनहुने। स्वस्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने WHO ले । नुहाउनलाई नि पानी चाहियो। यसो... करेसाबारी र बगैँचा तिर नि पानी चाहिने नै भो। फेरि सुँगुर कुखुरा चौपायालाई नि पानी नखुवाइ नहुने।’ अख्तियारलाई उनले भनेका छन्, ‘त्यसो भएको हुनाले धरानबासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नै परो मैले।’
मेयर साङपाङले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह गरेका छन्। उनले अख्तियारमा वाइयात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? भन्ने प्रश्न गर्दै बुझेर लेखिपठाउन आग्रह गरेका छन्। ‘केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षौं बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगें। अब केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमयोजना २ चलिरहेको छ। एकदिन आउनु है मूहानबाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न। कम्ता रमाइलो छैन। त्यो वाइयात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा।’ उनले भनेका छन्, ‘राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर, ncell, widebody जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला। पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो। पानीमा राजनीति गर्नु हुँदैन। पानी माग्न जनता त्यता आउलान है फेरि !’
हेर्नुहोस् जवाफ
प्रतिक्रिया दिनुहोस !
