भारतमा रेल दुर्घटनामा एकै परिवारका ३ सहित ७ नेपालीको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो दुर्घटनामा सात नेपालीले ज्यान गुमाएको जानकारी दिएको छ। कैलालीका २, अछामका ४ र बाँकेका १ जनाको मृत्यु भएको परराष्ट्रले जनाएको छ।
मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन्। त्यस्तै अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मौसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राधको रेल दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा ४ जना नेपाली घाइते भएका छन्। तीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनालाई जलगाउँको गोदावरी अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १३ जनाको मृत्यु भएको हो। उक्त रेल दुर्घटना बुधबार साँझ भएको हो।
रेलमा आगो लागेको हल्ला फैलिएपछि यात्रुहरू आत्तिएर रेलको डिब्बाबाट धमाधम अर्को लिकमा हाम फाल्न थालेका थिए। यसैबीच सोही लिक भएर बेंगलुरुबाट नयाँदिल्लीका लागि १२६२७ नम्बरको कर्नाटक एक्सप्रेस रेल हुइँकिएर आउँदै थियो। त्यही बीचमा हामफाल्दा यात्रुहरू किचिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउनका लागि र घाइतेहरूको शीघ्र उपचारका लागि नेपाल सरकारले काठमाडौंंस्थित भारतीय दूतावासमार्फत भारतलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !
