सगरमाथा अनुमति शुल्क १५ हजार अमेरिकी डलर

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमति शुल्क बढ्ने भएको छ। सरकारले आरोहण अनुमति शुल्क १५ हजार अमेरिकी डलर पु¥याउने निर्णय गरेको छ। यसअघि सरकारले सगरमाथा आरोहण अनुमति शुल्क ११ हजार अमेरिकी डलर लिँदै आएको थियो। पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ लाई संशोेधन गर्दै सरकारले सगरमाथा आरोहण शुल्क बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए। मन्त्रिपरिषद्बाट पास भएको संशोधित नियमावली रायका लागि कानुन मन्त्रालय पठाइएको छ। यो चाँडै नै राजपत्रमा प्रकाशितपछि लागू हुने उनले जानकारी दिए।
बढेको शुल्क सन् २०२५ को सेप्टेम्बर १ अर्थात् २०८२ सालको भदौ १६ गतेबाट लागू हुने मन्त्रालयले जनाएको छ। बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्त ऋतुमा सगरमाथाको नर्मल रुट दक्षिणपूर्वबाट आरोहण गरे १५ हजार डलर लाग्नेछ। त्यस्तै शरद ऋतुमा आरोहण गरे ७ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतुमा ३ हजार ७ सय ५० डलर निर्धारण गरिएको छ। यसअघि शरद ऋतुमा ५५ सय डलर र शिशिर तथा वर्षा ऋतुमा २५ सय डलर लिने गरिन्थ्यो। सगरमाथाको दक्षिणपूर्वी रुटबाहेकको अन्य रुटमा आरोहण गर्ने हो भने वसन्त ऋतुको १० हजार डलर, शरद ऋतुको ५ हजार डलर र शिशिर र वर्षा ऋतुको २५ सय डलर अनुमति शुल्क यथावत् नै राखिएको छ।
सगरमाथासँगै अन्य हिमाल आरोहण अनुमति शुल्कमा पनि परिवर्तन गरिएको छ। विदेशीसँगै नेपाली पर्वतारोहीले तिर्ने अनुमति शुल्कमा पनि भारी वृद्धि गरिएको छ। सगरमाथाको नियमित रुटमा वसन्त ऋतु अनुमति शुल्क ७५ हजार रुपैयाँबाट १ लाख ५० हजार रुपैयाँ पु¥याइएको छ।
झन्डै एक दशकपछि सरकारले सगरमाथा आरोहण शुल्क बढाएको हो। सरकारले करिब ३६ प्रतिशतले अनुमति शुल्कमा वृद्धि गरेको छ। समसामयिक मागअनुसार सरकारले नियमावली संशोधन गरेर अनुमति शुल्क बढाएको मन्त्रालय प्रवक्ता लामिछानेले जानकारी दिए।
विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि.) को आरोहणका लागि प्रत्येक वर्ष आरोहीको संख्या करिब ५० प्रतिशतले बढ्ने गरेको पर्यटन विभाग बताउँछ। सगरमाथा आरोहीको संख्या बढेसँगै यसबाट आउने रोयल्टी पनि बढ्दै गएको छ। सगरमाथा आरोहणबाट मात्रै वार्षिक रूपमा सरदर पार्ने एक अर्ब रोयल्टी उठ्ने गरेको छ। आठ हजार मिटरभन्दा अग्ला विश्वमा १४ हिमाल रहेकोमा नेपालमा नै आठ वटा रहेका छन् भने नेपालमा भएका कुल हिमालको संख्या चार सयभन्दा बढी छ। नेपालमा पर्वतारोहण अनुमति शुल्क र विदेशी आरोहीको अन्य खर्चबाट हुने आम्दानी पर्यटन क्षेत्रको प्रमुख स्रोत हो।
प्रतिक्रिया दिनुहोस !
