माओवादीको १० वर्षे द्वन्द्वमा धेरै मारिएपछि शान्ति प्रक्रियामा ल्याउन कांग्रेस र एमाले मिलेका थिए : मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा संकट परेको बेला कांग्रेस र एमाले मिल्ने गरेको बताएका हुन्। शनिबार लमजुङमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले एमाले र कांग्रेस मिल्दा संसदमा अत्यधिक बहुमत पुग्ने भएकाले अरूका हल्लाले कुनै अर्थ नराख्ने बताएका हुन् ।
निर्दलीय व्यवस्था फाल्न होस् वा गणतन्त्र ल्याउन होस् सबै अप्ठेरा कालखण्डमा कांग्रेस एमाले मिलेका उनले बताए । उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन नसक्ने बताए। माओवादीको १० वर्षे द्वन्द्वको बेलामा धेरै मानिस मारिएका र दुःख पाएका कारण उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउन पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका गुरुङले स्पष्ट पारे ।
‘कुनै साना पार्टीले निहुँ खोजेर यो सरकार ढल्नेवाला छैन, यो सरका आगामी चुनावसम्म सहज ढंगले अघि बढ्छ, सरकार ढल्छ भन्ने हल्ला प्रतिपक्षमा बस्नेहरूले आफ्ना कार्यकर्तालाई सान्त्वना दिन गरेको हल्ला मात्र हो’, उनले भने।
अहिलेको सरकाले बलियो सरकार भएकोले तत्काल केही नहुने उनको भनाई छ । मुलुकको अस्थिरता अन्त्य गर्न दुई ठुला राजनीतिक दल एक ठाउँमा उभिनु परेको गुरुङले स्पष्ट पारे । प्रचण्ड नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने काम गरेको उनले बताए । कमिसनखोरसँग सरकार मिलेर मुलुकलाई अस्तव्यस्त बनाउने काम गरिएको उनको भनाइ छ ।
सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही हुने पनि उनले स्पष्ट पारे । यो कुनै एउटा व्यक्ति वा पार्टी विरुद्धको काम नभई नागरिकको सम्पत्ति सुरक्षाको काम भएको उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस !
