नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने दलले देशको लागि काम गर्न सक्दैन : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने ठोकुवा गरेका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले नेकपा एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको स्पष्ट पारेका हुन्।
उनले भने,‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ।’ देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको पोखरेलले बताए। ‘त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको छ।’ पोखरेलले भने, ‘हामी केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने अभियान चलाउन चाहन्छौँ।’
एमाले पार्टीको नीति एमालेको मात्र नीति बनेर देश अघि नबढ्ने उनले बताए। एमालेको नीति मुलुकको नीति बन्नु पर्ने पोखरेलले स्पष्ट पार्नुभयो। त्यसका लागि एमालेको नीति मिसन २०८४ र एमालेको एकल बहुमतको सरका भएको पोखरेलले बताए।
महासचिव पोखरेलले अहिलेको सरकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेकोप्रति आक्रोश व्यक्त गरे। लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको उनको भनाई छ। जनताले अस्वीकार गरेका दलहरू शीर्षस्थानमा रहने कुरा अप्राकृतिक भएको उनले बताए।
कांग्रेस एमाले सधैँभरिका लागि नमिलेका पनि उनले स्पष्ट पारे। जनताको बीचमा जाने बेलामा नेकपा एमाले र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जाने उनले बताए।
आज राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेको उनको दाबी छ। त्यो सङ्कट समाधानका लागि राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन उनले आग्रह गरे। देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नुपर्नेमा पोखरेलले जोड दिए।
‘जहाँ संकट हुन्छ, त्यहाँ समाधान हुन्छ।’ महासचिव पोखरेलले भने, ‘त्यसैले केही गर्छु भन्ने युवालाई देशमा नै सम्भावना छ। नेपाल हामी आफैँ बनाउने भावनाका साथ युवा जाग्नु पर्ने र लाग्नु पर्छ।’
प्रतिक्रिया दिनुहोस !
