लथालिंग प्राज्ञिक थलो

विश्वविद्यालय भनेको ज्ञान आर्जन र उत्पादनको थलो हो। अनुसन्धान स्थल हो। तर नेपालमा भने राजनीतिक मैदान भएका छन् विश्वविद्यालय। प्राज्ञिक व्यक्तित्वहरूबाट सञ्चालन हुनुपर्ने विश्वविद्यालय राजनीतिक दल र नेताहरूको कठपुतली भएका छन्। कुनै न कुनै बहानामा राजनीति घुसेकै छ, विश्वविद्यालयमा र बेथिति निम्त्याएको छ। त्यसको पछिल्लो उदाहरण नेपाल संस्कृत विश्वविद्यालय पनि भएको छ। जसमा लामो समयदेखि तालाबन्दी छ। विद्यावारिधि (पीएचडी) शोधार्थीहरूको भविष्य अनिश्चित छ। तालाबन्दीले मात्र विश्वविद्यालयको शैक्षिक प्रक्रियालाई ठप्प पारेको छैन, २ सय ५० जना शोधार्थीको जीवनमा गम्भीर असर पारेको छ।
कतिको शोध निर्देशक तोकिएको छैन, कतिको विशेषज्ञ बनाइएको छैन, कतिको प्रकाशन अनुमति पर्खाइ छ। कतिपयले सबै सकेर पूर्ववाकपरीक्षा दिनुपर्नेछ। तर सबै काम ठप्प छ। कारण तालाबन्दी हो। प्राज्ञिक थलोमा लागेको ताला वास्तवमा विवेकविहीन, संवेदनहीन र गैरजिम्मेवारीपनको पराकाष्ठाको नतिजा नै हो। सरकार भने मूकदर्शक छ, सत्तारूढ दलकै भ्रातृ संगठनले जो तालाबन्दी गरिरहेको हो। यसरी प्राज्ञिक थलोलाई थिलोथिलो पार्ने राजनीति भइरहेको छ। एक त विश्वविद्यालयलाई राजनीतिक दलले आफ्नाको भर्ती केन्द्र बनाएका छन््। प्राज्ञिक जमात पनि दल र तिनका नेताको पछि लागेर इमान्दारीलाई तिलाञ्जली दिइरहेको छ। तसर्थ जति दोषी राजनीतिक नेतृत्व छ, त्यत्तिकै प्राज्ञिकहरू पनि। कि उनीहरू पद हत्याउनकै लागि दलको फेरो समात्ने लिगलिगे दौडमा प्रतिस्पर्धा गरिरहन्छ।
तत्कालीन उपकुलपति र रजिस्टारबीचको विवादले एक वर्षदेखि कार्यकारी परिषद्को बैठक बसेको छैन। बैठक नसकेपछि कुनै निर्णय हुने भएन, विश्वविद्यालय ठप्पैजस्तो हुने भयो। तर कोही जिम्मेवारी लिन चाहन्न, उत्तरदायी बन्दैन। विश्वविद्यालयको अनुसन्धान परिषद््को नियुक्तिमा विभिन्न राजनीतिक दलहरूको प्रभाव छ। योग्य व्यक्तिहरूको सट्टा प्राज्ञिक आवरणका राजनीतिक कार्यकर्ता नियुक्त हुनु यस्ता संस्थाका लागि ठूलो विडम्बना हो। विश्वविद्यालयमा कुनै पनि बहानामा तालाबन्दी गर्न रोकिनु पर्छ। र, विद्यार्थीका जायज माग हुन् भने उपयुक्त तरिकाबाटै सम्बोधन हुनुपर्छ। तर विद्यार्थी नै विद्यार्थीको भविष्यमाथि तरबार प्रहार गर्ने खालका गतिविधि गरिरहेका छन्, त्यो पनि विश्वविद्यालयमा भइरहेको नियुक्तिमा राजनीतिक भागबन्डा खोज्दै। यो हदैसम्मको लज्जाजनक विषय हो। प्रधानमन्त्री स्वयं कुलपति हुनेहुँदा उनीबाट विश्वविद्यालयको वातावरण स्वच्छ बनाउने पहल कदमी चालिनुपर्छ।
र, यस्ता कुनै पनि दुर्नियतपूर्ण गतिविधि कहिल्यै नहुने गरी सुनिश्चितता गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !
