भद्रपुर झापा गोल्डकपको तयारी तीव्र

झापा : दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ। २०७९ सालमा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत बनाउने योजनाका साथ आयोजक समितिका पदाधिकारीहरू जुटिसकेका छन्।
आगामी फागुन ७ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि मेची रंगशालाको खेल मैदानमा घाँस रोप्ने काम थालिएको छ। रंगशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण भइरहेको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए। गोल्डकपको मिति नजिकिएसँगै रंगशाला सिँगारिने काम भइरहेको बताउँदै अध्यक्ष ढकालले भने, ‘प्रथम संस्करणबाट धेरै कुरा जान्ने अवसर मिलेकाले दोस्रो संस्करण गर्न सहज भएको छ।’
आर्थिक संकलनको पाटोमा पहिलो वर्षभन्दा यो वर्ष समस्या देखिएको छ। अहिलेसम्म रकम संकलन भएको छैन। ‘गोल्डकपलाई आर्थिक सहयोग गरिदिनुहुन सबै समक्ष अपिल गर्न चाहन्छु’, उनले थपे। प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, भर्खरै भारतको सिक्किममा सम्पन्न अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप विजेता झापा–११ सहित विभागीय टोली नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज युनाइटेड, एनआरटीले सहभागिता जनाउने पक्का भइसकेको छ।
त्रिभुवन आर्मीबाट आधिकारिक जानकारी अहिलेसम्म प्राप्त नभएको आयोजकले जनाएको छ। भुटान र बंगलादेशका टिमले पनि सहभागिता जनाउने उनले बताए। उद्योगपति चण्डीराज ढकाल, नवराज ढकाल, टीकाराज ढकाल र हेमराज ढकालले आफ्नो स्व. माता रामरेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा १३ लाख रुपैयाँ पहिलो पुरस्कार दिने घोषणा गरिसकेका छन्। दोस्रो पुरस्कार सात लाख रुपैयाँका लागि दाताको खोजी भइरहेको जनाइएको छ।
यस्तै प्रतियोगिताको मुख्य प्रायोजक भद्रपुरका उद्योगपति दीपक पोखरेलको सौर्य एयरलाइन्स र ओमसाई पाथीभरा हस्पिटल रहेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्तालाई पनि पुरस्कृत गरिने महासचिव श्रेष्ठले बताए। पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो। मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै आर्मीले उपाधि उचालेको थियो।
प्रतिक्रिया दिनुहोस !
