अनलाइन ठगीको पासो

अनलाइन ठगीको पासो

हातहातमा मोबाइल पुगेपछि नेपालीको दैनिकी सजिलो त भएको छ नै तर त्यही मोबाइल पासो पनि । कतिपय त्यही पासोमा परेर ठगिएका छन् । प्रविधिको विकाससँगै डिजिटल कारोबार, सामाजिक सञ्जाल, अनलाइन बैंकिङ र ई–कमर्सको प्रयोग व्यापक हुँदै गएको छ । अनि अनलाइन ठगीका घटना पनि बढेकै छन् । 

नेपाल प्रहरीको साइबर ब्युरोका तथ्यांकअनुसार, २०८० को पहिलो पाँच महिनामा मात्रै ६ करोड ५५ लाख रुपैयाँ अनलाइन ठगीमार्फत नेपालीले गुमाएका छन् । विदेशीले नेपालीबाट त्यतिका रकम ठगेका हुन् । अघिल्लो वर्षको तुलनामा अनलाइन ठगी झन्डै दोब्बर रूपमा वृद्धि भएको छ । अनलाइन ठगीका स्वरूपहरू पनि दिनप्रतिदिन परिवर्तन हुँदै गएका छन् । मोबाइल म्यासेज, इमेल, सामाजिक सञ्जाल तथा अनलाइन विज्ञापनहरू प्रयोग गरेर ठगहरूले सर्वसाधारणलाई फसाएका छन् ।

‘तपाईंको खाता बन्द हुनसक्छ’, ‘चिट्ठा पर्‍यो’, ‘रजिस्ट्रेसन गरेपछि बोनस पाइन्छ’ जस्ता सन्देश पठाएर अनलाइन ठगी भइरहेको छ ।  ‘फेक अनलाइन सपिङ’को माध्यमबाट पनि धेरै नेपाली ठगिएका छन् । सामाजिक सञ्जालमा आकर्षक अफर राखेर ग्राहकलाई झुक्याउने, सामानको भुक्तानी भइसकेपछि सम्पर्कविहीन हुने वा गुणस्तरीय सामान नपठाउने घटना बढिरहेका छन् । नेपालमा अनलाइन ठगीका घटनामा फस्ने मुख्य कारणमा डिजिटल साक्षरताको कमी प्रमुख कारण हो । इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ५० लाखभन्दा धेरै भए पनि अधिकांश प्रयोगकर्ताले डिजिटल सुरक्षा उपायबारे पर्याप्त ज्ञान राख्दैनन् । अनलाइन कारोबार गर्दा पहिचान नजाँच्ने, लोभलाग्दा अफरप्रति आकर्षित हुने तथा व्यक्तिगत जानकारी सहजै उपलब्ध गराउने प्रवृत्तिले पनि ठगीको जोखिम बढाएको छ । ठगीका अधिकांश घटना रिपोर्ट गरिए पनि कानुनी प्रक्रियाको जटिलताका कारण पीडितहरूले न्याय पाउन निकै कठिनाइ खेप्नुपरेको छ ।

सूचना प्रविधि ऐन, २०५७ तथा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ मा अनलाइन ठगीसम्बन्धी कानुनी व्यवस्था भए पनि ठगीका प्रवृत्तिहरू परिवर्तन भइरहेकाले कानुनी प्रावधानलाई अझ प्रभावकारी बनाउन आवश्यक छ । अनलाइन ठगीबाट जोगिन नागरिक स्वयं सचेत रहनु आवश्यक छ । अनलाइनमा आएको कुनै पनि अविश्वसनीय अफरप्रति शंका गर्नुपर्छ । अनलाइन कारोबार गर्दा विक्रेताको विश्वसनीयता जाँच गर्नुपर्छ । बैंक खाताको पासवर्ड, ओटीपी कोड तथा व्यक्तिगत जानकारी कसैलाई पनि दिनु हुँदैन । अनलाइन कारोबारका लागि आधिकारिक एप वा वेबसाइटमात्र प्रयोग गर्नुपर्छ । ठगी भएको छ भने नेपाल प्रहरीको साइबर ब्युरो वा सम्बन्धित बैंकलाई तुरुन्तै जानकारी गराउनुपर्छ । प्रविधिको प्रयोगले समाजलाई सहज बनाउनुपर्छ, ठगीको माध्यम हुनु हुँदैन । हामी सबै सतर्क रहनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.