‘गुडबाई होइन, हार्दिक धन्यवाद

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन्। उनले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताएका हुन्।
‘यो गुडबाई होइन, हार्दिक धन्यवाद हो। १० जनवरी २०२३ मा मैले नेपाली क्रिकेटमा दिगो प्रभाव पार्ने आशा र उत्साह बोकेर नेपाल क्रिकेट संघसँग जोडिएको थिएँ’, देसाईले भनेका छन्, ‘यी दुई वर्ष निकै अविस्मरणीय रहे। यी अविस्मरणीय पलहरू कोशेढुंगाले भरिएको छ। त्रिवि मैदानमा भएको एसिया कप छनोट र मूलपानीमा भएको विश्वकप छनोट खेलले नेपालको जोस र लगावलाई प्रतिबिम्बित गरेको थियो।’
मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो। क्यानका प्रवक्ता छुम्बी लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै मोन्टीसँगको दुई वर्षको सम्झौता समाप्त भएको जनाउँदै त्यसलाई नवीकरण नगरिने बताएका थिए।
मोन्टीले आफ्नो प्रशिक्षणमा विभिन्न उत्तारचढाव भोगे पनि आफूलाई दिएको भूमिका कुसलतापूर्वक पूरा गरेको बताउँदै क्यान व्यवस्थापन, खेलाडी, समर्थक, ग्राउन्ड स्टाफ र कमेन्टेटरप्रति कृतज्ञता व्यक्त गरे। मोन्टीले खेलाडीले लाखौंको सपना बोकेको जनाउँदै एकताबद्ध र जवाफदेहिता भएर खेल्न र ‘ह्यापी ड्रेसिङ रूम’लाई सदैव खेलाडीको शक्तिका रूपमा प्रयोग गर्न सल्लाह दिएका छन्। ‘तिमीहरूले लाखौंको सपना बोकेका छौं। मैदानमा अविचलित रहनु, एक÷एक बल खेल्ने मानसिकता बनाउनु र बाउन्ड्री निकालि राख्नु। सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ‘हेपी ड्रेसिङ रुम’ को आदर्श सधैं तिमीहरूको शक्ति हुनेछ’, मोन्टीले भनेका छन्।
मोन्टीले मुख्य प्रशिक्षक सम्हालेको दुई वर्षको अवधिमा नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै एसिया कप र टीट्वेन्टी विश्वकपमा छनोट भएको थियो। आईसीसी विश्वकप लिग टुको अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले एकदिवसीय मान्यता जोगाएको थियो। यस्तै पहिलो पटक एसिया कपमा छनोट भएर भारत र पाकिस्तानजस्ता मुलुकसँग खेल्ने अवसर पाएको थियो भने एक दशकपछि टीट्वेन्टी विश्वकप खेल्ने सौभाग्य पनि मोन्टीकै प्रशिक्षणमा सम्भव भएको थियो।
प्रतिक्रिया दिनुहोस !
