फ्लाइओभर निर्माण अड्केको अड्कियै, आयोजना प्रमुख तर्केको तर्कियै

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका जिम्मेवार व्यक्तिहरूको हेलचेक्र्याइँले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर तोकिएको समयमा सम्पन्न हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको फ्लाइओभरको काम अझै सकिएको छैन। दुई वर्षभित्र बनाइसक्ने गरी २०७८ सालमा सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ईपीसी मोडेलमा टेन्डर गरेको थियो।
टेन्डर प्रक्रियाबाट आशिष–समानान्तर–रेलिगेर जेभीसँग २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो। सम्झौता गर्ने बेलामा फ्लाइओभर आयोजना प्रमुखमा निर्देशक प्रभातकुमार झा थिए। तर, पछि उक्त आयोजना प्रमुखबाट झा हटे। त्यसपछि कैलाशकुमार श्रेष्ठ, नवीनमान श्रेष्ठ, अजय मूल, नरेशमान शाक्य उक्त आयोजनाको प्रमुख बने। तर आश्चर्यजनक कुरा त के छ भने अहिले फेरि उनै झा आयोजना प्रमुख छन्।
पछिल्लोपटक झा आयोजना प्रमुख बनेर आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका कर्मचारीहरू आश्चर्यमा परेका छन्। ‘कुनै न कुनै स्वार्थ भएपछि ठूलै कसरतमा झाजी त्यहाँ फेरि आयोजना प्रमुख बनेर जानुभयो,’ मन्त्रालयका एक अधिकारीले अन्नपूर्णलाई बताए। आयोजना प्रमुख फेरिरहने र स्वार्थ बोकेर आयोजना प्रमुख आउन थालेपछि फ्लाइओभर निर्माणमा ढिलाइ भइरहेको छ। सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले केही दिनदेखि फ्लाइओभर निर्माणको काम रोकिएको बताए। तर, उनले किन रोकिएको भन्नेबारे अनभिज्ञता प्रकट गरे। प्रवक्ता अर्यालले अन्नपूर्णसँग भने, ‘मैले आयोजना प्रमुखलाई छलफलका लागि बोलाएको छु। उहाँसँग कुरा भएपछि मात्र निर्माण रोकिएको कारण भन्न सक्छु।’
निर्माण पक्षले आयोजना प्रमुख झाले विगतका आयोजना प्रमुखले गरेका कामलाई निरन्तरता नदिएको र झाकै कारण काममा ढिलासुस्ती भएको गुनासो गरेको छ। आफू नहुँदा भएका डिजाइन, ल्याब टेस्ट, गुणस्तर सुनिश्चितता योजनालगायतका कामलाई झाले निरन्तरता दिएका छैनन्। आयोजना प्रमुख झाले यसअघि बनिसकेका कतिपय प्राविधिक योजनालाई कार्यान्वयन नगर्दा फ्लाइओभर समयमा नबन्ने र त्यसको लागतसमेत बढेको छ।
यसअघि भएको गुणस्तर सुनिश्चितता योजनालाई समेत झाले मान्यता नदिई पुनः परीक्षण गराउने र फेरि अर्को योजना बनाउन लगाएका छन्। जसले गर्दा फ्लाइओभरको निर्माणकार्य समयमा सम्पन्न गर्न नसकिने र लागतसमेत बढ्ने निर्माण पक्षले जनाएको छ।
उक्त आयोजना जियोकम कम्पनीले तयार गरेको डिजाइन र विस्तृत लागतका आधारमा सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्ले टेन्डर गरेको हो।
फेरि किन झा त्यही सरुवा भएर आएका हुन् ? भन्ने प्रश्नमा सडक विभागका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘उक्त आयोजनाको डिजाइन र विस्तृत लागत बनाउने जियोकम कम्पनी झाजीकै ज्वार्इं नाता पर्ने व्यक्तिको हो। त्यही स्वार्थअनुसार अधिकतम बल प्रयोग गरेर उहाँ फेरि आयोजना प्रमुख बनेर जानु भएको हो।’ २३ करोडदेखि २५ करोडसम्म लागत अनुमान गरिएको उक्त आयोजना ठेकेदार कम्पनीसँग १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा सम्झौता भएको थियो।
निर्माण कम्पनीले अहिलेसम्म ४४ करोड खर्च लागिसकेको र निर्माण सक्न अझै १५ करोड लाग्ने बताएको छ। झन्डै तेब्बर लागत बढ्नुले आयोजनाकै डिजाइन र इस्टिमेटमै त्रुटि रहेको सडक विभागका अधिकारीहरू बताउँछन्। ईपीजी मोडेलको ठेक्का भए पनि सबै काम सडक विभागकै निर्देशनअनुसार गर्नुपर्ने तर ढिलासुस्तीको जिम्मेवारी आफूहरूले मात्र लिनुपर्ने निर्माण कम्पनीको गुनासो छ।
दोस्रो पटक झाले आयोजना प्रमुखको जिम्मेवारी सम्हालेपछि सबै काम उनले भनेजस्तो हुनुपर्ने र भनेबमोजिम नभए काम गर्ने स्वीकृत नदिने गरेका छन्। झाले उनीभन्दा अगाडिका आयोजना प्रमुखहरूले गरेका कामको निरन्तरतासमेत नदिएका कारण काममा ढिलासुस्ती भएको र सर्वसाधारणले थप सास्ती भोग्दै आएका हुन्।
आयोजना प्रमुख झाले जियोटेक्निकल इन्जिनियरको सुझावविपरीत फाउन्डेसन कमजोर बनाउन सक्ने कमसल सामग्री हाल्न लगाएका छन्। जियोटेक्निकल इन्जिनियरका अनुसार, माटो भएको स्थानमा टेम्पोररी केसिङ हालिँदैन। केसिङ हाल्ने र निकाल्ने मेसिन ल्याउन मात्र तीन महिना लाग्यो जसको मूल्यसमेत तीन करोड रुपैयाँ लागेको थियो। जसले गर्दा समेत आयोजनाको लागत बढेको छ। टेम्पोररी केसिङ किन र कुन प्रयोजनका लागि खरिद गरियो भन्ने कुरा सडक विभागका कुनै कर्मचारीले जवाफ दिन चाहँदैनन्। झाले डिजाइन स्वीकृत गर्दासमेत अनावश्यक मापदण्ड राखेर निर्माण कम्पनीसँग व्यक्तिगत रिसइबी साँधेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। आयोजना प्रमुख झाले फ्लाइओभर निर्माणमा गरेको हेलचेक्र्याइकाबारे मन्त्रीसमेत जानकार रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निगरानी गरिरहेको स्रोतले बताएको छ।
निर्माणाधीन फास्ट ट्र्याकलगायत अन्य ठूला परियोजनामा समेत संलग्न कम्पनी टेरे आर्मीले निर्माण व्यवसायीका तर्फबाट ग्वार्को फ्लाइओभरको डिजाइन, सुपरभिजन तथा निर्माणमा लाग्ने सामग्री सप्लाई गर्दै आएको छ। सन् १९६८ मा स्थापित उक्त कम्पनीले विश्वका ठूला परियोजनाहरूमा काम गरिसकेको छ। तर उक्त कम्पनीलाई समेत झाले आफूले भने झै भएन भने कम्पनीनै धरापमा पारिदिने भन्दै धम्क्याउने गरेका छन्।
सडक विभागले समेत आयोजनामा देखिएको त्रुटिको जिम्मेवारी ठेकेदार कम्पनीलाई नै देखाएको छ। आयोजना प्रमुख झाले दुई वर्षअघि बुझाएको गुणस्तर सुनिश्चितता योजना अस्वीकार गरेको, डिजाइनमा पुनरावलोकन गर्नुपर्ने, उनकै उपस्थितिमा गरिएको ल्याब टेस्ट पुनः गरिनुपर्नेजस्ता बखेडा झिकेर आयोजनालाई पछाडि धकेलिरहेका छन्। पहिला भइसकेका काममा बखेडा निकालेर झाले व्यक्तिगत स्वार्थका लागि निर्माण व्यवयासीहरूको मनोबलसमेत गिराउन थालेको सडक विभागका अधिकारीहरूले बताएका छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार आयोजना प्रमुख झाले यतिसम्म गरेका छन् कि निर्माण कम्पनीका विरुद्ध गतल प्रचारबाजी गर्ने तथा निर्माण कम्पनीको त्रुटिले आयोजना अघि बढन नसकेको भन्दै मन्त्रालयमा बिफ्रिङ गर्न थालेका छन्।
निर्माण कम्पनी भने मन्त्रालय र विभागले आवश्यक सहयोग गरे आयोजना सम्पन्न गर्न तीन महिना पनि नलाग्ने बताउँछ। तर प्रमुख झा स्वयं अनेक बहानामा आयोजना बन्न नदिने मानसिकतामा रहेको स्रोतले बताएको छ।
०००
प्रतिक्रिया दिनुहोस !
