के हो ह्वाइट कलर क्राइम, किन बन्दै छ भयावह ?

के हो ह्वाइट कलर क्राइम, किन बन्दै छ भयावह ?
सांकेतिक तस्बिर।

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेको थुनचेक बहस चल्दै थियो– रूपन्देही जिल्ला अदालतमा। त्यही बेला कानुन व्यवसायीले उठाए– ‘ह्वाइट कलर क्राइम’ को विषय। लामिछानेले पद र पावरका आडमा गरिने अपराध गरेकाले ह्वाइट कलर क्राइमको मुद्दा लगाउनुपर्ने कानुन व्यवसायीको तर्क थियो। रविको मात्रै हैन, भ्रष्टाचारका विभिन्न मुद्दाका बहसमा ह्वाइट कलर क्राइमको विषय बेलाबेला उठ्ने गर्छ। आखिर बेलाबखत चर्चामा आउने यो क्राइम कस्तो हो ?      

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार कुनै पद र पावरमा बसेको व्यक्तिले पदको दुरुपयोग गरी गर्ने अपराध ह्वाइट कलर क्राइम हो। सामान्य भाषामा समाजमा सफा कपडा लगाउने मानिस ‘अर्थात् पोजिसन होल्ड’ गरेको मानिसले गर्ने आर्थिक अपराध यसअन्तर्गत पर्छ। सबै प्रकारका भष्टाचारका मुद्दा ह्वाइट कलर क्राइमअन्तर्गत पर्छन्। पदको दुरुपयोग गरेर गरिने अपराधहरू। परम्परागत अपराधभन्दा भिन्न खालको आर्थिक अपराध।

यस्ता अपराधका मुद्दा नेपालमा प्रायः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने गर्छ। प्रवक्ता आचार्य भन्छन्, ‘हाई लेभलमा रहेको व्यक्तिले गर्ने वित्तीय अपराध नै ह्वाइट कलर क्राइम हो। उनीहरूले गरेको अन्य खालको अपराध भने अपराधको प्रकृतिअनुसार नै सजाय हुन्छ। यस्तो खालको अपराधको छुट्टै ऐन नभएको र यसअन्तर्गत भएका कसुरका आधारमा अन्य ऐनअनुसार अनुसन्धान अगाडि बढाइने प्रवक्ता आचार्यले जानकारी दिए।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका अनुसार ह्वाइट कलर क्राइममा सामान्य मानिस संलग्न हुनै सक्दैनन्। यो त सुटेड बुटेड र पावरफुल मानिसले गर्ने अपराधको प्रकार हो। यो सामान्य मानिस अनि रिसाएर आवेशमा गरिने खालको अपराध हुँदै हैन। यस्तो अपराधका लागि व्यक्ति सत्ताको वरिपरि हुनुपर्छ। आर्थिक रूपमा सम्पन्न, राजनीतिक रूपमा पावरमा भएको व्यक्ति हुनुपर्छ। वा आर्थिक र राजनीतिक दुवै तरिकाले सत्ताको नजिक भएको व्यक्तिले गर्ने वित्तीय अपराध नै ह्वाइट कलर क्राइम हो। पावरका संयन्त्र परिचालन गर्न सक्ने व्यक्ति नै यस्तो अपराधमा सांगठानिक रूपमा संलग्न भएको हो।

यस्तो अपराध गर्ने व्यक्तिले सत्ता र शक्तिको पहँुचमा कानुन र प्रक्रियालाई तोडमोड गर्ने गर्छन्। प्रमाण लुकाउने तरिकाले काम गर्छन्। सिस्टम नै बिर्गाछन्। सफ्टवेयर नै भत्काउने गर्छन्। यस्ता किसिमका अपराधहरू मूलतः परम्परागत अपराधसँग सम्बन्ध राख्दैनन्। चोरी ठगी, अपहरण, लुटपाटभन्दा बिल्कुलै फरक खालको अपराध हो। जुन आर्थिक कारोबारसँग मात्रै सम्बन्ध राख्छ। आर्थिक स्क्यामसँग यस्तो अपराध संलग्न हुन्छ।

वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार, यस्तो अपराधअन्तर्गत भ्रष्टाचार, कर छली, सहकारी ठगी, सरकारी सिस्टम नै ह्याक गरी गरिने आर्थिक अपराध पर्छन्। कम्पनीहरू कर नलाग्ने देशमा दर्ता गराउने र कर नतिर्ने प्रवृत्ति बढ्दो छ, यो पनि एक प्रकारको ह्वाइट कलर क्राइम नै हो। नेपालमा पनि बेलाबखत यस्ता प्रकारको अपराध चर्चामा आउने गरेका छन्। विभिन्न व्यापारिक घरानाले व्यापार गर्दा कर छलेका घटना हुन् या एनसेलले कर छली गरेको घटना हुन् बेलाबखत ह्वाइट कलर क्राइम भन्दै चर्चामा आउने गर्छ।

स्टक मार्केटमा स्टकको मूल्य अति नै घटाउने र अति नै बढाउने प्रचलन पनि बढ्दो छ। यस्तोमा कम्पनीका सञ्चालक र अडिटरहरू मिलेर सर्वसाधारणलाई झुक्यानमा पार्नका लागि यस्तो खालको अपराध गर्ने गर्छन्। एक्कासि नाफामा गएको भन्दै नाफामूलक देखाउने र नागरिकलाई ठगी गर्ने खालको अपराध। एउटा देशमा कालोधन्दा गरेर अर्को देशमा लगानी गर्ने खालको आर्थिक अपराध पनि ह्वाइट कलर क्राइमअन्तर्गत नै पर्छ। यस्तो अपराधमा संलग्न व्यक्तिले के कसरी पैसा कमायो र विदेश पु¥यायो कुनै रेकर्ड नै छाडेको हुन्न। यस्ता अपराध पत्ता लगाउन पनि गाह्रो पर्छ। कुनै प्रमाण नै नछाड्ने खालको अपराध।

यस्तो अपराधका प्रमाण पाइँदैन तर फाइदा कोही न कसैलै लिएकै हुन्छ। फाइदा लिने पक्ष नै कही न कहीँ यस्ता अपराधमा संलग्न भएको भने पाइन्छ। अधिवक्ता भण्डारी भन्छन्, फाइदा लिनका लागि व्यक्तिहरू संगठित रूपमा काम गरेका हुन्छन्। आर्थिक अपराध र संगठित अपराध सँगसँगै देखिने गरेका छन्। फाइनान्सियल स्क्याम भने भर्खरै–भर्खरै नेपालमा सुरु भइरहेको छ। यस्तो समूहले नियोजित रूपमा कुनै संस्था, कार्यालय र बैंक तथा वित्तीय संस्था डुबाउनका लागि नियोजित तरिकाले काम गरिन्छ। जुन गैरकानुनी हुन्छ। विभिन्न अपराधका रूपहरूमध्ये एक हो ह्वाइट कलर क्राइम। जुन १९ औं शताब्दीबाट नै अध्ययन भएको पाइन्छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ का प्रवक्ता सुधीरराज शाहीका अनुसार जिम्मेवारीमा बसेका व्यक्तिले जिम्मेवारीलाई दुरुपयोग गरेर गरिने अपराध नै ह्वाइट कलर अपराध हो। यसमा व्यक्तिले आफ्नो पद दुरुपयोग गरेर व्यक्तिगत फाइदाका लागि काम गर्छ। यस्तो खालको अपराध हेर्ने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.