सोच्ने कि ‘सम्पन्न सडकहरू’ ?

सोच्ने कि ‘सम्पन्न सडकहरू’ ?

समयले नयाँ नयाँ सोच जन्माइरहन्छ। जब नयाँ सोच (अवधारणा)लाई समयसँग समायोजन गर्दै मानिस अघि बढ्छ, तबमात्र नयाँ नयाँ काम गर्न सक्छ। सोचले नै हो, संसार बदल्ने पनि। सोच जुनसुकै विषय, क्षेत्र, तह र तप्कामा प्रयोग गर्न सकिन्छ। जसले हरसमय नयाँ आविष्कार गरिरहन्छ। यसरी भव्य काम गर्न र दिव्य परिणाम ल्याउन हरेक नागरिकमा नयाँ सोच चाहिन्छ। अझ देश निर्माण गर्छु भन्नेहरू अनि देश हाँक्छु भन्नेहरूमा झनै पृथक् र सिर्जनात्मक सोच अत्यावश्यक हुन्छ।

सन्दर्भ, सोचसँग जोडिएको सडक निर्माणको। जसले आर्थिक विकास, ‘कनेक्टिभिटी’ र दिगो विकासमा महŒवपूर्ण भूमिका खेल्छ। वर्षौं अझ भनौं नेपाल त दशकौंदेखि परम्परागत सडक निर्माणका विधिहरूमा अल्मलिइरहेको छ। तर अन्य देशले भने नवीनतम प्रविधिहरू र परिस्थिति अनुकूलका दृष्टिकोणसहित सडक निर्माणका अनेक आश्चर्यजनक काम गर्न थालेका छन्। यसो गर्दा त्यसले लागत घटाउँछ, टिकाउपन बढाउँछ र जलवायु परिवर्तनको वैश्विक समस्यासमेत सम्बोधन गर्छ, वातावरणीय प्रभावलाई कम गर्दै।

पाँच उत्कृष्ट सडकका केही नौला दृष्टान्त: विश्वमा सडक सञ्जालले समग्र विकासमा खेलेको भूमिका अहम् पाइएका छन्। विकासको मूल आधार सडक भएकाले पनि यसलाई सिर्जनात्मक बनाउन पछिल्लो पुस्ता नयाँ सोच, अवधारणा र संकल्पका साथ अघि बढेको छ, सूचना–प्रविधिसमेत जोडेर।

आफ्नो उपचार आफैं गर्ने (आत्म–उपचारक) बेलायतका सडकहरू : बेलायतमा अनुसन्धानकर्ताहरूले आत्म–उपचार गर्ने ‘एस्फाल्ट’ विकास गरेका छन्, जसमा पुनस्र्थापना गर्ने एजेन्टका रूपमा स–साना क्याप्सुलहरू समावेश गरिएका छन्। ती क्याप्सुलले सडकमा पर्ने चिराहरूलाई आफैं मर्मत गर्छन्। यस किसिमको प्रविधिले सडकको आयु विस्तार गर्छ र मर्मतमा लाग्ने ठुलो धनराशिको लागतलाई घटाउँछ।

नेदरल्यान्डमा सौर्य सडकहरू: नेदरल्यान्ड जसले सडकमा नयाँ सोच प्रयोगमा ल्याएको छ। जसलाई उसले ‘सोलार प्यानेल–इन्टिग्रेटेड रोडस्’ नामकरण गरेको छ। यस्ता सोलार रोड प्रोजेक्टहरूले सडकबाटै नवीकरणीय ऊर्जा (रिन्युएबल इनर्जी) उत्पादन गर्छन्। जुन सडकहरूले सडक बत्तीहरू आफ्नै प्रयासमा बाल्छन्। जसबाट इलेक्ट्रिक गाडीहरू रिचार्ज गर्न सकिन्छ भने बाँकी ऊर्जा सडक आसपासका भवनहरूले प्रयोग गर्छन्।

जापानमा ‘पर्मेबल पेभमेन्टस्’: जापानले सडक अर्थात् फुटपाथमा पृथक् प्रयोग गरेको पाइन्छ। सहर आउने बाढीलाई कम गर्न र पानीको व्यवस्थापन सुधार गर्न यस्तो सोच अघि सारेको हो। ‘पर्मेबल पेभमेन्टस्’लाई ‘वाटर पर्मेबल’ पनि भनिन्छ। यसले सहरमा वर्षाको बेला आउने बाढी र सडकमा भरिने जलमग्न अवस्थालाई स्वतः नियन्त्रण गर्छ। यतिमात्र होइन, यस्ता फुटपाथले सडक तात्ने समस्यालाई पनि क्रमशः कम गर्छ। जापानको यो प्रयोगले विश्वलाई नेतृत्व गरिरहेको छ।

अमेरिकामा सडक निर्माणमा ‘जियोसिन्थेटिक्स’: संयुक्त राज्य अमेरिका सडकमा व्यापक रूपमा ‘जियोसिन्थेटिक्स’ जस्तै ‘जियोग्रिड’ र ‘जियोटेक्स्टाइल’को प्रयोग गरिन्छ, जसले भूक्षय भइरहने किसिमका कमजोर माटो भएका क्षेत्रहरूमा पनि सडकलाई सुदृढ बनाइदिन्छ। नेपाल जस्तो पहाडी भू–भाग जहाँ कमजोर माटोका कारण ‘ल्यान्डस्लाइडस्’ भइरहन्छ, त्यहाँ विशेष कामयावी देखिन्छ यो प्रयोग। यस्तो अभ्यासले सडकको टिकाउपन बढी हुन्छ। वर्तमान विश्वले सामना गरिरहेको पर्यावरणीय क्षतिलाई कम गर्ने भूमिका पनि यसले खेल्छ।

भारतमा प्लास्टिकका सडकहरू: भारतले सडक निर्माणमा फोहोरका प्लास्टिकको प्रयोग गरेको छ। यो काममा भारतले विश्वलाई पाठ सिकाएको छ। यो नयाँ सोच (आविष्कार)ले प्लास्टिक प्रदूषणलाई ठूलो परिणाममा घटाएको छ। सँगै यसले सडक बलियो हुने हुँदा टिकाउपनमा पनि फड्को मारेको छ। प्लास्टिक र बिटुमिन घुलमिल गर्दा सडकहरू अत्यधिक टिकाउ हुने गरेको पाइन्छ। जसले पानीले सडकमा गर्ने क्षतिको स्वयं प्रतिरोध गर्ने अवस्था सिर्जना हुन्छ।

नेपाल स्वयंले नयाँ सोच जन्माउन सके उत्तम। नसके विश्वका विकसित देशहरूले ल्याएका नयाँ सोचलाई आफ्नो भूगोलमा ढालेर प्रयोग गर्नुपर्छ। सडक निर्माणका सम्बन्धमा विश्वका उत्कृष्ट अभ्यासहरू लागू गरेको खण्डमा नेपालमा सडक सञ्जालले समग्र विकासमा फड्को मार्नेमा दुईमत हुने छैन। नेपालले सडक निर्माणका सन्दर्भमा जेजस्ता मापदण्ड अपनाएको छ, ती पूर्ण र सम्पूर्ण नहुन सक्छन्। जुन यथार्थ यसै वर्षको बाढीपहिरोबाट भएका सडकका क्षतिले पुष्टि गरिसकेका छन्। त्यसैले दिगो र लचकदार सडक पूर्वाधारका लागि वैश्विक मापदण्डहरू अपनाउनुमा कल्याण हुने देखिन्छ। किनकि यसले झट्ट हेर्दा निर्माण लागत बढेको भए पनि त्यसपछि गर्नुपर्ने मर्मतलाई घटाइसकेको हुन्छ।

सडक निर्माणमा उत्कृष्ट अभ्यासहरू: आधुनिक सडक निर्माणले पूर्वाधारको दक्षता सुधार्न प्रविधि, दिगोपन र लचकतालाई समेटेको हुन्छ। यसका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलगायतका सरोकारवाला निकायले विश्वका केही उत्कृष्ट अभ्यासहरूको अध्ययन र त्यसपछि नेपालमा निर्माण गर्न लागिएका सडकमा अनुसन्धान गर्नु उचित हुन्छ।

केही अभ्यासलाई छोटकरीमा हेरौं:

पुनः चक्रित सामग्री (रिसाइकल्ड मेटेरियल्स)को प्रयोग: धेरै देशहरूले सडक निर्माण गर्दा फोहोरमैलाबाट निस्किएका प्लास्टिक, रबर र पुनः प्राप्त गरिएको ‘एस्फाल्ट’ आदिको प्रयोग गर्दै आएका छन्, जसले एकातिर फोहोरमैलाको समस्या कम गर्छ भने अर्कोतिर सडकको दिगोपनलाई प्रवद्र्धन गर्छ।

स्मार्ट सडकहरूसँग आईओटीको संयोजन: प्रणाली र प्रयोगमा इन्टरनेट अफ थिङ्स (आईओटी) डिभाइस जोडेर सडकलाई स्मार्ट बनाउने काम विश्वका विकसित देशहरूले गरिरहेका छन्। सडकमा सेन्सर, सौर्य प्यानल र स्मार्ट प्रविधिको प्रयोग गरेर ट्राफिक व्यवस्थापन गर्न सहज हुन्छ। साथै ऊर्जामा आत्मनिर्भर बनाउँछ भने सडकको टिकाउपनलाई बढाउँछ।

पारगम्य पक्काहरू (पर्मेम्बल पेभमेन्टस्): यस किसिमका (माथि चर्चा गरिएको) फुटपाथ बनाउन सक्यौं भने त्यसले पानीलाई जमिनमुनि प्रवेश गर्ने अनुमति दिन्छ। खासमा सहरका सडकमा बर्खाका बेला भेल आउने र सडकभरि पानीले भरिने समस्या हुन्छ, त्यस्तो सहरी बाढीलाई यस्ता सडकले तत्काल निराकरण गर्छ। यसबाट जमिनमा पानीलाई ‘रिचार्ज’ गर्छ।

कम लागत र वातावरणमैत्री ‘एस्फाल्ट टेक्नोलोजी’: परम्परागत गरम खालको मिश्रण एस्फाल्टका असर सडकमार्फत् देखेभोगेका छौं। नयाँ अवधारणा ल्याएर अचेल भने सडकमा विगतको तुलनामा कम लागत पर्नेगरी वातावरणमैत्री अर्थात् वातावरणअनुकूल विकल्प प्रयोगमा ल्याइएका छन्। यो अझ विशेषगरी दुर्गम क्षेत्रमा उपयोगी हुने अध्ययन, अनुसन्धानले देखाएको छ।

‘जियोसिन्थेटिक्स’ र सडकमा बलियो माटो: ‘जियोटेक्स्टाइल’ र ‘माटोको सुदृढीकरण गर्ने प्रविधिहरू’को प्रयोग गरेर सडक गुणस्तरीय बनाउन सकिन्छ। यस्ता सडक साँच्चै टिकाउ भएको पाइएको छ। जियोसिन्थेटिक्स कृत्रिम सामग्री हुन्, जसलाई निर्माण परियोजनाहरूमा इन्जिनियरिङ समस्याहरू समाधान गर्न प्रयोग गरिन्छ। जुन पोलिमर वा हाइड्रोकार्बन चेनबाट बनेका हुन्छन्। तिनलाई सडक निर्माणका क्रममा जमिनलाई बलियो पार्न, भू–क्षण नियन्त्रण गर्न र निकास प्रणालीमा सुधार गर्न प्रयोग गरिन्छ।

स्वचालित र रोबोटिक्समा आधारित सडक निर्माण: सडकमा एआईको प्रयोग हुन थालेको छ। ड्रोन र अन्य स्वचालित मेसिनहरूको प्रयोगले पनि सडक निर्माणलाई छिटो र प्रभावकारी बनाउन थालेका छन्। रोबोटिक्सले खासगरी उच्च जोखिमयुक्त कार्यहरू अस्फाल्ट ओछ्याउँदा होस् वा यातायातको नजिक काम गर्दा हुने दुर्घटना वा चोटपटकका जोखिमलाई घटाउँछ। किनकि यी कार्यहरूलाई स्वचालित बनाउँदा कामदारहरूको सुरक्षा हुन्छ।

‘मोड्युलर’ र ‘प्रिफेब्रिकेटेड’ सडकहरू: विदेशमा पुग्दा देख्छौं, रातारात सडक निर्माण भइसकेको हुन्छ। यसको एउटा मूलमन्त्र मोड्युलर र प्रिफेब्रिकेटेड (उद्योग, कलकारखानाबाट फालिने सामग्री)को प्रयोग नै हो सडकमा। यसले  श्रम लागतमा कम खर्च गरे पुग्छ। यस प्रविधिले छिटो सडक निर्माण हुन्छ, अझ अन्य सडकभन्दा बढी टिकाउ सडक बन्छ। पुनः प्रयोग गरिएका प्लास्टिकहरूबाट बनेका सडकहरूमा धेरै मात्रामा प्रिफेब्रिकेट गर्दा परम्परागत सामग्री प्रयोग गरी बनाएका सडकभन्दा तीन गुणा बढी टिक्ने पाइएको छ। जसको आयु करिब ५० वर्षसम्म हुन्छ।

नेपालका सडक सञ्जालमा नयाँ प्रयोगको अवसर: नेपाल पहाडी भूभागका कारण बारम्बारको भूस्खलनको चपेटामा छ। त्यसैले पनि दिगो र लचकदार सडक निर्माण गर्नुपर्ने आवश्यकता छ। जसमा प्रविधिहरूको प्रयोग आवश्यक देखिन्छ। माथि प्रस्तुत गरिएका र यसबाहेकका उत्कृष्ट प्रयोग समेतको खोजी गरेर नेपालले वैश्विक उत्कृष्ट अभ्यासहरूलाई नेपालमा प्रयोग गर्नु आजको आवश्यकता हो। त्यसो त नेपालमा यस किसिमका नयाँ सोच सडक निर्माणमा प्रयोग गर्नु चुनौतीपूर्ण छ। त्यसो त लाभ बढी होलान् गर्न सके। नेपालजस्तो विकासशील देशका लागि यस्ता उन्नत सडक निर्माणका कारण प्रविधिका लागि उच्च लागत पर्नेछ। प्राविधिक विशेषज्ञताको कमी छ। अपर्याप्त पूर्वाधार अर्को समस्याको विषय हुन सक्छ। सडकमा नयाँपन दिन अनुसन्धान संस्थानहरूको अभाव छ, जसले नयाँ प्रविधिहरूको विकास र अनुकूलन गर्ने क्षमता कम गरेको छ। पर्यावरणीय र भौगोलिक चुनौतीहरू छँदैछन्।

चुनौतीसँगै अनेक अवसर: नेपालका लागि अवसरहरू पनि कम छैनन्। यी चुनौतीका बाबजुद नेपालले सडक निर्माणमा माथिका उत्कृष्ट अभ्यास अपनाउन सके थुप्रै अवसर पाउनेछ। विश्वका विकासशील देशसँग सहकार्य गर्दै आफूलाई सडक निर्माणमा विश्व प्रतिस्पर्धामा पु¥याउन सक्छ। दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने अवसर हुन्छ। जलवायु परिवर्तनको मुद्दामा बलियो हुन सक्छ। प्रयास थालेपछि सडक निर्माणमा चीन, जापान, भारत जस्तै अन्य देशले हातेमालो गर्नेछन्। सडक निर्माणमा नितान्त नयाँ सोच र अवधारणाले विश्वभर पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ भनेर क्रान्ति ल्याएको छ। वित्तीय र प्राविधिक बाधाका अलावा नेपाल चुनौती सामना गर्दै अघि बढ्ने हो भने रणनीतिक योजना, नीति समर्थन र विश्वव्यापी विशेषज्ञहरूसँग सहकार्य गर्ने अवसर पनि प्राप्त गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.