विरासतको छायाँमा परेको युवा प्रदर्शन
काठमाडौं : एसिया कपमा हाल अशोक धामीको कप्तानीमा रहेको टिमले एसिया कपमा समूह बी मा रहेको थियो। समूह बी मा रहेको नेपालले समुह चरणको सम्पूर्ण खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको छ। यो टिममा युवा स्पिनद्वय विपिन प्रसाद शर्मा र युवराज खत्री रहेका थिए। जसमा यू-१६ का पूर्वकप्तान अभिषेक तिवारी पनि यही टिमबाट यू-१९ खेलिरहेका थिए। साहिल पटेल, निरज कुमार यादव जस्ता नाम चलेका युवा खेलाडी रहेका यो टिमले यू-१९ एसिया कपमा जितविहिन भएर फर्कियो।
अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली उमेर समूहले देखाएको क्षमता र सम्भावना बिस्तारै कमजोर बन्दैछ। सन् २००६ मा यू-१९ विश्वकपमा नेपालले न्युजिल्यान्ड जस्तो बलियो टेस्ट राष्ट्रलाई हराएर गजबको पहिचान बनाएको थियो। सोही टिमबाट ज्ञानेन्द्र मल्ल,पारस खड्का, शक्ति गौचन, वसन्त रेग्मी जस्ता खेलाडीहरूले राष्ट्रिय टोलीमा स्थान बनाए। हालसम्म पनि यी खेलाडीहरूको पथ पछ्याउने र यिनैलाई आफ्नो आइडलमानेर क्रिकेट खेल्ने जमात ठूलो छ। तर यही छवीलाई पछिल्लो युवा पुस्ताले दोहोर्याउन सकेको छैन । केही खेलाडीहरू राष्ट्रिय टिममा आउँछन् तर क्षणिक उपलब्धिका साथमा उमेर समूहमा नै सीमित भएर बसिरहेका छन् ।
नेपाली राष्ट्रिय टिममा हेर्ने हो भने हाल दिपेन्द्र सिंह ऐरी र सहोदर ब्याचको यू–१९ टोली हाबी छ। रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल जस्ता खेलाडीहरु हाल राष्ट्रिय टिमका मेरुदण्ड बनेका छन्। यी खेलाडीलाई प्रतिस्थापन गर्ने पछिल्लो समयका युवा पुस्ताले क्षणिक प्रदर्शनमा सीमित भएका छन् । २०२४ को यू-१९ ब्याच देव खनालको कप्तानीमा रहेको हेमन्त धामी, आकाश चन्द जस्ता खेलाडीहरूले यू–१९ बाट राष्ट्रिय टिममा डेब्यू गरे। ब्याटरमा देव खनाल आफै पनि स्ट्रगल(संघर्ष) गरिरहन्छन्। गुल्सन झा एक यस्ता सदस्य हुन् जसले यू–१९ भन्दा पनि धेरै सिनियर टिममा खेलेर पहिचान बनाए। यू–१९ मा २०२४ को ब्याचले पनि अफगानिस्तानलाई १ विकेटले हराएर सनसनी मच्चाएको थियो। यो ब्याचले अफगानिस्तानलाई हराउँदै सुपरसिक्समा स्थान बनाएको थियो। तर सुपरसिक्समा तीन खेल हार्दै यो टोली नेपाल फर्कियो। उमेर समूहमा नेपालले पाएको केही यस्ता नामहरू भने पक्कै छन् । जसले राष्ट्रिय टोलीमा ढोका ढक्ढकाउने र लामो समयसम्म राष्ट्रिय टिममा सेवा गर्नेछन्। यी नामहरूमा अर्जुन कुमाल, सुवास भण्डारी, हेमन्त धामी विपिनप्रसाद शर्मा, युवराज खत्री, नरेन भट्ट, आकाश चन्द, साहिल पटेल जस्ता खेलाडीहरू छन्। यी खेलाडीहरू मा क्षमता छ। तर क्षमता अनुसारको प्रदर्शन यी खेलाडीले निरन्तर रुपमा दिन सकिरहेका छैनन् । केही खेलाडीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर नै पाएका छैनन्। यी युवा खेलाडीले अवसर कहाँ पाउने र कसरी पाउने भन्ने अर्को प्रश्न हो।
नेपाल क्रिकेट संघ(क्यान)को नयाँ नेतृत्व आएसँगै ‘नेपाल ए’ टिमको पनि निर्माण भएको थियो । नेपाल राष्ट्रिय क्रिकेटले पाउने आशा बढेको थियो । तर पछिल्लो समय ‘नेपाल ए’ भन्ने अवधारणा नै छाँयामा हराइरहेको छ। नेपाली राष्ट्रिय टिम २५ देखि २८ जना खेलाडीहरूको बीचमा रुमल्लिएको छ। यिनै खेलाडीहरूबाट भित्र र बाहिर गर्दै टिम पूरा गर्दै राष्ट्रिय टिम चलिरहेको छ। धेरै परिवर्तनहरू राष्ट्रिय टिममा अहिले गर्ने अवस्था पक्कै छैन । तर उमेर समूह घरेलु प्रतियोगिताहरूबाट उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टिम तथा केन्द्रीय प्रशिक्षणमा अवसर नपाएका युवा खेलाडीहरूमा नैराश्यता पनि बढ्न थालेको छ।
नेपाल प्रिमियर लिग भर्खरै सक्यो केही युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन पनि गरे। तर युवा खेलाडीहरु मध्ये एकजना खेलाडीले भने, ‘अब म दुई वर्ष क्रिकेट खेल्छु। त्यसपछि खेल्दिन। धेरै खेलेर कहाँ प्रदर्शन गर्नु कहिल्यै राष्ट्रिय टिममा अवसर पाउने होइन न त केन्द्रीय कन्ट्रक्टमा नै अटाइन्छ।’ यी खेलाडी नेपालको लागि राम्रो भविष्य बोकेका खेलाडी हुन्। नेपाल प्रिमियर लिग (एनपीएल)मा अवसर पाउँदा उनले राम्रो प्रदर्शन गरेका थिए। यिनको नाममा नेपाल प्रिमियर लिगको एक चर्चित इतिहास रहनेछ। क्षमता भएर पनि अवसर नपाउँदा युवा खेलाडीमा नैराश्यता बढेको छ। यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ‘नेपाल ए’ भन्ने अवधारणा पुनः सक्रिय रूपमा सुचारु गर्न सके र जति सक्दो युवा खेलाडीलाई अवसर दिएको खण्डमा यी खेलाडीको नैरास्यता मेटिन सक्छ। केही राम्रो अवसर खोजिरहेका युवा खेलाडीको प्यास पनि मेटिन सक्छ।
बढ्दो एक्सपोजरबीच घट्दो नतिजा
नेपाली क्रिकेटमा हाल पहिलाको भन्दा धेरै प्रतियोगिताहरू हुन्छन्। जसको फाइदा हालको युवा पुस्ताले राम्रोसँग उठाइरहेको छ। घरेलु प्रतियोगिताहरू बढी हुँदा युवा पुस्ताले धेरै अवसरहरु पाइरहेका छन्। यही अवसरहरूको माध्यमबाट नेपाली क्रिकेटले नयाँ पिढीको खोजी गरिरहेको हुन्छ । नयाँ पुस्ता र आउँदो धरोहरलाई बलियो बनाउने माध्यम हो, उमेर समूहको प्रतियोगिता। विगतको छविलाई हेर्ने हो भने हालको पुस्ताले धेरै अवसरहरू पाइरहेको छ। अवसर र एक्स्पोजरहरू पाइरहँदा पनि नेपाली युवा पुस्ताले पुरानो पुस्ताको छवि पछ्याउन नसकेको पो हो कि भन्ने प्रश्नहरू उठ्छन्।
नेपाली क्रिकेटले धेरै युवा खेलाडीहरु पायो । केही युवा खेलाडीहरु पलायन भए, भने केही युवा खेलाडीहरु राष्ट्रिय टिममा आउने तर प्रदर्शन मा निरन्तरता नहुँदा राष्ट्रिय टिममा टिकिरहन गाह्रो हुने समस्या भइरहेको छ। खेलाडीहरूले उमेर समूहमा देखाएको प्रदर्शन सिनियर टोलीमा आउँदा निरन्तर दिन नसक्दा उनीहरूको युवा काँधले राष्ट्रिय टिमको जिम्मेवारीे सम्हाल्न सकिरहेको छैन। सोमपाल कामी, करण केसी जस्ता खेलाडीहरु अब प्रतिस्थापन चाहन्छन्। तर उनीहरूको उपयुक्त विकल्प अझै राष्ट्रिय टिमले पाएको छैन। नन्दन यादवले केही सम्भावना देखाइरहेका छन्। आकाश चन्द, हेमन्त धामी पनि यो प्रतिस्पर्धामा छन् तर उनीहरूले प्रदर्शनमा दिन नसकेको निरन्तरताको कारण सोमपाल कामी र करण केसीको विकल्प अझै राष्ट्रिय टिमले पाइसकेको छैन। अभिनाश बोहरा राष्ट्रिय टिमको लागि योर्कर किङ र डेथ ओभर स्पेसलिस्टको रुपमा रहेका थिए। तर उनको पनि पछिल्लो समय राष्ट्रिय टिममा इन एण्ड आउटको अवस्था रहेको छ।
ललित राजबंशी र सन्दीप लामिछानेको विकल्प अझै पनि नेपाली स्पिन जगतले पाएको छैन। बसन्त रेग्मी र शक्ति गौचन पछिको यो जोडी हाल नेपाली क्रिकेटको जमेको स्पिन जोडी हो। यसमा साहब आलम पनि थपिएका नाम हुन्।
ब्याटिङतर्फ कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, भीम सार्की र आरिफ शेख जस्ता खेलाडीको नाम आउँछन्। यी खेलाडीहरूको प्रतिस्थापन कहिले र कसरी हुने अझै पनि राष्ट्रिय टिमले यसको उत्तर पाएको छैन। एकदिवसीय क्रिकेटमा राम्रो सम्भावना देखाएका गण्डकी प्रदेशका ओपनर ब्याटर अर्जुन कुमारले अझै पनि राष्ट्रिय टिममा अवसर पाएका छैनन्। ‘नेपाल ए’ टिमसम्म उनले आफ्नो प्रदर्शन देखाइसकेका छन्। नेपालले उमेर समूहबाट पाएको एक राम्रो क्षमताका खेलाडी हुन् अर्जुन कुमाल। एकदिवसीय क्रिकेटमा चाहिने एकाग्रता र धैर्यता सहित एकतर्फबाट इनिङलाई सम्हाल्दै ब्याटिङ गर्ने क्षमता अर्जुन कुमालसँग छ। तर टी२० क्रिकेटमा अझै पनि कुशल, आसिफ, रोहित दिपेन्द्रको विकल्प राष्ट्रिय टिममा छैन। अझ सरल शैलीमा भन्दा यी खेलाडीलाई चुनौती दिने यसवा पुस्ता अझै आएका छैनन्। नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल आफैं युवा कप्तान हुन्। उनले लामो समय नेपाली क्रिकेटलाई डोर्याउने क्षमता राख्छन्। अहिले नै यो पुस्ताको पुस्तान्तरण भन्दा पनि यी टोलीलाई चुनौती दिने खेलाडीको खाँचो छ।
राष्ट्रिय टिमको ढोका ढक्ढकाउन उमेर समूहमा खेलाडीले प्रदर्शन देखाउनुपर्छ। यस त नेपालको घरेलु प्रतियोगिताहरूमा खेलाडी चम्किन सकेको अवस्थामा राष्ट्रिय टिममा अवसर बनाउने हुन्। तर यी दुवै तर्फ नेपालका युवा खेलाडीले पाएको अवसर तर उत्तिकै कमजोर प्रदर्शन र नतिजा रहेको छ।
बढ्दो एक्स्पोजर, आधुनिक प्रविधिको सिकाइ प्रशिक्षणमा पनि युवा खेलाडीले दिन नसकेको निरन्तरको प्रदर्शन र घट्दो नतिजाले नेपाली युवा खेलाडी र नेपालको राष्ट्रिय टिमको ‘बेन्च स्ट्रेन्थ’ कमजोर पो बन्ने हो कि भन्नेमा आशंका उत्पन्न भएको छ। एक्स्पोजर र प्रतियोगिताहरू बढी हुँदा पनि उमेर समूहबाट राष्ट्रिय टिममा स्थायी स्थान बनाउने खेलाडीको सङ्ख्या सीमित छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्छन् तर ती खेलाडीहरू निरन्तर टिममा देखिँदैन।
प्रतिक्रिया दिनुहोस !