अन्ततः महिला क्रिकेट टोलीले पायो विदेशी प्रशिक्षक, खुल्ला विश्वकपको ढोका?
काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पहिलोपटक अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा खेल्ने मौका पाएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले गत हप्ता नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका लागि भारतीय प्रशिक्षक हर्षल जयन्त पाठक लाई नियुक्त गरेको हो।
आइतबार उनी नयाँ जिम्मेवारीका लागि नेपाल आइपुगेका छन्। यसअघि थाइल्याण्डको सफल प्रशिक्षकको रूपमा छबि बनाइसकेका हर्षलका लागि नेपाली महिला क्रिकेट टिम अर्को नयाँ चुनौती हो। सन् २०१८ मा थाइल्याण्डको प्रमुख प्रशिक्षकको रूपमा नियुक्त भएर पाठकले थाइल्याण्डलाई एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराई पहिलोपटक सन् २०२० मा महिला टी-२० विश्वकपमा पुर्याएका थिए।
उनी अहिले नेपालका लागि त्यस्तै एउटा घडीमा प्रशिक्षकको रूपमा भित्रिएका छन्। नेपालले अर्को महिनाबाट नेपालमा नै सुरु हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाललाई छनोट गराई पहिलो पटक विश्वकप खेलाउने लक्ष्यसहित नेपाल क्रिकेट संघले उनलाई प्रमुख प्रशिक्षकको रूपमा भित्राएको हो।
मंगलबार नेपाल क्रिकेट संघले उनलाई औपचारिकरूपमा पत्रकारसँग भेटघाट गरायो। उनले नेपाली महिला क्रिकेट टिमको सम्भावना र चुनौतीबारे आफू जानकार रहेको बताए। ‘मैले नेपालको महिला क्रिकेटलाई पछ्याइरहेको छु, उनीहरूको शक्ति र सीमितता दुवैबारे जानकार छु,' उनले भने।
भारतको क्रिकेट संस्कृतिबाट थाइल्याण्डमा पुगेर राम्रो छबि बनाएका हर्षलले नेपाली महिला क्रिकेटमा के कस्तो परिवर्तन ल्याउन चाहन्छन् भन्ने प्रश्नमा उनले भने, ‘हामी जुनियर खेलाडीहरूलाई खेलको प्राविधिक पक्षहरू राम्रोसँग सिकाउनेछौं। भविष्यमा उनीहरूले सिनियर टोलीमा आधारभूत कुरामै समय खर्चन नपरोस्।’
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका लागि यसअघि पनि भारतबाट देवीका पाल्शिकर र मनिष कुमार झाजस्ता सहायक प्रशिक्षकहरूले काम गरिसकेका छन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा जगत टमटा, सामसंग जंग थापा, विनोद दास तथा मनोज कटुवालजस्ता प्रशिक्षकहरूले जिम्मेवारी सम्हालिसकेका छन्।
सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिनिधित्व गरेर खेलेको नेपाली महिला राष्ट्रिय टिमले हालसम्म विश्वकप खेल्न सकेको छैन। यता राष्ट्रिय पुरुष टिमले लगातार दोस्रो पटक टी-२० विश्वकपमा छनोट भएको छ। नेपाली पुरुष टिमले तेस्रोपटक टी-टन्टी विश्वकपमा आफ्नो प्रतिस्पर्धा दिँदैछ। नेपाली महिला क्रिकेट टिम पनि टी-२० विश्वकपमा आफ्नो डेब्यु गर्न चाहन्छ। यसैको लागि नेपाल क्रिकेट संघले हर्षललाई जिम्मेवारी सुम्पिएको हो। एशोसियट राष्ट्रको महिला क्रिकेटमा काम गरिसकेका हर्षलले आफ्नो अनुभवले नेपाली महिला क्रिकेट टिमलाई उकास्ने अपेक्षा क्यानले लिएको छ।
नेपाली क्रिकेटको सुरुवाती चरणमा नेपाली महिला क्रिकेट टिमले पुरुषले भन्दा पहिले विश्वकप खेल्छ भन्ने सम्भावना बोकेको टिम थियो। तर, समयसँगै पुरुष टिमको फड्कोसँगै महिला टिम भने छायाँमा पर्यो। यसैको उत्थानका लागि नेपाली महिला क्रिकेट खेलाडीहरूले पनि बारम्बार आफूहरूलाई विदेशी प्रशिक्षक चाहिएको भन्ने माग गरिरहेका थिए। जसको फलस्वरूप नेपाल क्रिकेट संघले हर्षल पाठकलाई पहिलो पटक नेपाली महिला क्रिकेट टिमको जिम्मेवारी दिन लागेको हो।
मंगलबार नेपाल क्रिकेट संघको कार्यालय मूलपानीमा हर्षल पाठकलाई सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिने क्रममा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद कुमार दासले हर्षललाई सिनियर महिला टोलीको प्रशिक्षकको रूपमा मात्रै नभएर समग्र महिला क्रिकेटको जिम्मेवारी दिएको बताएका थिए। ‘हर्षललाई सिनियर टोलीको मुख्य प्रशिक्षकमात्र होइन, समग्र महिला क्रिकेटको जिम्मेवारी दिएको हो,' उनले भने।
दासका अनुसार क्यानले देशमा महिला क्रिकेटलाई पुनरसंरचना गर्ने योजनासहित हर्षललाई भित्र्याएको हो। दासले भने, ‘नेपाली महिला क्रिकेटको पुनरसंरचनाको लागि हर्षल नेपाल आएका हुन्। यसको नेतृत्व उनले गर्नेछन्।’ क्यानले हर्षल पाठकसँग आगामी दुई वर्षको लागि सम्झौता गरेको छ।
नेपाली क्रिकेटप्रति समर्थकको मायालाई हर्षले खुलेर व्यक्त गरे। ‘क्रिके प्रतिको उनीहरूको गहिरो लगावका कारण म नेपाल क्रिकेटसँग जोडिन चाहन्थें,' उनल भने। पहिलोपटक विदेशी प्रशिक्षकको रूपमा नेपाल आएका हर्षलको पहिलो चुनौतीको रूपमा आगामी जनवरी १८ बाट घरेलु मैदानमै हुने टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाली सिनियर टोलीलाई विश्वकप छनोट गराउने हुनेछ।
यस प्रतियोगितामा नेपालसहित १० टोलीले भाग लिँदैछन्। नेपाल समूह बीमा छ। यो प्रतियोगिता नेपालका दुई अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैदान माथिल्लो मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा हुनेछ।
यो प्रतियोगिता जित्दै विश्वकपमा छनोट हुने सम्भावना प्रबल रहेको प्रमुख प्रशिक्षक हर्षलले बताए। ‘हामी टी-२० विश्वकपमा छनौट हुने राम्रो सम्भावना छ,’ उनले भने। सन् २०२० मा थाइल्याण्डलाई विश्वकपमा पुर्याएका प्रशिक्षक हर्षलको यो भनाइले नेपाली क्रिकेट समर्थकमाझ नेपाली महिला क्रिकेट टोलीको लागि महत्त्वकांक्षा बढाउने स्टेटमेन्ट (भनाइ) पनि हुन सक्छ। यसको सम्भावना प्रबल रहेको कारण खुलाउँदै पाठक भन्छन्, ‘हामी घरेलु मैदानमा खेल्दैछौं, घरेलु मैदानमा हामीलाई ठूलो समर्थन हुनेछ। प्रतिद्वन्दीहरू पनि नयाँ टोली छैनन्। नेपालले यो पटक ग्लोबल क्वालिफायर पार गर्न सकेको खण्डमा पहिलोपटक विश्वकप खेल्नेछ। यो नेपाली महिला क्रिकेट खेलाडीहरूले वर्षौंदेखि देखेको सपना हो।
नेपाली महिला क्रिकेट टोलीको लागि यो राम्रो सम्भावना रहेपनि यसमा छनोट हुन नसकेमा पनि अरु विकल्पहरू पर्याप्त रहने हर्षले बताए। ‘ग्लोबल क्वालिफायर हामी जित्न चाहन्छौं। तर, जित्न नसके पनि यही संसार समाप्त भने हुँदैन,’ उनले भने। यो प्रतियोगिताबाटै आफ्नो लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमसँग डेब्यु गर्ने हर्षलले यस प्रतियोगिता पछि पनि अझ राम्रो हुन सक्ने उनले बताए।
ग्लोबल क्वालिफायर पार गर्न सकेको खण्डमा २०२६ मा इङ्ग्ल्यान्ड र वेल्समा जुन १२ देखि जुलाई ५ सम्म संयुक्त रूपमा आयोजना गर्ने महिला टी-२० विश्वकप मा स्थान बनाउनेछ।
को हुन् हर्षल पाठक?
भारतको पूणेमा जन्मिएका हर्षले सन् २०१४ मा पहिलोपटक रणजी ट्रफीमा महाराष्ट्रको पुरुष टोलीमा सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए। त्यसपछि सन् २०१५ यता उनले करिब दुई वर्षसम्म भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेकी हर्मनप्रित कौरको ब्याटिङ प्रशिक्षकको रूपमा काम गरे। उनको प्रशिक्षणले हर्मनको ब्याटिङ क्षमता सुधारिएको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख गरिएको पाइन्छ। त्यसपछि सन् २०१८ मा उनी थाइल्याण्डको राष्ट्रिय महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा नियुक्त भएका थिए। थाइल्यान्डको महिला क्रिकेट टोलीलाई सकरात्मक नतिजा दिन सफल भएपछि उनीमाथि क्यानको नजर पर्यो।
प्रतिक्रिया दिनुहोस !