तीन वर्षपछि मैदानमा फर्किँदै नेपालको घरेलु फुटबल, कुन टिमको तयारी कस्तो?

तीन वर्षपछि मैदानमा फर्किँदै नेपालको घरेलु फुटबल, कुन टिमको तयारी कस्तो?
फाइल तस्बिर

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले करिब ३ वर्षपछि मैदानमा फुटबल फर्काउने भएको छ । एन्फाले राष्ट्रिय लिग २०८२ गर्दै गत तीन वर्ष यता बन्द जस्तै रहेको घरेलु फुटबलको माहोललाई नेपाली दर्शक सामु पस्कने जमर्को गर्न लागेको हो।

खेलाडीहरूको लगातारको विरोध र सञ्चारमाध्यम तथा बाह्य पक्षको लगातारको दबाव पश्चात् एन्फाले राष्ट्रिय लिग घोषणा गरेको हो। राष्ट्रिय लिगका खेलहरू पनि माघ २८ गते यताका खेलहरू मात्रै तय गरिएको छ। त्यसपछिको तालिका भने निर्धारण गरिएको छैन। त्यसपछिको तालिका अन्योलमा राखिएको छ।

ए डिभिजन क्लबका १२ टोली र अन्य पाँच टोली गरी १७ वटा टोलीले राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन्। १७ वटा टिमहरूले तीन महिनाको अवधिमा १३७ खेलहरू खेल्नेछन्। एक टोलीले १६ वटा खेल खेल्नेछन्। पुस ३० गते (बुधबार)बाट यो लिग सुरु हुँदैछ।

राष्ट्रिय लिगको तयारीबारे १७ वटा क्लबहरूलाई एन्फाले प्रिम्याच प्रेस कन्फ्रेन्समा बोलाएको थियो । जसमा १५ वटा क्लबका कप्तान र प्रशिक्षकले आफ्नो टिमको तयारी बारे र राष्ट्रिय लिगको बारे बोलेका थिए। जसमा राष्ट्रिय लिगको तयारी राम्रो सँग गर्यौ भन्ने २ वटा विभागीय टोली आर्मी र पुलिस मात्रै रहे। यी २ टोली बाहेक प्रायले हतारमा टोली बनाएर लिग खेल्ने जमर्कोमा छन्। एन्फाले राष्ट्रिय लिगलाई ए डिभिजनको प्रतिस्थापन भन्न भ्याउँदा टिमहरुले भने यसलाई एक प्रतियोगिताको तवरले लिएको पाइयो। श्री भगवती क्लबका कप्तान अशोक खवासले प्रि म्याच प्रेस कन्फ्रेन्समै भने, ‘हामीले लिगको जस्तो तयारी गरेका छैनौं यसलाई प्रतियोगिताको रुपमा लिएका छौं।’ यसको अर्थ हो, छोटो तयारी।

राष्ट्रिय लिगले नेपाली फुटबलको माहोललाई पुनर्जीवित गर्ने राष्ट्रिय टिमको खेलाडी बताउँछन्। राष्ट्रिय लिगले गर्दा खेलाडीमा नयाँ उत्साह थपिएको खेलाडीहरुले बताउँछन्। यो लिगलाई प्रि सिजन जसरी खेल्ने क्लबहरुको भनाइ अनुसार खेलाडीहरु भने अझै ए डिभिजन लिगको पर्खाइमा रहेको फुटबल खेलाडी संघका समेत सदस्य रहेका विशाल श्रेष्ठले राष्ट्रिय लिगको लागि गरिएको प्रि म्याच प्रेस कन्फ्रेन्समा बताएका थिए। विशालले भने ।

खेलाडी संघले लिग हुनुपर्ने माग राख्दै एन्फा अगाडी धर्ना दिएको थियो। जसमा खेलाडीले घरेलु फुटबल चलायमान हुनुपर्ने माग राखेका थिए। ‘हामीले ए डिभिजन लिग हुनुपर्छ भन्ने माग राखेका थियौं। त्यसमा क्लबहरुले राष्ट्रिय लिगलाई प्रिसिजन लिग जसरी खेल्ने भनेर हामी राष्ट्रिय लिगका लागि तयार भएका हौं। एन्फाले हामीलाई ए डिभिजन पनि गर्ने भन्नु भएको छ। हामी आशावादी छौं।’

राष्ट्रिय टिमका मिडफिल्डर तथा चर्च ब्वाइज युनाइटेडका कप्तान एरिक विष्ट भन्छन्, ‘खेलाडीले खेल्ने वातावरण सिर्जना भएको छ। आगामी दिनमा अझै यस्तो अवसर बनाइदिइरहनु हुन अनुरोध गदर्छु।’ यसमा क्रितिश रत्न छुन्जु र टिकेन्द्र थापाले पनि खुसी व्यक्त गरे। यसले खेलाडीहरुलाई खेल्ने वातावरण मिलेको उनीहरुले बताए।

कुन टिमको तयारी कस्तो?
मच्छिन्द्र क्लब

प्रशिक्षक प्रवेश कटुवाल को प्रशिक्षणमा रहेको मछिन्द्र क्लबले राष्ट्रिय लेखको लागि लामो समय प्रशिक्षण गर्न पाएन। एक हप्ताको प्रशिक्षण सहित युवा र अनुभवी खेलाडीहरूको समिश्रणमा मछिन्द्र क्लबले राष्ट्रिय लिगको तयारी गरेको छ। प्रशिक्षक प्रवेश कटुवालले भने,‘राष्ट्रिय लिगको लागि हाम्रो तयारी सन्तोषजनक छैन। हामीले अनुबन्ध गर्नु अगाडि नै केही खेलाडीहरु गोल्डकप खेल्न बाहिर गएको हुनाले हामीले राम्रो तयारी गर्न पाएनौ।’ विगतमा जुन प्रकारको छवि मछिन्द्र क्लबले बनाएको थियो त्यो हिसाबको तयारी भने नरहेको प्रशिक्षक कटुवालले खेल अघिको पत्रकार सम्मेलनमा बताए उनले भने हाम्रो तयारी राम्रो नभए पनि खेलिरहेका खेलाडीहरु छन् त्यस कारण हामी उपाधिका लागि नै मैदानमा उत्रनेछौँ।’

मच्छिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठले एक हप्ताको तयारी भएपनि आफूहरू उपाधिको लागि नै मैदानमा उत्रने बताए।‘खेलाडीहरूको फिटनेसमा केही समस्या देखिरहेको छ। हाम्रो टिम युवा र अनुभवी खेलाडीहरूको समिश्रण रहेको छ।’विशालले प्रीम्याच प्रेस कन्फ्रेन्समा बताए। ३ जना विदेशी खेलाडीको साथमा मछिन्द्र क्लब उपाधीका लागि मैदानमा उत्रनेछ। जसमा मछिन्द्रले २ जना जापनीज र १ जना अफ्रिकन खेलाडी अनुबन्ध गरेको छ।
 
न्युरोड क्लब (एनआरटी)

एनआरटी क्लब पनि आफूलाई उपाधी दाबेदारको रुपमा प्रस्तुत गदर्छ । प्रि म्याच प्रेस कन्फ्रेन्समा एनआरटीका कप्तान जीवन सिन्केमाना भन्छन्, ‘हामीले यो प्रतियोगिताको लागि भनेर केही अगाडी नै प्रशिक्षण सुरु गरेका थियौं। तर केही खेलाडीहरु मोफसलको प्रतियोगिता खेल्न गएका कारण धेरै एकै ठाउँमा भएर प्रशिक्षण गर्न पाएका छैनौं।’ उनका अनुसार एनआरटीले राष्ट्रिय लिगको तयारी केही अगाडी नै सुरु गरेपनि मैदानको समस्याका लागि प्रशिक्षणमा समस्या भइरहेको बताए। ‘ प्रशिक्षण केही अगाडी नै सुरु गरे पनि मैदानको समस्या भइरह्यो।’ तयारी मध्यम रहे पनि उनले आफूहरु उपाधीको लागि खेलेको बताए।

एनआरटी टिमका कप्तान क्रितिशरत्न छुन्जु भन्छन्, ‘हाम्रो तयारी छोटो भएपनि, क्वालिटी ट्रेनिङ गरेका छौं ।’ लामो समयपछि घरेलु फुटबलमा फर्किदा खुसी लागेको क्रितिशले बताए। ‘यो युवा खेलाडीहरुको लागि अनुभव र एक्सपोजर दुवै हिसाबले निकै महत्वपूर्ण हुनेछ।’

फ्रेन्ड्स क्लब

युवा खेलाडीहरुको अनुबन्धतासहित फ्रेन्ड्स क्लब राष्ट्रिय लिग २०८२ को लागि तयार रहेको छ। टिमको तयारीको बारेमा बोल्दै फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले भने, ‘हाम्रो तयारी राम्रो भएको छ। हामी भोली हुने उद्घाटन खेलमा हामीले राम्रो खेल्नेछौं भन्ने आशा छ।’ युवा खेलाडीहरुलाई समेटेर टिमले मेहनत गरेको प्रशिक्षक महर्जनले बताए। ‘ मैले धेरै युवा खेलाडीलाई मौका दिएको छु।’

कप्तान रुपेश केसीले आफ्नो टिममा कुनैपनि विदेशी खेलाडी नरहेको बताए। ‘ हाम्रो टिममा कुनैपनि विदेशी खेलाडी छैनन्। हामीले नेपाली युवा खेलाडीहरुलाई मौका दिएका छौं।’ विदेशी खेलाडी नरहेपनि स्वदेशी खेलाडी प्रायः सँगै खेलिरहेका खेलाडी हुँदा फ्रेन्ड्स क्लब शिर्ष ६ मा पर्ने लक्ष्य सहित मैदानमा उत्रर्ने तयारीमा रहेको छ।

 
चर्च ब्वाइज युनाइटेड
चर्च ब्वाइज युनाइटेड आफ्नो बलियो तयारीसहित उपाधी दाबेदारीमा मैदान उत्रर्ने टिमका सहायक प्रशिक्षक रमेश दंगालले बताए। उनले प्रि म्याच प्रेस कन्फ्रेन्समा टिमको तयारीबारे बोलेका थिए। ‘हाम्रो टिमको तयारी राम्रो भएको छ। हामी उपाधीको लागि खेल्नेछौं,’ उनले छोटकारीमा भने। 
कप्तान एरिक विष्टपनि टिमको तयारी राम्रो भएको बताए। उनले भने, ‘हाम्रो टिममा ३ जना विदेशीको साथमा राष्ट्रिय टिमका खेलाडीलाई युवा खेलाडीको साथ रहेको छ।’ छोटो समयको तयारी भए पनि टिम तयार रहेको उनले बताए।

टिमको प्रमुख प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन्। टिम पछिल्लो ए डिभिजन क्लबको साविक विजेता हो। चर्च ब्वाइज भने एएफसी च्याम्पियनसिपकै लागि तयार भइरहेको सहायक प्रशिक्षक रमेश दंगालले बताए। ‘हाम्रो लक्ष्य एएफसी खेल्ने नै हो। त्यहि तरिकाले तयारी गरिरहेका छौं।’ सबै टिमसँगै भएर १ हप्ता मात्रै तयारी गरेको छ।

श्री भगवती क्लब
सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको श्री भगवती क्लब राष्ट्रिय लिगलाई लिगभन्दा पनि प्रतियोगिताको रुपमा तयारी गरिरहेको थियो। २ जना विदेशी खेलाडी र राष्ट्रिय टिमका अनुभवी र नयाँ खेलाडीको समीश्रणमा श्री भगवती क्लब राष्ट्रिय लिगको लागि तयार रहेको टिमका सहायक प्रशिक्षक धनेश्वर प्रजापतिले बताए। ‘हामीसँग अनुभवी खेलाडीहरु छन्। विदेशी खेलाडी पनि १÷२ जना हुनुहुन्छ। नयाँ खेलाडीहरु पनि हुनुहुन्छ। पहिलो खेलमा कस्तो खेल्छौं त्यही अनुसार योजना बनाउनेछौं।’ टिमका कप्तान असोक खवास भन्छन्, ‘तयारी लिग जस्तो भएको छैन। एउटा प्रतियोगिता जस्तो भइरहेको छ। हरेक खेलाडी राम्रो छन्।’
 
सातदोबाटो युथ क्लब
सातदोबाटो क्लबका प्रशिक्षक बालगोपाल साहुखल भन्छन्,‘तयारी राम्रो भएको छ । लामो समय पछि लिग हुन लागेकाले खेलाडीहरूको फिटनेस पनि पूर्णतय रहेको अवस्था छैन।’ खेलाडीहरु तयार रहेको प्रशिक्षकले बताए। सातदोबाटो युथ क्लबका कप्तान पासाङ लामा भने आफ्नो टिममा अनुभवी र युवा खेलाडीको संयोजन रहेकाले टिम उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रने बताए।‘हाम्रो टिममा युवा खेलाडी र अनुभवी खेलाडीहरूको संयोजन रहेको छ। त्यसैले हाम्रो लक्ष्य उपाधि जित्ने हो।’ सातदोबाटोमा हाल १ जना विदेशी खेलाडी रहेका छन्।‌

संकटा क्लब
संकटा क्लबका प्रमुख प्रशिक्षक रविन्द्र शिलाकार भन्छन्, ‘ हामीसँग एकेडेमी भएका कारण हामीले प्राय एकेडेमीकै युवा खेलाडीहरूलाई यस लिगमा एक्स्पोजर दिने लक्ष्य लिएका छौं। ’ प्रशिक्षक शिलाकार भन्छन्,’हामी राम्रो फुटबल प्रदर्शन गर्न चाहन्छौँ।’ कप्तान टिकेन्द्र थापा पनि युवा खेलाडीहरू सहित टिम राम्रो रहेको बताउँछन्।‘युवा खेलाडीहरूले राम्रो गरिरहेका छन्। यस्तो लिग खेल्दा खेलाडीहरूलाई फाइदा हुन्छ।’ एक हप्ताको तयारीमा खेल्न लागेको भए पनि टिम खेल्नको लागि तयार रहेको कप्तान टिकेन्द्रले बताए।

 जावलाखेल युथ क्लब
जावलाखेल युथ क्लबका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठले राष्ट्रिय लिगको तयारी स्वरूप टिमले तीनदेखि चारवटा अभ्यास खेलिसकेको बताए। ‘हामीले अभ्यास खेल खेलिसकेको हुँदा खेलाडी छनोट र टिम बनाउन सहज हुनेछ।’  कप्तान युनेस चौधरी युवा खेलाडी रहेर पनि उत्कृष्ट टिमहरूलाई चुनौती दिन तयार रहेको बताए। ‘हाम्रो टिममा प्राय युवा खेलाडीहरू रहेका छन् तर हामी जस्तोसुकै बलियो टिमलाई पनि चुनौती दिन तयार रहेका छौं।’

यस टिममा तीन जना विदेशी खेलाडी रहनेछन्। साथै जाउलाखेल युथ क्लबले आफ्नो अकाडेमीमा रहेका युवा खेलाडीहरूलाई नै बढी प्राथमिकता दिएर खेलमा एक्स्पोजर दिने प्रशिक्षक श्रेष्ठले बताए। ‘एकेडेमीमा रहेका खेलाडीहरूलाई नै एक्स्पोजर दिने छु । यसको लागि कुन खेलाडीले कुन खेलमा अवसर पाउने भन्ने पछि निर्धारण हुनेछ।’

चित्लाङ एफसी 
चित्लाङ एफसीका प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री आफूहरू राष्ट्रिय लिगमा नयाँ टिम रहे पनि आफ्नो टिमले राम्रो फुटबल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउँछन्। ‘हामीहरूले राष्ट्रिय लिगमा नयाँ हौँ तर हामी राम्रो फुटबल प्रदर्शन गर्नेमा मलाई विश्वास छ।’ कप्तान सकल रेग्मीले पनि टिम सन्तुलित रहेको र ए डिभिजन खेलेको खेलाडीहरु पनि रहेकाले अन्य टिमहरूलाई चुनौती दिन चित्लाङ एफसी तयार रहेको बताए।‘हाम्रो टिममा ए डिभिजन खेलेको खेलाडी र नयाँ खेलाडीहरू पनि छन्। राम्रो खेल खेलेर अन्य टिमहरूलाई चुनौती दिने लक्ष्य रहेको छ। जित र हार भन्दा पनि राम्रो फुटबल देखाउने लक्ष्य रहेको छ।’

त्रिभुवन आर्मी क्लब
राष्ट्रिय लिग २०८२ को लागि त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षक जितेन्द्र कार्कीले टिमले डेढ महिना लामो तयारी गरेको बताए।‘राष्ट्रिय लिगको लागि हामीले डेढ महिना लामो तयारी गरेका छौं त्यसमा हामीसँग भएका पुराना खेलाडीहरू प्राय विदेशिएका कारण नयाँ युवा खेलाडीलाई अवसर दिएका छौं।’ युवा खेलाडी र नयाँ प्रशिक्षकसहित त्रिभुवन आर्मी क्लब राम्रो नतिजाको अपेक्षामा राष्ट्रिय लिग खेल्दैछ। आर्मीका कप्तान जर्ज प्रिन्स कार्कीले नयाँ खेलाडीसँग निरन्तर प्रशिक्षण भइरहँदा टिम सेट भइसकेको बताए। ‘हामीसँग नयाँ खेलाडीहरू धेरै छन् तर नयाँ खेलाडीहरूसँग निरन्तर प्रशिक्षण गरिरहँदा टिम सेट भइसकेको छ। राष्ट्रिय लिगमा राम्रो नतिजा आउनेमा हामी आशावादी रहेका छौं।’

मनाङ मर्स्याङ्दी क्लब
मनाङ मस्र्याङ्दी क्लबका प्रमुख प्रशिक्षक शैलेश कर्मचार्यले तयारी छोटो रहेको बताए। टिमले १ हप्ता मात्रै प्रशिक्षण गरेको मनाङ मस्र्याङ्दीका प्रशिक्षक कर्मचार्यले बताए। ‘हाम्रो टिममा युवा खेलाडीहरु रहेका छन्। टिममा ३ जना विदेशी खेलाडी छन्। हाम्रो टिममा सी र बी डिभिजनका खेलाडीहरु ल्याए आएका छौं । उनीहरुको साथमा हामी राष्ट्रिय लिग खेल्नेछौं।’

कप्तान राज गुरुङले समयको अभावले तयारी प्रभावित रहेको बताए।‘हामीले छोटो समय तयारी गरेका छौं तर हामी प्रतिस्पर्धा गर्न तयार छौं।’ ‘समयको कमीका कारण छोटो तयारीका साथ नयाँ अनुभव सहित लिग खेल्न लागिरहेका छौं।’ कप्तान गुरुङले भने।

प्लानिङ ब्वाइज युनाइटेड
प्लानिङ ब्वाइज युनाइटेडका सहायक प्रशिक्षक गणेश खड्काले तयारी राम्रो भएको बताए युवा खेलाडी धेरै छन्। उनले टिमको तयारी राम्रो रहेको र टिमका लागि विशेषत पाँचवटा खेल निकै महत्त्वपूर्ण रहेको र अहिले नै लक्ष्य निर्धारण गरि नसकेको बताए।  ‘पुलिससँगको पहिलो खेलपछि मात्र हाम्रो लक्ष्य स्पष्ट हुनेछ।’उनले प्रतियोगिता सुरु हुनु अघिको पत्रकार सम्मेलनमा टिमको तयारीको बारेमा बोल्दै यस्तो बताएका थिए।

प्लानिङ ब्वाइज युनाइटेडको प्रमुख प्रशिक्षकको रुपमा सन्जित सिंह रहेका छन्। कप्तान फागुराम थारुले आफू युवा रहेको र आफूसँग धेरै राष्ट्रिय टिम ए डिभिजन क्लब तथा एनएसएल खेलेको अनुभव नभएपनि उत्कृष्ट टिमहरूसँग प्रतिस्पर्धा गर्न आफू र आफ्नो टिम तयार रहेको बताए। ‘हाम्रो लक्ष्य च्याम्पियन हुने नै हो।’ भर्खरै भएको बी डिभिजन क्लबबाट बढुवा भएको प्लानिङ ब्वाइजको आत्मविश्वास बलियो रहेको छ। 

नेपाल पुलिस क्लब
विभागीय क्लब नेपाल पुलिस क्लब पनि एक राष्ट्रिय लिगको लागि तयार रहेको छ। नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरेले वर्षभरि तयारी गरिरहेकाले यस लिगका लागि तयार रहेको बताए।‘दुई वर्षपछि लिग हुँदा सबैजना उत्साहित छौं। खेलाडी मात्रै नभएर कोच फ्यान रेफ्रीहरूको लागि पनि नयाँ उत्साह थपिएको छ।’ खेलाडी विदेशिने क्रम नरोकिँदा यसको प्रभाव नेपाल पुलिस क्लबमा पनि परेको थियो। जसका कारण नेपाल पुलिस क्लबले उमेर समूहबाट खेलाडी चयन गरेर टिम बनाएको प्रमुख प्रशिक्षक चेतन घिमिरेले बताए। ‘हामीले उमेर समूहका खेलाडीलाई लिएर राम्रो टिम बनाएका छौं।।’ कप्तान राम वाजीले पनि टिम सन्तुलित रहेको बताए।‘नियमित प्रशिक्षणका कारण टिम राम्रो बनेको छ हामीले युवा खेलाडीलाई लिएर उपाधि जित्ने लक्ष्य सहित टिम राम्रो बनाएका छौं।’

एपीएफ क्लब
राष्ट्रिय लिगका लागि नेपाल एपीएफ क्लबले प्रमुख प्रशिक्षकको जिम्मेवारी राजेन्द्र तामाङलाई दिएको छ। राष्ट्रिय लिगको प्रिम्याच प्रेस कन्फ्रेन्समा बोल्दै राजेन्द्र तामाङ भन्छन् १० वर्षपछि हुन लागेको राष्ट्रिय लिगको लागि एपीएफ क्लबमा रही जिम्मेवारी लिन पाउँदा खुसी लागेको बताउँछन्।‘१० वर्षअघि थ्री स्टारलाई राष्ट्रिय लिगको च्याम्पियन बनाएको थिए। फेरि राष्ट्रिय लिग हुन लागेकोमा खुसी छु। उनले भने। राष्ट्रिय टिमका खेलाडी सहित एपीएफ टिममा नै शीर्ष ४ भित्र अटाउन चाहन्छ।‘तयारीको समय छोटो पाएपनि हाम्रो खेल रणनीति महत्वपूर्ण हुन्छ। लक्ष्य भनेको शीर्ष ४ भित्र पर्ने हो। प्रशिक्षक तामाङले भने। एपीएफ क्लबका कप्तान हरि कार्की टिम सन्तुलित रहेको बताउँछन्।‘टिममा नयाँ खेलाडीका रूपमा अनि क्षेत्री र सन्तोष खत्रीलाई भित्र्याउँदै टिम सन्तुलित बनाएका छौं। समग्रमा टिम राम्रो बनेको छ।’

लालीगुराँस एशोसिएसन
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आएको टिम हो लालीगुराँस एसोसिएसन लालीगुराँस एसोसिएसनको प्रमुख प्रशिक्षकको जिम्मेवारी किरण श्रेष्ठले सम्हालिरहेका छन् प्रशिक्षक किरण श्रेष्ठ भन्छन् ‘राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्न लालीगुराँस सक्षम टिम हो।’ गण्डकी प्रदेशका विशेषत युवा खेलाडीलाई समेटेर टिम राम्रो बनेको उनले बताए।‘हाम्रो टिममा राष्ट्रिय टिमका लागि उमेर समूहबाट खेलिसकेका राम थापा र लक्ष्मण थापा जस्ता खेलाडीहरू रहेका छन्। उनीहरूको साथमा विदेशी खेलाडी पनि हाम्रो टिममा रहेका छन्।’ लालीगुराँसमा तीनजना विदेशी खेलाडी रहेका छन् स्ट्राइकरमा तान्दनियाबाट आएका खेलाडी छन् भने मिडफिल्डमा पनि विदेशी खेलाडी छन्। सेन्ट्रल डिफेन्समा उज्बेकिस्तानका खेलाडी रहेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। टिमको सबैभन्दा चुनौती पूर्ण रहेको पक्ष गोलकिपिङ पक्ष रहेको उनले स्वीकारे। यस टिमको प्रमुख लक्ष्य भनेकै मोफसलका टिमहरू आएर पनि राष्ट्रिय लिगमा प्रतिस्पर्धा दिन सक्छन् भन्ने सन्देश दिनु हो। ‘हाम्रो लक्ष्य भनेकै राष्ट्रिय लिगमा आएर मोफसलको टिमले प्रतिस्पर्धा दिन सक्छ भन्ने सन्देश दिनु हो।’

यो टिमले पोखरामा ३ हप्ताको तयारीसहित लिग खेल्न काठमाडौं आएको हो। प्रि म्याच प्रेस कन्फ्रेन्समा काँक्रेविहार युथ क्लब र नव जनजागृतिका कुनैपनि प्रतिनीधी उपस्थित भएनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.