राखेपको स्विकृति बिना सुरु भएको महिला लिग अन्योलमा
काठमाडौं ः शहीद स्मारक एन्फा महिला लिग–२०८२ अन्योलमा परेको छ । चैत ४ गतेबाट च्यासल मैदानमा सुरु भएको महिला लिग राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्विकृति बिना सञ्चालन भएको हो ।
राखेपका संघ संस्था शाखा प्रमुख चन्द्र राई महिला लिग सञ्चालन गर्न राखेपको प्रक्रिया पूरा नभएको बताउँछन् । उनी भन्छन्, ‘यो लिगका लागि राखेपको नीति नियम पूरा नै भएको छैन ।’ एन्फाले राखेपबाट प्रक्रिया नै पूरा नगरी एन्फा महिला लिग सुरु गरेको थियो । यस विषयमा एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधर भन्छन्, ‘हामी राखेपसँग स्विकृति माग्न गएका थियौं तर उहाँहरुले दिनु भएन ।’
बिहीबार अध्यागमन विभागले विदेशी खेलाडीको भिसाको विषयमा एन्फालाई पत्राचार गरेपछि महिला र पुरुष लिगमा खेलिरहेका विदेशी खेलाडीको विषय उठ्दा महिला लिग भने राखेपको स्विकृति बिना सुरु भएको खुलेको हो । यस विषयमा आफू भने त्यति विज्ञ नभएको एन्फा महासचिव किरण राईले अन्नपूर्ण पोष्टसँग भने । उनले भने, ‘अब महिला लिग पनि स्थगित हुन्छ ।’
राखेप संघ संस्था शाखा प्रमुख राई भन्छन्, ‘राखेपको स्विकृति नलिइ किन सुरु गरेको भन्ने प्रश्न एन्फालाई उठाउनु पर्छ ।’ एन्फा भने राखेपले स्विकृति नदिएका कारण महिला खेलाडीको श्रम स्विकृतिका लागि समस्या भएको बताउँछन् । संकटा क्लबको अध्यक्ष समेत रहेका तुलाधरले भने, ‘खेलाडीको श्रम स्विकृति लिन, राखेपले लिगलाई स्विकृति दिनु पर्छ । जुन उहाँहरुले दिनु भएको छैन ।’ भिसा र श्रम स्विकृतिको विषय उठेपछि एन्फा राष्ट्रिय लिग २०८२ को अब हुने खेलहरु स्थिगित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !