१० औं राष्ट्रिय खेलकुद आयोजना हुने कर्णाली रंगशाला अलपत्र
काठमाडौं : नेपाली खेलकुदको हरेक पक्ष अन्योल बनिरहँदा धेरै समयदेखि अन्योलमा रहेको विषय हो, दशौं राष्ट्रिय खेलकुद । कर्णालीमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद कहिले हुन्छ भन्ने अन्योलमै छ । संघीय सरकार परिवर्तन, राष्ट्रिय खेलकुद परिषदको नयाँ तदर्थ समितमा सदस्य सचिव र कर्णाली खेलकुद परिषदमा पनि गत १५ महिनायता पदाधिकारीविहीन रहेको परिषद, यिनै कारणहरु अल्झियो १० औं राष्ट्रिय खेलकुद ।

सुर्खेतको वीरेन्द्रनगरमा ९ बिघा क्षेत्रफलमा फैलिएको कर्णाली रंगशाला १० औं राष्ट्रिय खेलकुद गर्न तयार बनाइँदै थियो । यसैबीचमा निवर्तमान सदस्य सचिव विश्वमित्र संज्यालको कार्यअवधि सकियो । परिषद पदाधिकारीविहीन बन्यो । यसैगरी संरक्षक नहुँदा रंगशाला पनि विवादमा तानियो र हाल रंगशाला अलपत्र अवस्थामा छ ।
चैतको १७ गते कर्णाली खेलकुद परिषदमा नयाँ सदस्य सचिवको रुपमा रविन्द्र चन्दले कार्यभार सम्हाले । उनलाई शपथ लिने बित्तिकै तेर्सिएको प्रश्न थियो, ‘१० औं राष्ट्रिय खेलकुद कहिले हुन्छ ?’ उनले उत्तरमा भनेका थिए, ‘अब तय भएको मितिमा नै १० औं राष्ट्रिय खेलकुद हुन्छ ।’ सरकार पक्षले रंगशाला निमार्णमा लागेको ९ करोड भुक्तानी गर्न बाँकी रहँदा ठेकदार पक्षले रंगशाला सरकारलाई हस्तान्तरण गरेको छैन । गत पुसमा निवर्तमान सदस्य सचिव संज्याल हुँदा नै उनले रंगशालाको काम ९९ प्रतिशत सकिएको दाबी गरेका थिए । संरचना लगभग तयार छ । केही अन्तिम ‘फिनिसिङ टच’ कामहरु बाँकी छन् ।
अहिले रंगशाला बाहिरको फाउन्टेनहरुमा लेउ लागेको छ । भित्रको मुख्य मैदानको दुबो सुकेको छ । प्याराफिट रंगरोगनसहित चिटिक्क देखिन्छ । कर्भड हलमा सिट जडान भएको छैन । यस्तो अवस्था छ १० औं राष्ट्रिय खेलकुद आयोजना गर्ने मैदानको । नव नियुक्त सदस्य सचिव चन्दले कार्यभार सम्हालेको पहिलो दिन २ निर्णय गरे ।
जसको पहिलो निर्णयमा रंगशालाको स्वामित्व आफ्नो मातहतमा ल्याउने निर्णय रहेको छ । ‘कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न गरी हस्तान्तरणका लागि निमार्ण व्यवसायीसँग आवश्यक समन्वय गरी रंगशाला सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गर्ने ।’ यो उनको पहिलो निर्णय थियो ।
नेपाली खेलकुदमा अनुत्तरित रहेको १० औं खेलकुद प्रतियोगिता आयोजनाका लागि संघीय सरकारसँग समन्वय गरी नयाँ मिति तय गर्ने र अब तोकिएको मितिमा नै १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने सदस्य सचिव रविन्द्र चन्दले पत्रकारसँग बताए । ‘संघीय सरकारले पनि पूर्णता पाइसकेको छ । प्रदेश खेलकुद परिषद पनि पूर्णता पाइसकेको छ । अब हामीबीच समन्वय हुनेछ ।’
के भएर रोकियो रंगशालाको काम ?
वि सं २०७८ मंसिर २० गते शिलन्यास गरिएको कर्णालीको प्रादेशिक रंगशाला एक नमुना रंगशालाको रुपमा डिजाइन गरिएको थियो । १० हजार दर्शक क्षमता रहेको यस रंगशालाको काम तत्कालीन सदस्य सचिव विश्वमित्र संज्याल राखेपका इन्जिनियर भएकाले उनकै रेखदेखमा भयो । उनले रंगशालामा आधुनिक प्रविधिको जडान, रंगशालाभित्र ठूलो पार्किङ, विभिन्न रुख बिरुवा, मुगल शैलीको झल्को दिने गेटहरुको संरचना, रंगशालाको पर्खाल माथि बनेको चाइनाको ग्रेटवालको डिजाइन निकै आकर्षक छन् ।
कर्णालीलाई विकट प्रदेश भन्नेले यो रंगशालालाई हेर्दा अन्यभन्दा निकै आकर्षक र समृद्ध पाउने छन् । भौगोलिक कठिनाइका बीच बनेको यो रंगशाला रोकिनुको मुख्य कारण ठेकेदार र सरकार पक्षको असमक्षदारी हो । एमएसी एण्ड जीएसएल जेभी कम्पनीले सरकारबाट ९ करोड रुपैंया लिन बाँकी रहेकाले अन्य काम रोकिएको बताउँदै आएको छ ।
त्यस्तै, खेलकुद विकास परिषदका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सदस्य सचिव नभएको खण्डमा रंगशालाको सम्पूर्ण हेरचाह र जिम्मेवारी पाएका थिए । उनी पनि ठेकेदार पक्षले काम नगरेको बताउँथे । यही विवादमा रंगशाला ओझेल परेको थियो । नव नियुक्त सदस्य सचिव चन्दलाई अब विवाद सल्टाएर रंगशालालाई आफ्नो मातहतमा ल्याउने जिम्मा छ । रंगशाला राखेपको मातहतमा ल्याउँदा रंगशालाको पर्खालमा बनेका सटरहरुबाट पनि राखेपले कमाइ गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस !