काठमाडौं : राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छलीमा अर्थमन्त्री डा. वाग्लेको नाम जोडिएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग गरिन्।
उनले भनिन्,‘बीवाइडीको कर छली प्रकरणबारे दलहरुले विषय उठाउनु भएको छ। आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भइसकेको छ। छानबिन सम्पन्न नहुँदा आफ्नै विवेक प्रयोग गरेर नैतिकताको दृष्टिकोणले जिम्मेवारीबाट पर रहनुपर्ने हुन्छ।’

अघिल्लो सरकार हुँदा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि भन्दै प्रश्न गरेको स्मरण गराइन्। तत्कालीन गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिकाबारे जानकारी गराएपछि रास्वपा सांसदहरुले असहमति जनाउँदै संसद बैठक बहिष्कार गरेका थिए। बैठकमा रास्वपा सांसद डा. वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन सरकारले आफ्नै मान्छे राखेर छानबिन समिति बनाएको आरोप लगाएका थिए।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको अवस्थामा गृहमन्त्रीको प्रस्तावमा नै छानबिन समिति बनाउने कुरा उचित नभएको बताए । सोही विषयलाई उल्लेख गर्दै ओलीले अर्थमन्त्रीले बनाउने समितिले सुनपानी छर्कने मात्र काम हुने भन्दै मान्य नहुने बताएकी हुन्।
प्रतिक्रिया दिनुहोस !