क्यामरा विस्थापित गर्दै स्मार्टफोन

 क्यामरा विस्थापित गर्दै स्मार्टफोन

काठमाडौं: फोटो खिच्न सौखिनले क्यामराको सट्टा महँगो फोन र सेल्फी स्टिक बोक्न थालेपछि क्यामराको बजार ओरालो लाग्दै गएको छ। साना डिजिटल क्यामराको उत्पादनै धमाधम बन्द हु“दैछ भने व्यावसायिक फोटोग्राफरले प्रयोग गर्ने डीएसएलआरको उत्पादन पनि घट्दो क्रममा छ।

सन् २००९ पछि डिजिटल क्यामराको अन्तर्राष्ट्रिय बजार ८० प्रतिशतले घटेको छ। स्थानीय बजारमा पनि पाँच वर्षअघिको तुलनामा डिजिटल क्यामराको व्यापार ६० देखि ७० प्रतिशतले घटेको क्यामरा व्यवसायी बताउँछन्। फोटोका लागि क्यामरा नभई महँगो मोबाइल बोक्ने चलन बढ्दो छ। अझ सौखिनले त सेल्फी स्टिक बोक्न थालेका छन्।

कुनै समय कोडाकको फिल्ममा सीमित फोटो खिचेर धुलाउने झन्झटिलो प्रक्रिया थियो। कोडाक आफैंले चार दशकपहिले डिजिटल क्यामरा विकास गरी फोटोग्राफीमा क्रान्ति ल्यायो। कोडाकको उत्पादनपछि सोनी, क्यानन, निकोन, सामसङलगायतका डिजिटल क्यामरा बजारमा आए।

कोडाक अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकी हरायो। र, बजारमा कोडाकका क्यामरा सोपिस हुन पुगे। 'कोडाकलाई सोपिस बन्न बाध्य पार्ने ब्रान्डका क्यामरा पनि अब सोपिस बन्ने अवस्थामा पुगेका छन्,' न्यु स्न्यापर फोटो गुड्स न्युरोडका सेल्स म्यानेजर कृष्णबहादुर पहारी भन्छन्।

उनका अनुसार स्थानीय बजारमा साना डिजिटल क्यामराको माग त शून्य अवस्थामा पुगेको छ। 'डिजिटल क्यामरामा हुने गुणस्तर र प्रविधि स्मार्टफोनमै पाइने भएपछि यस्ता क्यामरा किन्ने आवश्यकता पनि भएन,' उनी थप्छन्।

अन्तर्राष्ट्रिय बजारमा सन २००९ मा ३६ लाख डिजिटल क्यामरा बिक्री भएको थियो। २०१६ मा आइपुग्दा यसको व्यापार ६ लाखमा झरेको छ। क्यामरा एन्ड इमेजिङ प्रोडक्ट्स एसोसिएसन (कीपा­­) ले जारी गरेको २०१६ को रिपोर्टअनुसार सन् २०१४÷१५ को तुलनामा सन् २०१६ को सुरुवातमै क्यामराको व्यापारमा २० प्रतिशतले कमी आएको छ।

स्मार्टफोनको असर 'डीएसएलआर' जस्ता ठूला र प्रोफेसनल क्यामराभन्दा साना डिजिटल क्यामरामा चर्को छ। कीपा­­ले २०१६ जनवरीमा जारी गरेको रिर्पार्टअनुसार सन २०१४÷१५ को तुलनामा सन् २०१६ मा साना डिजिटल क्यामराको व्यापार २६ प्रतिशतले घटेको छ भने डीएसएलआर क्यामराको १८ प्रतिशतले।

स्थानीय बजारमा भने डीएसएलआरजस्ता ठूला र प्रोफेसनल क्यामराको बजारमा कुनै असर नपरेको व्यवसायी बताउँछन्। बरु डीएसएलआर क्यामराको बजार पछिल्लो समय २० प्रतिशतले बढेको प्राइमेक्स इन्टरनेसनल इङ्कका मार्केटिङ म्यानेजर सुनिल त्रिवेदीले बताए।

प्राइमेक्स इन्टरनेशनल इङ्क क्याननको नेपालका लागि आधिकारिक विक्रेता हो। स्मार्टफोनको असरले गर्दा सामसङ, सोनी, क्यानन, निकोनजस्ता कम्पनीले आफ्ना कतिपय मोडलका डिजिटल क्यामराको उत्पादन बन्द गरिसकेको बथवाल ट्रेडर्सका सेल्सम्यान राजेश अग्रवालले जनाए।

उनका अनुसार प्रोफेसनल फोटोग्राफरका साथै फोटोका सौखिनका लागि डीएसएलआर क्यामरा नकिनी सुक्खै छैन। तर, पछिल्लो समय स्मार्टफोनमा भएको विकास र त्यसमा प्रयोग गरिएको क्यामराले भने बजारमा डीएसएलआर क्यामरा खरिद गर्नेको संख्या घट्दो छ।

सन् २०१६ को अन्त्यसम्म बजारमा ल्याउने तयारीमा रहेको 'लाइट एल१६' स्मार्ट क्यामराले डिजिटिल तथा डीएसएलआर क्यामराको व्यापारमा अझ ठूलो असर गर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाले आकलन गरेका छन्।

 

१६ वटा क्यामरासहित आउने लाइट एल १६ स्मार्ट क्यामरामा प्रयोग गरिएको जुम सिस्टम, सेन्सर र एपेचर, मेगापिक्सेल डीएसएलआर क्यामराको जस्तै हुनेछ, जसमा १० वटा क्यामराले एकै पटकमा विभिन्न फोकल लेन्थमा फोटो लिन सक्ने कम्पनीले जनाएको छ। 


स्मार्टफोनमा ४२ मेगापिक्सलसम्मको क्यामरा क्षमता हुनु, बोकेर हिँड्न सहज हुनुका साथै फोटो खिचेर त्यसलाई स्मार्टफोनमार्फत इडिट गरी तुरन्तै प्रकाशन गर्न सकिनुका कारण पनि स्मार्टफोनले क्यामराको बजारमा असर पारेको हो। 

फोटो पत्रकार विकास रौनियारका अनुसार प्रयोगमा सहज र प्रविधियुक्त भएकाले स्मार्टफोनलाई क्यामराको रूपमा प्रयोग गर्ने चलन बढ्दो छ। अनलाइन पत्रकारिताको विकासले गर्दा मिडियामा कार्यरत फोटोपत्रकारले पनि पछिल्लो समय स्मार्टफोनमार्फत फोटो खिच्ने गरेको उनी बताउँछन्।

कतिपय मिडिया हाउसले आफ्ना रिपोर्टरलाई स्मार्टफोन प्रयोग गरी फोटोसमेत खिच्न प्रेरित गरी फोटोपत्रकार घटाउन थालेका छन्। यसले फोटो पत्रकारको रोजगारीमा समेत असर पर्ने देखिन्छ। तर नेपालको फोटो पत्रकारितामा भने यसले खासै असर नगर्ने अर्का फोटोपत्रकार दीपेन्द्र बज्राचार्य बताउँछन्।

स्मार्टफोनमार्फत फोटो लिएर तुरुन्त अनलाइनमा प्रकाशन गर्न सकिने, स्मार्टफोनलाई रेकर्डरको रूपमा प्रयोग गर्न सकिने, भिडियो खिच्न सकिने, इन्टरनेट तथा इमेलजस्ता सुविधा एकै ठाउँमा हुनु र यो प्रयोग गर्न र बोकेर हिँड्न पनि सहज भएकाले फोटोपत्रकारले पनि क्यामरासँगै स्मार्टफोन बोकेर हिँड्ने क्रम बढेको फोटो पत्रकार चन्द्रशेखर कार्की बताउँछन्।

उनका अनुसार स्मार्टफोनमा प्रयोग भएको क्यामराले डीएसएलआर क्यामराले जस्तो राम्रो फोटो खिच्न नसके पनि आकस्मिक आवश्यकता पूरा गर्नका लागि उपयोगी छ, जसले गर्दा डीएसएलआरको व्यापारमा पनि केही असर परेको हो।

स्मार्टफोनमा ४२ मेगापिक्सलसम्मको क्यामरा क्षमता हुनु, बोकेर हिँड्न सहज हुनुका साथै फोटो खिचेर त्यसलाई स्मार्टफोनमार्फत इडिट गरी तुरन्तै प्रकाशन गर्न सकिनुका कारण पनि स्मार्टफोनले क्यामराको बजारमा असर पारेको हो।

अहिले मानिसमा 'फोनमा क्यामरा छँदैछ, किन क्यामरा किन्नु' भन्ने भावना विकास भइसकेको क्यामरा व्यावसायी बताउँछन्। उनीहरूका अनुसार स्मार्टफोनको असरले डिजिटल तथा डीएसएलआर क्यामराको व्यापार पूरै बन्द भने हुनेछैन।

क्यामराको व्यवसायमा क्रमशः गिरावट आउने क्रम बढेसँगै क्यामराको मात्र व्यवसाय गर्ने कतिपय व्यापारीले अहिले मोबाइललाई मुख्य व्यवसायको रूपमा राखेर क्यामरालाई साइड व्यापारको रूपमा लिन थालिसकेका छन्।

अम्बर इम्पेक्सका सेल्सम्यान भैरव श्रेष्ठका अनुसार केही वर्षसम्म क्यामराको मात्र व्यवसाय गरेको अम्बर इम्पेक्समा अहिले एकै ठाउँमा मोबाइलका साथै क्यामराको पनि व्यापार हुने गरेको छ।.

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.