अमेरिकी निर्वाचनः रिपब्लिकन कि डेमोक्र्याट
सोमबहादुर थापा
अहिले संसार विभाजित, आन्दोलिन, अशान्त र आक्रान्त छ । शक्ति राष्ट्रबीच पनि सुसम्बन्ध छैन । उनीहरूबीच अविश्वास बढिरहेको छ । तालिवान र आईएस आक्रमणका घटना दिनदिनै भइरहेका छन् र निर्दोष मानिस दिनदिनै मरिरहेका छन् ।
साँच्चिकै रूपमा भन्ने हो भने विश्व स्थिति अहिले सन् १९८० भन्दा पूर्वको अवस्थामा पुगेको छ । नाटोले गत जुन ७ मा पोल्यान्डमा रूसविरुद्धको आक्रमणको अभ्यास गरेको थियो । दुई हप्तासम्म चलेको अभ्यासमा १४ हजार अमेरिकी, १२ हजार पोल्यान्ड र एक हजार ब्रिटिस सेनाले भाग लिएका थिए।
यसमा दर्जनौ युद्धपोत विमान तथा गाडी प्रयोग गरिएको थियो । जर्मन विदेश मन्त्री फांक वाल्टरले नोटोले पूर्वीयुरोपमा गरेको सैन्य अभ्यासलाई लिएर रसियालाई नचिढ्याउन अपिल गरेको टिप्पणी पनि यहो निकै महत्वपूर्ण छ भन्ने बुझनुपर्छ ।
त्यस्तै, रूसले केनेडी राष्ट्रपति हँदा उनले एकपटक क्युबामाथि सैन्य आक्रमण गर्ने योजना बनाई मन्त्री, सेना प्रमुख र सल्लाहकार तथा बुद्धिजीवीसित सल्लाह लिएका थिए । सबैले राष्ट्रपतिलाई आक्रमण गर्न सल्लाह पनि दिएका थिए र राष्ट्रपति केनेडी पनि सैन्य आक्रमण गर्ने निष्कर्ष र निर्णयमा पुगेका थिए ।
तर राति उनी एक्लैले अमेरिका क्युबासित लड्ने होइन, रूससित लड्ने हो र यो लडाइँ निकै महँगो पर्नेछ भन्ने निष्कर्ष उनले निकालेर चुप लागेर बसे । राष्ट्रपति केनेडीको यो कुरा थाहा पाएपछि सबै जिल्ल परे । यसले अमेरिकी राष्ट्रपतिले कति होस गर्नुपर्छ भन्ने देखाउँछ । विश्व कूटनीतिलाई पनि एउटा मार्गनिर्देशन दिएको छ ।
अहिले होसियारी र सावधानी अपनाइएन भने शीतयुद्ध नहोला भन्न सकिने अवस्था छैन । यस अवस्थामा संसारको शक्तिशाली देश अमेरिकामा नोभेम्बर, २०१६ मा सम्पन्न हुने राष्ट्रपति पदको निर्वाचन अहिले अमेरिकाभित्र मात्रै नभएर संसारभरै निकै चासो र चर्चाको विषय बनेको छ ।
रिपब्लिकन र डेमोक्र्याटिक पार्टी नै राजनीतिमा पहिल्यैदेखि हावी हुँदै आएका छन् । राष्ट्रपति भइसकेकाहरूको कामको मूल्यांकन गर्ने हो भने दुवै पार्टीका राष्ट्रपतिमध्ये सबै सफल पनि छैनन् र सबै असफल पनि छैनन् ।
अमेरिकी विदेश नीतिका आफ्नै सिद्धान्त, व्यवस्था, प्रक्रिया र आदर्श छन्, त्यसलाई सामान्य अवस्थामा कुनै पनि पार्टीको राष्ट्रपतिले क्रस गर्न सक्तैन र गर्दैन पनि । अमेरिकामा मात्रै नभएर हाम्रो छिमेकी राष्ट्र भारतमै पनि सत्तामा पार्टी वा व्यक्ति फेरिँदा विदेश नीतिमा खासै फरक आएको पाइँदैन । किनभने ती देशमा राजनीतिक स्थिरता छ र राष्ट्रले लिने आन्तरिक र बाह्य नीतिमा सबै दल र नेताको एउटै नीति र अडान हुन्छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिमा भिन्नता नहुनु विकसित देशको नीतिको विशेषता नै बनेको छ । नेपालमा जस्तो नेतैपिच्छे र समयपिच्छे नीति फेरिने देश सामान्यतः अरू पाइँदैन । यस अर्थमा अमेरिकामा राष्ट्रपति जुन पार्टीको उम्मेदवारले जिते पनि त्यसले बाह्य नीतिमा खासै फरक आउँदैन भन्ने कुरा जान्दाजान्दै पनि यो निर्वाचन सबै देशको लागि निकै चासोको विषय बनेको छ । यति भन्दाभन्दै पनि राष्ट्रपति निर्वाचन परिणामले विश्व रंगमन्चमा अवश्य पनि केही फेरबदल भने ल्याउने हामीले बुझनु जरुरी छ ।
अमेरिकामा डेमोक्रेटिक पार्टीलाई तल्लो वर्ग र अल्पसंख्यक समुदायप्रति संवेदनशील र सहानुभूति राख्ने तथा उदार पार्टीको रूपमा हेरिन्छ भने रिपब्लिकन पार्टीलाई धनीको पार्टी तथा अनुदार पार्टीको रूपमा हेर्ने गरिन्छ । अमेरिकामा यी दुवै पार्टीभित्र उदार र अनुदार पंक्ति छ भन्ने कुरा पनि उत्तिकै सत्य छ । अब्राहम लिंकन, थियोडोर रुजबेल्ट, जोन एप । केनेडी, जर्ज वासिंटन जस्ता राष्ट्रपतिले शासन गरेको अमेरिकामा सधैँ उनीहरूजत्तिकै गुणस्तरका राष्ट्रपति पाउन सकिँदैन ।
समग्रमा भन्ने हो भने त्यहाँ अति राम्रा र अति नराम्रा राष्ट्रपति पनि भएको देखिन्छ । जे भए पनि अमेरिकाका राष्ट्रपतिहरूको भूमिका र जिम्मेवारीबाट अमेरिका र विश्वको विकास, शान्ति, सुरक्षाका विषयमा निकै प्रभाव पर्छ भन्ने कुरा पनि बुझनुपर्ने हुन्छ ।
हाल रिपब्लिकन पार्टीका तर्फका उम्मेदवार डोनाल्ड जे ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी रोधम क्लिन्टन दुवैले पार्टीको प्राइमरी चुनावमा आआफ्ना प्रतिद्वन्द्वी पराजित गरी मनोनयनको लागि पर्खिबसेका छन् । यी दुई उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । डोनाल्ड व्यापारिक अनुभव हासिल गरेका व्यक्ति हुन् र उनलाई व्यापार–व्यवसायको राम्रो अनुभव छ ।
निजी क्षेत्रको विकास र प्रवद्र्धन उनको प्राथमिक विषय हो । निजी क्षेत्रबाट राष्ट्र निर्माणमा सरकारले कसरी राम्रो सहयोग लिन सक्छ भन्ने राम्रो जानकारी उनलाई छ । सार्वजनिक सेवाप्रवाह र सार्वजनिक नीति निर्माण तथा कानुन कार्यान्वयनको अनुभव भने उनलाई पटक्कै छैन । त्यसरी नै राष्ट्रपतिले कंग्रेसका नेताहरूसित मिलेर काम गर्नपर्ने बाध्यताका बारेमा पनि उनी अनभिज्ञ नै छन् ।
रिपब्लिक पाटीको निर्णायक तहमा रहेका कट्टरपन्थीहरूको समूहले नरुचाउँदा नरुचाउँदै पनि डोनाल्डलाई मतदाताले अत्यधिक मात्रामा रुचाए । यही कारणले बाध्य भएर पार्टीले डोनाल्डलाई टिकट दिनुपर्ने स्थिति आएको छ ।
कुलिन वर्गीय पार्टीको नेतृत्व डोनाल्डप्रति अहिले पनि सहानुभूतिशील देखिँदैन । उनले अहिलेसम्म चुनाव खर्च पनि आफैँले गरिरहेका छन् । कसैलाई दुःख दिएका छैनन् । ट्रम्पले पार्टीको नेतृत्वले रुचाएका व्यक्तिहरूलाई पराजित गरी टिकट दिनपर्ने यो अवस्था सिर्जना कसरी गरे भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
अत्यधिक मतदाताले उनलाई रुचाउनुको कारणमा मुख्यतः उनको नीति र कार्ययोजना नै हुन् । गरिब अमेरिकीहरूको आर्थिक वृद्धि, मुस्लिमहरूलाई अमेरिका प्रवेशमा रोक, आफ्ना सहयोगी मुलुकहरूको संरक्षणमा जोड, इजरायलप्रति दृढ समर्थन र ओबामा र हिलारी क्लिन्टनले इजरायलसित रहेको सुमधुर सम्बन्ध खल्बलाएकोमा गम्भीर आपत्ति, महिलाप्रति बढी सहानुभूति तथा मेक्सिकोको सीमामा पर्खाल लगाई त्यहाँबाट हुने हत्या, हिंसा, काटमार र चोरी जस्ता घटना अन्त्य गर्ने जस्ता विषयले उनलाई मतदाताको मन जित्न सहज भयो ।
उनी कडा रूपमा प्रस्तुत भएर मतदातासमक्ष आफ्ना नीति र प्राथमिकताका विषय राख्थे र दृढता र निर्भीकता उनको सबैभन्दा राम्रो पक्ष देखिन्थ्यो । हिलारीले नारीलाई उपेक्षा र अपमान गरेको तथा परराष्ट्रमन्त्री हुँदा राम्रो काम गर्न नसकेको भनी हिलारीको काम र नीतिको पनि उनले चर्को विरोध गर्दै आएका छन् । साथै राष्ट्रपति बाराक ओबामाको कार्य र नीतिको पनि उनले चर्को विरोध गर्दै आएका छन् ।
यसरी नै वर्तमान राष्ट्रपति बाराक ओबामाले ट्रम्पको मुस्लिमप्रति राखेको नीति र भावनाले अमेरिकालाई लाभ नहुने भन्दै उनको कडारूपमा आलोचना र विरोध गर्दै आएका छन् । यस अवस्थामा अब हुने निर्णायक ढंगको चुनावी दौडमा उनी हिलारी क्लिन्टनसँग कसरी प्र्रतिस्पर्धामा प्रस्तुत हुन्छन्, त्यो हेर्न बाँकी छ ।
उता डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी पूर्व राष्ट्रपति विल क्लिन्टनकी धर्मपत्नी हुन् र पेसाले वकिल पनि हुन् । धेरै आयोगमा बसेर काम गरेकी छन् । पूर्व सिनेटर र पूर्व विदेशमन्त्रीको राम्रो अनुभव छ । उनको आफ्नै व्यक्तित्व छ । नीति र आफ्नो निर्णयमा ट्रम्पजस्तै उनी दृढ र निर्भीक छन् । बिल क्लिन्टन आर्कान्सासको गभर्नर भएदेखि राष्ट्रपति हुँदासम्मको अवधिका घटनाक्रम र निर्णय प्रक्रियासित उनी राम्ररी परिचित छन् । यो उनको लागि निकै सकारात्मक र सहयोगी पक्ष हो ।
यी विविधि कारण र अनुभवले अमेरिका र विश्व स्थिति उनले राम्ररी जानेकी छन् । यसले उनलाई चुनाव जित्न पनि सहज भएको अनुमान गरिन्छ । उनी वर्तमान राष्ट्रपति बाराक ओबामाको समर्थन पनि पाउन सफल भइन् । उदारवादी र नेतृत्वसित नजिक रहेका प्रतिद्वन्द्वी स्यान्डर्सलाई हराइन् पनि । तर त्यत्तिकै भरमा उनले चुनाव जित्छिन् भन्न भने सकिन्न । उनीहरू दुवैप्रति पार्टी नेतृत्व सहानुभूतिशील नहुनु अचम्मको संयोग मिलेको छ ।
अमेरिकी चुनाव आफ्नै खालको छ । अमेरिकामा आफ्नै दलको उम्मेदवारलाई नै मत दिनुपर्छ भन्ने बाध्यता छैन र उम्मेदवारको नीतिको आधारमा मत दिने व्यवस्थाले पनि केही भोट यताउता हुन सक्छ र त्यही भोट निर्णयक बन्न सक्छ । हिलारीले जितेमा पहिलो महिला राष्ट्रपति बन्ने छिन् । एउटै पार्टीले दुईभन्दा बढी पटक चुनाव नजितेको अवस्थामा उनले अर्को रेकर्ड पनि तोड्ने छिन् ।
अहिले कस्तो संयोग परेको छ भने राष्ट्रपतिका यी दुवै उम्मेदवार आआफ्नो दलभित्रका अनुदारवादी उम्मेदवार मानिन्छन् । तर यी दुईका बीचमा आन्तरिक र बाह्य नीतिसम्बन्धी प्राथमिकता भने फरक देखिन्छन् । दुवैले प्राइमरी चुनावमा उदारवादी उम्मेदवारहरूलाई पराजित गरेका छन् । यस हिसाबले यी दुईबीच जसले जिते पनि अनुदारवादीकै हातमा अमेरिकालगायत विश्वको प्रशासन चल्नुपर्ने अवस्था छ । वास्तवमा भन्ने हो भने अहिले अमेरिकामा उदार, शान्त, सहनशील र विचारवान् राष्ट्रपतिको खाँचो छ । तर परिस्थिति अन्यत्रै गइसकेको छ ।
अमेरिकी राष्ट्रपति प्रमुख कार्यकारी प्रमुख हो । कानुनको पालना गराउने र शासन सञ्चालन गर्ने मुख्य दायित्व राष्ट्रपतिको हो । यसैले अमेरिकामा राष्ट्रपतिलाई निकै शक्तिशाली मानिन्छ । त्यसरी नै अमेरिकी राष्ट्रपतिलाई बाह्य जगत्ले पनि शक्तिशाली राष्ट्रपतिको रूपमा लिने गरेको छ । यथार्थ रूपमा हेर्दा अमेरिकी राष्ट्रपतिको स्थिति सोचेजस्तो शक्तिशाली छैन । किनभने अमेरिकी राष्ट्रपतिका पनि संवैधानिक र कानुनी सीमाहरू छन् । ती संवैधानिक र कानुनी सीमालाई नाघ्न सक्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई हुँदैन र छैन पनि ।
अमेरिकाको संविधानले अचम्मको व्यवस्था गरेको छ । राष्ट्रपति एउटा पार्टीको उम्मेदवारले जिते, संघीय संसद्,जसलाई कंग्रेस भनिन्छ, अर्को पार्टीको हुन्न सक्छ र त्यस अवस्थामा उसले वा तिनले विपक्ष नेतासित मिलेर काम गर्नुपर्ने बाध्यता हुन्छ ।
राष्ट्रपतिले पेस गर्ने विभिन्न, नीति, विधेयक, प्रस्ताव तथा कार्यक्रमलाई अर्को पार्टीको बहुमतवाला संसद्ले यथावत् रूपमा पारित नगरेका धेरै उदाहरण छन् । सन् १७८९ देखि नै यो समस्या देखिँदै आएको पाइन्छ । अझ अर्को अचम्मलाग्दो कुरा के छ भने राष्ट्रपति र कंग्रेस एउटै पार्टीको हुँदा पनि यी दुई अंगबीच बेलाबेलामा द्वन्द्व भएको पनि देखिन्छ ।
त्यसैले अमेरिकी सरकारलाई सीमित सरकारको रूपमा लिइन्छ । सरकारको रूपमा रहेका तीन निकायहरू ९कार्यकारिणी, कंग्रेस र न्यायपालिका कुनै पनि सर्वोच्च छैनन् र सबै निकाय संविधान र कानुनको सीमाभित्र रहेर आआफ्नो कार्यसम्पादन गर्छन् ।
मन्टेस्क्युको तीन अंगबीचको शक्ति र अधिकारको विभाजन तथा शक्ति सन्तुलनलाई अमेरिकामा सन् १७८९ देखि राम्ररी नै कार्यान्वयन हुँदै आएको छ । यसको अर्थ संयुक्त राज्य अमेरिकामा यी तीन अंगबीच द्वन्द्व र विवाद नभएको भन्ने होइन । यी अंगबीच विगतमा पनि धेरै विवाद र द्वन्द्व भएका छन्, तर उनीहरूले त्यस्ता विवाद र द्वन्द्वलाई बुद्धिमानी रूपले समाधान पनि गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति देशभित्र मात्रै सफल भएर पुग्दैन, विश्वमै सफल हुनु आवश्यक मानिन्छ । राष्ट्रपतिले लिने आन्तरिक र बाह्य नीति तथा कार्यक्रम सफल नहुँदा राष्ट्रपति पनि आन्तरिक र बाह्यरूपमै असफल भएको मानिन्छ । अमेरिकी राष्ट्रपति खासगरी आन्तरिकभन्दा बाह्य मामिलामा बढी व्यस्त हुने गरेको पाइन्छ ।
खासगरी दोस्रो विश्वयुद्धपछि यो नीति कार्यान्वयन हुँदै आएको पाइन्छ । सन् १९३० को ठूलो मन्दी र दोस्रो विश्वयुद्धपछि हरेक अमेरिकी राष्ट्रपतिको उम्मेदवारले आन्तरिक र बाह्य समस्या समाधानका नीति र कार्ययोजना चुनावी अभियानमा मतदाता र आम जनतासमक्ष प्रस्तुत गर्दै आएका छन् ।
अमेरिकी राजनीतिमा दुई दलीय पद्धति छ । रिपब्लिकन र डेमोक्र्याटिक पार्टी नै राजनीतिमा पहिल्यैदेखि हावी हुँदै आएका छन् । राष्ट्रपति भइसकेकाहरूको कामको मूल्यांकन गर्ने हो भने दुवै पार्टीका राष्ट्रपतिमध्ये सबै सफल पनि छैनन् र सबै असफल पनि छैनन् । रिपब्लिकनलाई अनुदारवादी मानिन्छ भने डेमोक्र्याटिकलाई उदारवादी पार्टी मानिन्छ । तर दुवै पार्टीभित्र उदारवादी र अनुदारवादी हुन्छन् भन्ने कुरा हामीले बिर्सन भने हुँदैन ।