सडकैसडक कर्णाली

सडकैसडक कर्णाली

नेपालगन्ज हुँदै सुर्खेत पुगेपछि कर्णाली अञ्चलका तीन जिल्ला कालीकोट, जुम्ला वा मुगु जान दुईमध्ये एउटा बाटो रोज्नुपर्छ। वीरेन्द्रनगरबाट दैलेखको गुराँसे हुँदै जाने वा वीरेन्द्रनगर बांगेसिमल, बडिचौर हुँदै। निजी सवारी तथा रिजर्भ भ्यान वा जिप चालकले गुराँसेको बाटो रोज्छन्।

सार्वजनिक बस या टाटा सुमो भने बडिचौर हुँदै दैलेख प्रवेश गर्छन्। वीरेन्द्रनगरबाट जुनै बाटो गए पनि कर्णाली जान दैलेखको तल्लो दैलेढुंगेश्वर पुग्नैपर्छ। त्यहाँबाट कर्णाली नदीलाई देब्रे पारेर सुरु हुन्छ कर्णाली राजमार्गको रोचक र अविस्मरणीय सडक यात्रा।

कर्णाली नदीलाई तलतलै छोडेर उकालो लागेपछि लाग्न थाल्छ, अब यस्तै पहाडको बाटो हुँदै कालीकोट पुगिने होला। पहिलोपटक कर्णाली जानेका लागि त्यस पहाडी बाटो डरलाग्दो लाग्नसक्छ। कर्णालीको बाटो अत्यन्तै खतरनाक छ भन्ने सुनेर त्यहाँ पुग्ने जोकोही पनि अक्करिलो भीरमा गुडिरहेको सवारीसाधनको झ्यालबाट तल बगिरहेको कर्णाली देख्नेबित्तिकै ढक्क मुटु फुलाउँछ।

डर वा रोमाञ्चक अनुभूति धेरै बेर मनमा टिक्न नपाउँदै दैलेखको पादुका पुगिन्छ। अनि त कर्णाली र सडकको दूरी मज्जाले छोटिन्छ। माथि भीरको सडक सोहोरिएर फेदीमै पुगेजस्तो लाग्न नपाउँदै गाडीको रफ्तार बढ्न थाल्छ।

एकछिन अगाडिसम्मको चिसो हावा क्षणमै बिलाउँछ। र, बेसीमा हुने हप्प गर्मीले उकुसमुकुस पार्न थाल्छ। पहिलोचटि कर्णाली जानेहरू त्यस्तो बेला मैलेजस्तै मनमनै गम्दा हुन्— यस्तो सजिलो बाटोलाई पनि किन अप्ठ्यारो र ज्यानमारा भनिएको होला ?
...
अप्रिल २०१६ को अन्तिम साता सडकमार्गबाट चालकसहित हामी (तीनजना) बिहान सातै बजे नेपालगन्जबाट मुगुका लागि हिँड्यौं। चालक र सहकर्मी जीवनजीका लागि कर्णाली बाटो नौलो थिएन। म भने पहिलोपटक सडकमार्गबाट कर्णाली अञ्चल पस्दै थिएँ।

कर्णालीको तीरैतीर तीव्र रफ्तारमा थियो हाम्रो जिप। चालक बेलाबेला भन्ने गर्थे, ‘जसरी पनि बास बस्न आज हामी जुम्लाको गोठीज्युला पुग्नुपर्छ।' दोस्रो दिनको बाटो छोटिन्थ्यो भनेर हामी हुन्छ भन्थ्यौं। कतैकतैमात्र टिप्ने मोबाइल संकेत र त्यही बेला आउने फोनको जवाफमा हाम्रो एकै उत्तर हुन्थ्यो, ‘नाइँनाइा हामी रारा हिँडेका हैनौं।' हाम्रो गन्तव्य मुगुको सदरमुकाम गमगढी थियो।

अप्रिल महिनाको कर्णाली साँच्चिकै हेरौहेरौ लाग्ने थियो। नीलो पानी, शान्त र सौम्य बगाइ। मधेसमा आएपछि किन यसले विनाश गर्छ होला ? पत्याउनै मन लाग्दैनथ्यो। तर, दोस्रोपटक जुनको पहिलो साता त्यही बाटो ओहोरदोहोर गर्दा भने कर्णाली नीलो बगेको थिएन। धमिलो पानीमा बगिरहेको कर्णाली शान्त पनि थिएन। सायद यस्तै बेला होला यसले विनाश गर्ने।
...
‘रामघाटमा माछा त खाने होला नि सरहरू ? ' चालक सुरज खानाको सोखिन थिए। ज्यान पनि खाइलाग्दो थियो। अप्रिल र जुन दुवै महिनाको यात्रामा हामीले रामघाटमा माछा खाएनौं। रामघाट खानाका लागि लोकप्रिय ठाउँ हो भन्छन् यो बाटो हिँडिरहने चालक। दुवैपटक हामीलाई हतारो थियो।

माछा खाने लोभ हुदाँहुँदै पनि गन्तव्य सम्झेर अघि बढ्दा नै जितिन्थ्यो। हामीले त्यसै गर्‍यौं। घमाइलो दिन, हपहपी गर्मी। कलकल बगिरहेको कर्णालीको पानीले लोभ्याउँथ्यो।

डुबुल्की मार्न मन नभएको होइन। तर, निश्चित उद्देश्य र दिन गन्ती गरेर बाटो लागेपछि बाटोमा अलमल गर्नु सम्भव थिएन। रामघाटमा सुस्ताएर कर्णालीमा पौडी खेल्ने र त्यहीँको माछासँग भात खाएर बाटो लाग्नेका लागि लोकप्रिय छ-रामघाट बजार।

अप्रिलमा दैलेखको टुनीबगर पुग्दा रारा जाने केही जिप लहरै रोकिएका थिए। बाटैमाथिका छाप्रे होटलमा सहरिया युवकयुवतीको जमात माछा-भात खान व्यस्त थिए। हामीले उनीहरूलाई हेरेर थुक निल्यौं। माछा खान मन थियो तर रोकिएनौं।

तर, दोस्रो यात्रामा भने सुर्खेतबाट हिँडेका हामी टुनीबगरमा खाना खान रोकियौं। कर्णालीको असला माछाका चार सिल सिध्यायौं। खाना पाकुन्जेल कर्णालीको पुल तरेर हामी पारिपट्टि अछामको भूमि टेक्न पुगेका थियौं। टुनीबगर दैलेख र अछामको संगमस्थल बनेको छ। स्थानीय भन्छन्, ‘टुनीबगर फैलँदैछ।'

असारको पहिलो सातादेखि कर्णाली राजमार्गमै पर्ने दैलेख अछाम जोड्ने पक्की पुल चल्न थालेपछि भने टुनीबगर र आसपासका ठाउँको मुहार फेरिनेछ। नेपालगन्ज र मंगलसेन अछामको दूरी छोटिएको छ। यसको प्रत्यक्ष फाइदा टुनीबगरजस्ता राजमार्गका यस्तै सानाठूला बजारले असुल्ने पक्का छ।

दैलेख र कालीकोट सिमाना नपुग्दै आउने किटु, खिड्कीज्युलाजस्ता ठाउँहरूका आफ्नै विशेषता छन्। खिड्कीज्युला ठूलै बजार छ। किटुको खास आकर्षण भने विगत ६ वर्षदेखि त्यहाँ एउटा अजंगको ढुंगाको ओढारमा बस्ने बूढाबूढी हुन्। पानीघट्ट चलाएर र चिया, चुरोट, रक्सी बेचेर उनीहरू गुजारा चलाउँछन्।

नजिकै घर भएका उनीहरू घरमा छोराबुहारीको शासन चल्न थालेपछि ओढारमा सरेका हुन्। वर्षा लागेपछि किटुको त्यो ओढार छेउमा मानिसहरूको चहलपहल बाक्लिन्छ। बाटो बिग्रन्छ।

अप्ठेरो बाटोमा गाडी पार गराउन समय लाग्ने भएकाले मानिसहरू त्यहाँ एकछिन बस्छन्, चिया खान्छन्, ओढारको अनौठो जीवनशैलीका बारेमा ओढारमा बस्नेसँग कुरा गर्छन्। अरू बेला एक्लै हुने बूढाबूढीहरू धेरै मानिसको चहलपहल बढ्दा खुसी देखिन्छन्।

कालीकोटको सिमाना पुगुन्जेल ठूला र फराकिला अनगिन्ती फाँटले कर्णालीको व्यापकता प्रस्ट्याउँछन्। कालीकोट र हुम्लामा भीरको चेपमा साँघुरिएर बग्ने कर्णाली दैलेखमा मनग्गे फिँजारिएको छ।

दुवै किनारका फाँटहरू लोभलाग्दा देखिन्छन्। तर, जब कालीकोट सुरु हुन थाल्छ कर्णाली गहिरिन थाल्छ, भीर भने उकासिन। अक्करिलो पहाड, जबर्जस्त चट्टान, साँघुरो बाटो र डरलाग्दा घुम्ती। चालकको सानो गल्तीले पनि ठूलै दुर्घटना निम्त्याउन सक्छ।

तल बगेको कर्णाली माथिबाट केही झर्ला र खाऊँला भनेझैं गरी एकतमासले दौडिरहेको छ। बाटो अत्यन्तै अप्ठ्यारो र घुमाउरो पनि। तर, अझ डरलाग्दा त त्यस्तो बाटोमा पनि हर्न नबजाई मस्तीले ठूला बस र ट्रक चलाउने चालकहरू हुन्। सवारी ज्ञानको अलिकति पनि जानकारी नभएजस्ता। अथवा मृत्युसँग उनीहरूलाई कुनै डर नै छैन।

बालीघाट कटेर कालीकोटको सदरमुकाम पुग्नपुग्न लागेपछि र त्यहाँबाट अघि बढ्दा बाटामा देखिने नामहरू साँच्चिकै अनौठा लाग्छन्। हुल्म, मान्म, भिग्म, नाग्म आदि। हुल्मपछि सरीघाट अनि मान्मको उकालो। जुम्ला जाने सडक किन मान्म लगियो ?

कर्णाली छोडेर तिला नदीको किनारैकिनार बाटो गएको भए जुम्ला अहिलेभन्दा धेरै सहज हुन्थ्यो। तर मान्म जसरी पनि लानैपर्ने। त्यो पनि अनगिन्ती घुम्ती पार गर्दै।

 

मान्ममा भेटिएका पूर्वपरिचितहरू भन्थे-बाटोले जसरी नि इन्जिनियरको जग्गा छुनैपर्थ्यो। मान्म पुग्नै गाह्रो। मान्म कटेर अगाडि बढ्न झनै साह्रो। अक्करिलो भीरमा खोपिएको सानो सडक। चारपटकको ओहोरदोहोरपछि पनि त्यो सडक सम्झ्यो कि मन अत्तालिन्छ। 

किटुको खास आकर्षण विगत ६ वर्षदेखि त्यहाँ एउटा अजंगको ढुंगाको ओढारमा बस्ने बूढाबूढी हुन्। पानीघट्ट चलाएर र चिया, चुरोट, रक्सी बेचेर उनीहरू गुजारा चलाउँछन्।

 २०६२ सालमा कालीकोटको पिलीमा तत्कालीन माओवादीको हमलाबाट ५५ जना सिपाहीको मृत्यु भयो। २६ जना माओवादी हताहत भए। कर्णाली राजमार्ग खन्ने काममा संलग्न सेनाको टुकडीमा माओवादीले हमला गरेका थिए।

पिली त्यति ठूलो बजार भने हैन रहेछ। तर, नाम सुन्नेबित्तिकै १० वर्षे सशस्त्र हिंसाका कहालीलाग्दा क्षण सम्झेर मन भारी हुने। मान्मको पारिपट्टि पर्ने कोटवाडा अर्को ठाउँ हो जहाँको माटो निर्दोष मजदुरहरूको रगतका टाटाले रंगिएको थियो। त्यो बेला कालीकोट द्वन्द्वप्रभावित जिल्ला थियो।

अहिले पनि विप्लव माओवादीको प्रभाव क्षेत्रमै पर्छ कालीकोट। पिलीमा एकछिन समय बिताउने हो भने त्यो बेला मारिएका सुरक्षाकर्मीको नामसहितको स्मारक हेर्न सकिन्छ। पिलीको घटनामा सेनाले बेहोरेको क्षतिलाई एकछिन बिर्सने हो भने अन्त्यन्तै कठिन अवधिमा साहसका साथ कर्णाली राजमार्ग बनाउने सेनालाई भ्रष्टाचारको आरोप पनि लाग्ने गरको छ। कारण कमजोर सडक।

नाग्म कालीकोट र जुम्लाको सीमा बजार हो। नाग्ममा सुविधाजनक होटल वा लज छैनन्। झपक्क साँझ परेको छैन भने बास बस्नका लागि नाग्मबाट ३४ किलोमिटर दूरीमा रहेको जुम्लाको खलंगा बजार रोज्नु नै उपयुक्त हुन्छ।

मुगुतिर जाने हो र समय छ भने ४० किलोमिटर टाढा रहेको गोठीज्युलामा औसत होटल पाइन्छन्। तर, गोठीज्युला पुग्न कम्तीमा दुई घन्टा लाग्छ। खलंगा आधा घन्टामै पुगिन्छ।

झन्डै उति नै दूरी भए पनि खलंगाभन्दा गोठीज्युला पुग्न बढी लाग्ने कारण कच्ची बाटो हो। साँझको ७ बजेपछि सुरक्षाकर्मीको अनुमति पाइन्न। अनुमति नै पाइहाले पनि नाग्मबाट साँझतिर वा झिसमिसे बिहानीको यात्रा नगर्नु नै राम्रो हुन्छ।

कलकल बग्ने हिमा नदी, किनारका फराकिला फाँट, मौसमअनुसारका बाली र ठाउँठाउँमा झुरुप्प बस्ती। नाग्मबाट उँभो लागेपछिको मनमोहक भूबनोटले प्रकृतिप्रेमीलाई मनग्गे लोभ्याउँछ। यो ठाउँ जुम्लाको प्रसिद्ध सिँजा उपत्यका हो।

उचाइमा मात्र फल्ने मार्सी धान सिँजा उपत्यकाको चिनारी हो। मार्सी धानको रातो चामल खीरप्रेमीका बीच लोकप्रिय छ। सिंजा उपत्यका, सुरिला डाँडा, फराकिलो फाँट अनि लोभलाग्दो हरियाली नछुटाउने हो भने नाग्मदेखि गोठीज्युलाको बाटो उज्यालोमै यात्रा गर्नु राम्रो हुन्छ। गोठीज्युला खाना र बास दुवैका लागि यात्रुको रोजाइमा पर्छ। हिँडेर रारा पुग्नेहरू यहीँबाट यात्रा सुरु गर्छन्।

भुलभुले रारा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो। जुम्ला र मुगुको सिमाना यहीँबाट छुट्टिन्छ। नेपालगन्जबाट हिँडेको भोलिपल्ट राराको प्रवेशद्वार पुग्दा एउटा रोमाञ्चक अनुभूतिले जीउ गमक्क फुल्छ। पारिलो फाँट (नाँगी), भेडाच्यांग्रा, घोडा खच्चर चराइरहेका गोठाला र चिसो हावा।

गोठीज्युलाबाट अगाडि लागेपछि छिचोल्नैपर्ने सबैभन्दा अक्करिलो र डरलाग्दो भीरको बाटो, जिप वा बसलाई कम्तीमा पाँच मिनेट लाग्छ। त्यो कहालीलाग्दो पाँच मिनेटमा पटकपटक यस्तो लाग्छ-अब अगाडि नबढौं, यात्रालाई यहीँ हापौं। तर, भुलभुले पुगेर एक्कैछिन सुस्ताउँदा एकछिन अगाडिको डर कता गायब भइसक्छ पत्तै हुन्न। अझ मुगुको ताल्चा, रारा र गमगढी अब धेरै टाढा छैन भन्ने अनुभूतिले यात्राका सबै डर र थकान मेटिन्छ।

ताल्चाबाट अगाडि बढेपछि सडकबाट अलि पर र तल देखिन्छ गमगढी। फेदीमा मुगु कर्णाली निरन्तर बगिरहन्छ। गमगढीकै आकाशबाट दैनिक दुईतीनवटा जहाज ११ किलोमिटर दूरीमा रहेको ताल्चा आउँछन् र नेपालगन्ज जान्छन्। मुगुको चिनारी नै रारा भएको छ। तर, ताल्चा र राराको लोकप्रियताले ओझेलमा परे पनि गमगढी सधैं गमक्क परेर बसेको छ।

धुलो, फोहोर र खानेपानीको अभावले गमगढीलाई पिरोलेको छ। ट्रक र ट्र्याक्टरले धुलाम्मे सडकभरि गहिरा खाल्डा बनाएका छन्। गमगढीवासीलाई ताल्चा पुग्नसमेत सहज छैन सडक यात्रा। गमगढी मुगुको सदरमुकाम हो। उसलाई खोज्दै मानिसहरू त्यहीँ आउनुपर्छ। राराको कारणले ताल्चा लोकप्रिय र सुगम हुँदासमेत गमगढी भने सदरमुकाम हुनुको ब्याज खाएरै आनन्द लिइरहेको छ।

ताल्चाबाट रारा पुग्न दुइटा वैकल्पिक मार्ग हिजोआज लोकप्रिय छन्। एउटा ताल्चादेखि नै हिँड्ने। आफ्नो सवारीसाधन छ भने विमानस्थलको एक कुनामा थन्क्याउने। अनि कम्तीमा पनि तीन घन्टा मज्जाले हिँडेर अलौकिक रारा ताल पुग्ने। अथवा दोस्रो विकल्प अर्थात् ताल्चालाई देब्रे कोल्टे पारेर चार किलोमिटर कच्ची बाटोमा आफ्नै जिप गुडाउने।

सेनाको चेकपोस्ट छेउ जिप रोक्ने र हिँड्ने। यो बाटो रोज्दा जिपलाई २० मिनेट र हिँडाइलाई ४० मिनेट छुट्याउनुपर्छ। छोटो बाटोमा प्रशस्तै फाँट छन्। ती फराकिला पनि छन्। सल्लीपीरमा चिप्लेटी खेल्न मन हुनेलाई त्यो अवसर पनि छ।

बाटामा भेटिने गोठाला वा घाँस काट्नेहरूले स्थानीय लवजमा जिस्क्याउँछन् पनि। उनीहरूले बिस्कुट र पानी माग्छन्। फोटो खिच्न झुम्मिन्छन्। थकान मेट्न र यात्रालाई थप सुन्दर बनाउन उनीहरूसँगको संवाद झनै प्रिय लाग्छ।
...
कर्णालीका तीन जिल्ला— कालीकोट, जुम्ला र मुगु अब टाढा रहेनन्। सडकले नजिक ल्याएका यी जिल्ला जानु छ भने सडक यात्राका कैयौं फाइदा छन्। कर्णालीको भूबनोट, स्थानीय भाषाशैली, रहनसहनलाई नजिकबाट नियाल्नका लागि सडकयात्रा उत्तम विकल्प हो।

हवाई यातायातले त पाँचै जिल्लालाई नेपालगन्जसँग जोडेको छ। सडकबाट सजिलैसँग मुगु पुग्नलाई नेपालगन्ज वा सुर्खेतबाट दुई दिन लाग्छ। जुम्ला भने एकै दिनमा पुग्न सकिन्छ। जान र आउन चार दिन अनि एक दिन राराका लागि छुट्याउने हो भने एउटा रोमाञ्चक र अविस्मरणीय यात्रा पाँच दिनमा मज्जाले सकिन्छ।

आफ्नै सवारीसाधन हुँदा वा रिजर्भमा लिनुपर्दा जति खर्च हुन्छ, त्यो नै मुख्य खर्च हो कर्णाली यात्राको। खान र बस्नका लागि खासै खर्च हुन्न। गोठीज्युलादेखि दैलेखको तल्लो ढुंगेश्वर आइपुग्दासम्म स्थानीय हिमा, तिला र कर्णाली नदीका माछा प्रशस्तै खान पाइन्छ।

सस्तो र स्वादिलो पनि। अत्यन्तै कडा चट्टान खोपेर बनाइएको लमतन्न कर्णाली राजमार्ग आफैंमा हेर्नलायक बाटो हो। सडकले छोएपछिको कर्णाली विस्तारै भोकमरी र रोगव्याधिबाट मुक्त हुँदैछ जसलाई नजिकबाट नियाल्नका लागि सडक यात्राको विकल्प लामो पदयात्रामात्र हो जुन सजिलै सम्भव छैन र हुँदैन पनि।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.