नेपाल-भारत गृहसचिवस्तरीय बैठक भदौ तेस्रो साता

नेपाल-भारत गृहसचिवस्तरीय बैठक भदौ तेस्रो साता

काठमाडौं: नेपाल-भारत गृहसचिवस्तरीय बैठक भदौ तेस्रो साता नयाँदिल्लीमा हुने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठक भदौ २१ र २२ मा नयाँदिल्लीमा बस्ने निश्चित भएको छ। नेपालले बैठकका लागि प्रस्ताव गरेको मितिमा भारतले सहमति जनाएको हो।


गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले उक्त बैठकको यकिन मितिबारे परराष्ट्रबाट औपचारिक रूपमा जानकारी पाइनसकेको बताए।'२१ र २२ भदौमा गृहसचिव स्तरमा बैठक बस्नेबारे मौखिक जानकारी आएको छ', उनले भने। तीन वर्षपछि नेपाल—भारत गृहसचिवस्तरीय बैठक हुन लागेको हो। यसअघि नेपाल भारत गृहसचिवस्तरीय बैठक सन् २०१३ मा काठमाडौंमा आयोजना भएको थियो।

भारतीय सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुने भनिएको नेपाल प्रहरी प्रतिष्ठान भवन निर्माण तथा दुई देशबीचका विवादबारे बैठकमा छलफल हुने अधिकारीले बताए।बैठकमा खुला सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा सुरक्षा एजेन्सीबीचको समन्वय बढाउने, भारतीय जाली नोट कारोबार नियन्त्रण, भारतीय सुरक्षाकर्मीद्वारा नेपाल-भारत सीमामा नेपाली नागरिकमाथि हुँदै आएका ज्यादती, नेपालका सुरक्षा निकायलाई भारतद्वारा दिइने तालिम, भौतिक सहयोगलगायतका विषयमा छलफल हुनेछ।

गृह मन्त्रालयका अधिकारीका अनुसार बैठकमा अन्तरदेशीय सीमा अपराध नियन्त्रणमा सुरक्षा निकायबीचको समन्वय, भारतद्वारा लामो समयदेखि प्रस्तावित सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर हुन नसकिरहेको अवस्था, मानव बेचबिखन र तस्करी नियन्त्रण, सीमास्तम्भको मर्मतमा सुरक्षा निकायको समन्वयलगायतका विषयमा पनि छलफल हुने भएको छ।

बैठकमा तराईमा बढ्दो असुरक्षाका विषयमा समेत छलफल हुने भएको छ।बैठकमा नेपाली पक्षको नेतृत्व गृहसचिव नारायणगोपाल मलेगोले गर्नेछन् भने भारतीय गृहसचिव राजीव मेरिसीले भारतीय पक्षको नेतृत्व गर्ने भएका छन्। तीन साताअघि नेपाल र भारतबीच नयाँदिल्लीमा द्विपक्षीय सुरक्षा परामर्श संयन्त्रको बैठक सम्पन्न भएको थियो।

नेपाल र भारतबीच राजनीतिक नेतृत्व तहमा सम्बन्ध अझै सुधार आउन नसके पनि द्विपक्षीय सरकारी संयन्त्रका बैठक भने एक महिनायता नियमित भइरहेका छन्।राजनीतिक तहमा रहेको चिसोपना कम गर्दै द्विपक्षीय सम्बन्ध सहजतातर्फ उन्मुख रहेको सन्देश दिन सरकारी संयन्त्रका बैठक नियमति भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको हालै सम्पन्न भारत भ्रमणपछि द्विपक्षीय संयन्त्रका बैठक हप्तैपिच्छे बसिरहेका छन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराज र थापाबीचको भेटमा द्विपक्षीय संयन्त्रका हुन नसकेका बैठक सुचारु गर्ने सहमति भएको थियो।

००

सार्क गृहमन्त्रीस्तरीय बैठक पाकिस्तानमा
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्रीको बैठक साउन २० मा पाकिस्तानको इस्लामाबादमा हुने भएको छ। गृह मन्त्रालयका प्रवक्ता कोइरालाका अनुसार बैठकमा आतंकवाद, मानव तस्करी, लागूऔषध र साइबर अपराध नियन्त्रणजस्ता विषयमा छलफल हुनेछ।

सार्क अध्यागमनका उच्च अधिकारीको बैठक साउन १८ र १९ मा बस्ने भएको छ। अध्यागमनका उच्च अधिकारी र गृहसचिवको बैठकले अघि बढाएका मुद्दालाई सार्क गृहमन्त्रीको बैठकले अनुमोदन गर्नेछ।

सार्क देशका नागरिकलाई एक देशबाट अर्को देशमा जान सहज भिसा दिनेलगायतका विषयमा बैठकमा छलफल हुने भएको छ। सार्क देशभित्र यात्रा गर्दा नागरिकलाई ‘अन अराइभल' भिसा दिने भनिए पनि त्यसमा त्यति सहजता नदेखिएको गुनासो आउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.