अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाइट ह्याक
काठमाडौं: भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै वेब साइट ह्याक भएको छ।
ट्युनिसियन ह्याकर समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साइट ह्याक गरेको जनाएको छ। अख्तियारको वेबसाइट ह्याक हुनुमा उसको वेब सुरक्षामा गम्भीर लापरबाही रहेको देखिएको छ ।
यो समूहले साइटमा 'ह्याक्ड बाइ ल्याटिनो सबेर एण्ड वारियर्टन ट्यूनिसियन साइबर रेसिस्टेन्स अल फ्लागा टीम' लेखेको छ। साइटमा इस्लाम इ ज द वन्ली रिजिलन लेखिएको छ। त्यसैगरी बर्मामा भइरहेको मुस्लिमको हत्या पनि रोक्न भनिएको छ।
ह्याकरको समूहले साइटमा 'बुद्धिस्ट आतंक बन्द गर' भनेर अख्तियारको साइटमा लेखेको छ । ह्याक गरिएपछि अख्तियारको साइटको अग्रपृष्ठमा मारिएका, जलेका र काटिएका विभत्स शवहरुको तस्बिरहरु पनि वेबसाइटमा राखिएका छन्।
अख्तियारका प्रवक्ता कृष्णहरि पुुष्करले आफूहरुको वेबसाइट ह्याक भएको बारेमा अनुसन्धान भइरहेको जनाएका छन् । उनले आफूले पनि केहीबेरअघि मात्रै थाहा पाएकाले अध्ययन गरिरहेको बताए ।
यसअघि पटक पटक सरकारी निकायका वेबसाइट ह्याक हुने गरेका छन् । मन्त्रलायकै समेत वेबसाइट ह्याक हुँदा त्यहाँ रहेका सूचनाको गोपनीयतामा पनि प्रश्न उठेको छ ।