नेपाल–भारत प्रबुद्ध बैठक सुरु
काठमाडौं: नेपाल–भारत प्रबुद्ध समूह (इमिनेन्ट पर्सन्स ग्रुप)को पहिलो बैठक काठमाडौंमा सुरु भएको छ । दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रमका बीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले बैठकको उद्घाटन गरे ।
नेपाल–भारत प्रबुद्ध समूहको बैठक उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले बैठकबाट नेपाल–भारतबीचको दौत्य सम्बन्धलाई अझै बढी सुदृढ हुनुका साथै दुई देशबीचको सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरको रहेको भन्दै अब यसलाई अझै बढी सुमधुर बनाउन लागि पर्ने बताए ।
नेपाल–भारतबीचको सम्बन्धमा केही उत्तारचढाव आउने गरेको भएपनि दुई देशबीचको सम्बन्ध सँधै स्थिर र सुमधुर रहेको मन्त्री थापाको भनाई थियो ।
दुई देशबीच हुने यस्ता सामान्य समस्याका कारण जनताको दैनिक जीवनस्तर प्रभावित हुनुनहुने बताउँदै थापाले त्यसका लागि दुवै देश गम्भीर रहेर समस्या समाधान गर्न बैठकले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
बैठकको उदुघाटन सत्रमा बोल्दै नेपाल तर्फका प्रबुद्ध समूहका संयोजक डा. भेषबहादुर थापाले आगामी दुई वर्षभित्र नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ गरी नयाँ दिशा दिनका लागि काम गर्ने बताए ।
सो अवसरमा भारत तर्फका प्रबुद्ध समूहका संयोजक भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोरियारीले भारत र नेपालको सम्बन्धसँधै उस्तै रहने भन्दै भारतको शासनले नेपालमा कुनै प्रभाव नपार्ने बताए । कोसियारीले भारतमा कुनै पनि पार्टीको शासन आएपनि तथा जुनसुकै पार्टीको सरकार भएपनि नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे । भारतले नेपालसँग सँधै सुमधुर र सुदृढ सम्बन्ध राख्न चाहेको पनि कोसियारीले बताए ।
सोमबारदेखि जारी बैठक दुई दिनसम्म चल्नेछ ।
नेपाल र भातरबीचको राजनीतिक सम्बन्ध पूर्ण रुपमा सुधार हुन नसकिरहेका बेल दुई देशका प्रबुद्ध समूहबीचको बैठकले सम्बन्ध सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बैठकमा नेपाल तर्फबाट पूर्वराजदूत डा. भेषबहादुर थापा, सांसद डा. राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री नीलाम्बर आचार्य सदस्य छन् ।
त्यस्तै भारतका तर्फबाट भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय मेहन्द्र लामा र भुवन उप्रेती सदस्य छन् ।
यो बैठकमा नेपालका प्रतिनिधिले लामो समयदेखि विवादमा रहेको १९५० को सन्धि परिमार्जनका लागि जोड दिनुपर्ने माग आम जनताको छ । केही उच्च राजनीतिक नेतृत्वले समेत १९५० सँगै त्यसपछि भएका व्यापार सम्झौता, बिप्पा, कुटनीतिक सम्झौता र विकास सम्झौता गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
गत वर्षमात्र भारतले गरेको नाकाबन्दीपछि भारतसँगका व्यापार सम्झौतामाथि व्यापक संशोधन हुनुपर्ने समेत आवाज उठिरहेको छ । यो आवाजलाई कार्यान्वयन गर्ने मौकाको रुपमा नेपाली पक्ष प्रस्तुत हुनुपर्ने देखिन्छ । बैठकमा यस्ता सन्धि र सम्झौतामा नेपाली पक्षले मुख खोल्नुपर्ने आम जनताको आवाज छ ।