साउदीका तीन ठाउँमा बम आक्रमण, ३६ को मृत्यु
रियाद: साउदी अरबमा सोमवार तीनवटा शक्तिशाली विस्फोट भएका छन् । एउटा आक्रमण मदिना मस्जिद बाहिरए भएको छ ।
अन्य दुई हमला जेद्दामा अमेरिकी दूतावास र अल-कातिफमा शियामा भएको हो । यी तीन हमलामा कम्तिमा पनि ३६ जना मारिएका छन् भने १५० जना घाइते भएका छन् ।
साउदी सरकारको गृहमन्त्रालयका अनुसार एक आत्मघाती आक्रमणकारी पाकिस्तानी नागरिक भएको खुलेको छ।
सोमवार मध्यराति साउदी अरबको गृह मन्त्रालयले अमेरिकी राजदूतावासको बाहिर आफूलाई बमले उडाउने ब्यक्ति पाकिस्तानी नागरिक अबदुल्ला गुलजार खान भएको पुष्टि गरेका हुन् ।
गत शुक्रबार ढाकामा भएको हमलामा पनि पाकिस्तानी जासुस एजेन्सी आईएसआईको हात रहेको दाबी बंगलादेश सरकारले गरेको थियो ।
सीएनएनका अनुसार साउदीमा भएको हमलप्रति अमेरिकाले कडा प्रतिक्रिया जनाउँदै सशक्त कदम चाल्ने प्रतिक्रिया दिएको छ । आफ्नै दूतावास नजिकै केही दिनको बीचमा दुई पटक हमला भएपछि अमेरिकाले साउदी अरब सरकारसँग प्रतिवेदन माग गरेको छ ।
साउदी अरबका स्थानीय सञ्चारमाध्यमका अनुसार आतंकवादीहरुले अल कातिफ शहरको अल कदिह इमाम अली शिया मस्जिदमा एक आक्रमणकारीले आफूलाई बमले उडाएका थिए ।
यो आक्रमणमा कम्तिमा पनि ३० जना मानिस मारिएका छन् । यो स्थान सिया मुसलमानको गढका रुपमा परिचित छ ।
यसको केही मिनेटमै दोस्रो आत्मघाती आक्रमण मदिना शहरमा पैगम्बर मोहम्मदको मस्जिद बाहिर भएको थियो । यहाँ आत्मघाती आक्रमणकारीले आफूलाई बमले उडाएका थिए । हमलाको समयमा सुरक्षागार्डहरु प्राथनामा ब्यस्त थिए ।
तेस्रो आक्रमण जेद्दाहमा अमेरिकी दूतावास नजिकै सोमबार भएको थियो । जुन आक्रमणमा दुईजनाको ज्यान गएको थियो ।
आक्रमणकारी बिरामी बनेर दूतावास नजिकैको मस्जिद नजिकै गइरहेका थिए । मक्कापछि मदिना इस्लाम धर्ममा सबैभन्दा पवित्र मानिन्छ । यहाँ हरेक वर्ष करोडौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरु आउने गर्छन् ।
विस्फोटका बेला मदिना मस्जिद बाहिर रहेका एक प्रत्यक्षदर्शीले बताए अनुसार करिब १७ वर्षका एक किशोर सुरक्षागार्डसँग फलफूल मागेर आफ्नो शरीरमा रहेको बम सक्रिय बनाइ विस्फोट गराएका थिए ।
मदिना मस्जिदमा रहेका दक्षिण अफ्रिकाबाट आएका श्रद्धालु क्वारी पटेलले आक्रमण भएपछि त्यहाँ रहेका भक्तजनको ब्रत तोडाउन तोप चलाइएको बताए ।
अहिलेसम्म यो आक्रमणको कुनै पनि संगठनले जिम्मेवारी लिएका छैनन् । तर साउदी सरकाले भने यो आक्रमणपछाडि आईएसको हात रहेको आशंका गरेको छ।
केही सातायता विश्वभर आतंकवादी आक्रमण तीब्र भएको छ । ढाकामा गत शुक्रबार कुटनीतिक क्षेत्रमा भएको हमलामा २० जना मारिए ।
न्यूयोर्कको सेन्ट्रल पार्कमा धमाका हुँदा एकजना युवा घाइते भए । अर्कातिर इराकको राजधानी बगदादमा भएको हमलामा कम्तिमा २ सय जना मारिए ।