मानव तस्करको जालो पोर्चुगलसम्म
काठमाडौं: आकर्षक काम र तलबको प्रलोभनमा मानव तस्करहरुले पोर्चुगल पुर्याएका २३ जना नेपालीलाई त्यहाँको अध्यागमन विभागले उद्धार गर्न सफल भएको छ ।
पोर्चुगलको अध्यागम विभाग (सेफ) ले गरेको 'पोखरा' अपरेशनका क्रममा कष्टकर अवस्थामा जीवन बिताइरहेका २३ नेपालीसहितका आप्रवासीलाई उद्धार गरेको हो ।
सेफले 'पोखरा' अपरेशनका क्रममा पोर्चुगलको सन्तराई क्षेत्रबाट कृषि काममा लगाइएका २३ जना नेपालीलाई मंगलबार उद्धार गरेको पुष्टि गरेको छ । उद्धार गरिएका सबै नेपालीको नाम, ठेगाना र उनीहरुको विवरण भने सेफले गोप्य राखेको छ ।
सेफले उद्धारपछि जारी गरेको विज्ञप्तीमा २३ नेपालीसहित आप्रवासीहरु मानव तस्करको शिकार भएको जनाएको छ। नेपालीसहितका आप्रवासीका लागि गरिएको बासको व्यवस्था पनि न्यूनतम् सुविधायुक्त नभएको सेफले जनाएको छ ।
उद्धार गरिएका नेपालीसहितका आप्रवासीहरुलाई कसरी पोर्चुगल पुर्याइयो भन्ने खल्न सकेको छैन । तर सेफले गरेको अनुसन्धानका क्रममा नेपालीसहितका आप्रवासीसँग गरिएको कामको सम्झौतापत्र पनि त्यहाँको कानुनअनुसार अवैध भएको पाइएको छ ।
नेपाली आप्रवासीहरुलाई गाईबस्तु राखिने जस्तै झ्याल पनि नभएको घरको भुइँ कोठामा कोचाकोच अवस्थामा राखिएको पाइएपछि कारबाही प्रकिया अघि बढाइएको छ ।
पोर्चुगलमा काममा लगाउने एजेन्टले खानेकुरा दाल, चामल, प्याज र आलुसहित सहुलियतमा किनेर चर्को मूल्य असुलेको पाइएको छ।
सेफले छापामा मारेको स्थान फोहोर र जेलजस्तै झ्याल पनि नभएको भेटिएको थियो। नेपालीसहितका आप्रवासीलाई एउटै कोठामा सातजनासम्मलाई सुताइएको पाइएपछि सेफले कारबाही अघि बढाएको छ ।
'२३ जना नेपालीहरु बसेको घरको कोठामा न त पानीको सुविधा नै थियो न त बिजुलीको सुविधा नै', सेफले भनेको छ, 'त्यति धेरै आप्रवासीका लागि एउटा मात्रै भत्किसकेको शौचालय भएकाले उनीहरुको जीवन कष्टपूर्ण थियो ।'
सेफले गरेको अनुसन्धानका क्रममा कम्पनीका मालिकले आप्रवासीबाट खाना र बासको रकम चर्कोरुपमा असुल्ने गरेको पाइएको छ ।
'आप्रवासीहरुलाई तोकिएको भन्दा धेरै समय काम लगाउँदा पनि थोरै तलब दिइएको पाइयो', सेफले भनेको छ', 'उद्धार गरिएका कामदारहरुले आफूहरु चर्को श्रमशोषणमा परेको बयान दिएका छन् ।'
सेफले गरेको अनुसन्धानका क्रममा कम्पनीका मालिकले आफ्नो र कामदारहरुकबीचको सम्बन्ध सुमधुर रहेको बयान दिएपनि कामदारको अवस्था भने दयनीय भएको पाइएको छ । श्रमशोषण गरिएका कामदारहरुबाट पोर्चुगलको पीआर मिलाइदिने भन्दै लाखौं रुपैयाँ असुलेको बयान पनि नेपाली कामदारले दिएका छन् ।
मानव तस्करहरुको जालोमा परेर पोर्चगुल पुगेका नेपालीहरुलाई उद्धार गरेर सेफले उनीहरुको सुरक्षा र घटनाबारेमा थप अनुसन्धानका लागि विशेष आवास गृहमा सारिसकेको जनाएको छ ।
पोर्चुगलको अध्यागमन विभाग (सेफ) को कारबाही र अनुसन्धानबाट नेपालीहरु मानवतस्करको हातमा पर्दै युरोपसम्म पुगेको तथ्य पनि खुलेको छ ।
मानव तस्करहरुबाट पोर्चुगलसहितका युरोपेली देशमा पुर्याइएका नेपालीहरुलाई कृषि काममा लगाएर श्रम शोषण गरिएको तथ्य पनि बाहिर आएको छ। सेफले पोर्चुगलमा नेपालीसहितका आप्रवासीलाई शोषण गर्ने कम्पनी, त्यसका मालिक र त्यहाँसम्म पुर्याउने दलालबारे केही पनि बोलेको छैन ।