नेपाल बैंक र सेन्ट्रल बैंक अफ इन्डियाबीच सम्झौता
काठमाडौं: नेपाल बैंक लिमिटेड र भारतको सेन्ट्रल बैंक अफ इन्डियाबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
सम्झौतासँगै भारतमा रोजगारी तथा व्यवसाय गरी बसेका नेपालीले सेन्ट्रल बैंक अफ इन्डियाको कुनै पनि शाखाबाट पठाएको रकम नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट सजिलै भुक्तानी लिन सकिने भएको छ।
सेन्ट्रल बैंक अफ इन्डियाबाट पठाएको रकम नेपाल बैंकको एनबीएल रेमिटमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ । अहिले मुलुकभर नेपाल बैंकका एक सय २६ वटा शाखा सञ्चालनमा छन्।
बैंकले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीसँगको साझेदारीमा युरोप, खाडी मुलुक तथा अन्य राष्ट्रबाट एनबीएल रेमिट तथा अन्य माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।